१२ दिनमा गयो १७ जनाको ज्यान

२०७७ असार ११ बिहीबार ०९:३०:०० मा प्रकाशित

मुलुकभर बाढीपहिरोको जोखिम

काठमाडौं । मनसुन सक्रिय भएसँगै मुलुकभर बाढीपहिरोको जोखिम अत्यधिक बढ्दै गएको विज्ञहरूले औंल्याएका छन् । विगत १० वर्षयताकै राम्रो मनसुन सुरुवात भएकाले स्थानीय तहहरूले विनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडकले विपद् निम्त्याउने भूगर्भविद्हरू बताउँछन् ।

यस वर्षको मनसुन गत १२ जुनमा मुलुकमा भित्रिएपछि एक सातामै मलुकभर सक्रिय बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको मनसुन विगतको तुलनामा बढी सक्रिय भएकाले यो वर्षको मनसुनलाई राम्रो मनसुनका रूपमा लिन सकिने मौसमविद्ले बताएका छन् ।

यस वर्ष सातै प्रदेशमा मनसुनी वायु सक्रिय हुँदा केही बाढीपहिरोका घटना भएको पाइएको छ । भारी वर्षाको सम्भावना भएकाले पनि प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने महाशाखाले औंल्याएको छ । महाशाखाले जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन सबैमा आह्वानसमेत गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुको सुरुवातमा प्राकृतिकसँगै गैरप्राकृतिक विपद्का घटना बढेको जनाएको छ । मनसुन सुरु भएको १२ दिनमा १७ जनाले पहिरोका कारण ज्यान गुमाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार १२ दिनमा ४० स्थानमा पहिरो गएको छ । ४० पहिरोका कारण ४१ परिवार प्रभावित भएका छन् । गएका १२ दिनको अवधिमा १० पुरुष र ७ महिलाले पहिरोमा परी ज्यान गुमाउनुपरेको प्राधिकरणले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, नारायणी र यसका शाखा नदीमा पानीको बहाव तुलनात्मक रूपमा बढ्ने र कर्णाली, महाकालीमा सामान्य बढ्नेछ । यसैगरी, कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा पनि पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ । आगामी केही दिनसम्म प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो जानेसम्मको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

३१ जेठबाट सुरु भएको मनसुनसँगै विपद्का घटना हुन थालेका छन् । प्रदेश ४, गण्डकी प्रदेश र बाग्मती प्रदेशमा बाढीपहिरोका घटना भएको विपद् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाल्पामा ४ र लमजुङमा एक पहिरोको घटना भएका छन् भने चार जनाले ज्यान गुमाउनुपरेको छ । वर्षभरि पर्ने पानीमध्ये ७५ प्रतिशत पानी मनसुनको अवधिमा अर्थात् जुनदेखि सेप्टेम्बरमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही अवधिमा नेपालमा बाढी र पहिरोजस्ता प्राकृतिक विपद्का कारण बर्सेनि ठूलो जनधनको नोक्सानी हुने गरेको छ ।

विपद्को पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी हुन नसक्दा जनधनको ठूलो नोक्सानी हुने गरेको विपद् विज्ञहरू बताउँछन् । नेपालमा प्रतिवर्ष विभिन्न विपद्बाट सरदर औसतमा एक हजार जनाको ज्यान जाने गरेको छ । जसमध्ये वार्षिक तीन सय जनाको मृत्यु बाढीपहिरोका कारण मात्रै हुने गरेको छ । सबैखालका विपद् गरेर नेपालले हरेक वर्ष औसतमा १ अर्ब २१ करोड रुपैयाँबराबरको नोक्सानी बेहोर्नुपरेको छ । अनौठो लाग्दो कुरा के छ भने नेपालमा विकासको दर ३ देखि ४ प्रतिशत रहेको छ भने विभिन्न विपद्ले विनाश गर्ने दर ८ देखि २५ प्रतिशतसम्म हुने गरेको विभिन्न तथ्यांकमा उल्लेख छ । यो वर्ष कोरोना भाइरसको संक्रमण नियन्त्रणतर्फ पनि सरकारले बढी ध्यान दिनुपर्ने कारणले झनै चुनौती थपिएको छ ।

गएका वर्षमा केही हदसम्म पूर्वतयारी गर्न सजिलो थियो । पूर्वतयारी अपनाउँदा अपनाउँदै पनि जोखिममा परेको बेला तत्काल उद्धार गरेर राख्न खुला ठाउँ स्कुल तथा कलेज थियो । धेरै जनालाई सँगै राख्न सहज थियो । तर, यो वर्ष त्यति सहज छैन । सार्वजनिक ठाउँ तथा स्कुल कलेज अहिले क्वारेन्टिनमा परिणत भएका छन् । अब तत्काल सरकारले सुरक्षित ठाउँको खोजी र क्षति कम गर्ने अवस्था खोजी गर्न नसके अवस्था भयावह बन्न सक्छ । १ वैशाख २०७६ देखि चैत मसान्तसम्ममा नेपालमा बाढीपहिरोमा परेर एक सय ५६ जनाको ज्यान गएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले बताए ।

अहिलेको मनसुन बलियो भएर आएकाले जोखिम पनि बढी नै हुने भूगर्भविद् डा. सुबोध ढकाल बताउँछन् । ‘बलियो मनसुन भएमा एक सय ४० मिलिमिटर वर्षा हुँदा पहिरो जाने सम्भावना हुन्छ,’ उनले राजधानीसँग भने, ‘सक्रिय मनसुन भएमा पहिरोको जोखिम बढी हुने गरेको छ । भौगर्भिक बनोट पनि कमजोर हुनु र सडक निर्माण गर्दा जोखिम मापन नगरिनु नै समस्याका रूपमा रहेको छ । मनसुन बढेसँगै पहिरो बढ्नेछ ।’

उनले ग्रामीण सडक प्रदेश र स्थानीय सरकारले निर्माण गरेकाले त्यस्ता सडक नै बढी जोखिममा रहेको बताए । स्थानीय निकायका पदाधिकारीले नै डोजर सञ्चालन गर्दा भूक्षयको जोखिम पनि उत्तिकै रहेको र पहाडी जिल्लामा पहिरो तथा तराईका जिल्लामा बाढीको जोखिम हुने उनले बताए ।

यसैगरी, लामो समयदेखि भौगर्भिक अध्ययन गरिरहेका भूगर्भविद् डा. रञ्जनकुमार दाहाल पनि विगतको तुलनामा यस वर्ष बढी नै बाढी पहिरोको घटना हुने बताउँछन् ।

‘अहिले कोभिडका कारण ग्रामीण सडकमा नालाहरू सफा गर्न सकिएको छैन । यसले जोखिम बढ्न सक्छ,’ उनले राजधानीसँग भने, ‘सवारी अवरुद्ध हुँदा सडक जीर्ण बनेका छन् । अहिले पश्चिम नेपालका जिल्लामा सडक बिग्रँदै छ ।’ उनले सबैभन्दा बढी जोखिम ग्रामीण सडकले नै निम्त्याउने बताए । सरकारले प्राधिकरण बनाए पनि त्यसले पूर्ण रूपमा काम गर्न सकेको छैन ।

प्राकृतिक विपद्लाई न्यूनीकरण गर्न सरकारले पनि पर्याप्त कदम अपनाउन आवश्यक रहेको भूगर्भविद् तथा बाढीपहिरोको क्षेत्रमा लामो समय अनुसन्धान गरेका लीलानाथ रिमाल बताउँछन् ।

‘सरकारले बाढीपहिरो नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिलगायतका समिति गठन गरेको छ,’ उनले भने, ‘तर यसले पूर्वतयारीको विषयमा काम गर्न सकेको देखिँदैन ।’ बाढीपहिरो लगायतका प्राकृतिक विपद्बाट हुन सक्ने नोक्सानी कम गर्न स्थानीय तहले प्रभावकारी भूमिका खेल्नुपर्ने विज्ञहरूले सुझाएका छन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर