बार्सिलोना फेरि शीर्ष स्थानमा

२०७७ असार ११ बिहीबार ०८:५९:०० मा प्रकाशित

बार्सिलोना  साविक विजेता बार्सिलोना फेरि स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा एथलेटिक बिल्बाओलाई १-० गोलले हराउँदै बार्सिलोनाले शीर्ष स्थान कब्जा गरेको हो। प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाको जितमा अतिरिक्त खेलाडी इभान राकिटिच नायक बने।

राकिटिचले दोस्रो हाफमा गोल गर्दै घरेलु टोलीको उद्धार गरेका थिए। ७१औं मिनेटमा कप्तान लियोनल मेसीको प्रहार बिल्बाओका रक्षकलाई लागेर फर्किएको बललार्ई राकिटिचले सोझै जाली चुमाएका थिए। उनी ६४औं मिनेटमा सर्जियो बुसक्वेट्सको स्थानमा मैदान छिरेका थिए।

पाहुना टोलीलाई दबाबमा राखे पनि बार्सिलोनाको पटक पटकको प्रयास असफल बनेको थियो। पहिलो हाफमा पनि राम्रो अवसर बनाएको बार्सिलोनाको प्रयासमा बिल्बाओको रक्षापंक्ति बाधक बनेको थियो। बल नियन्त्रणमा अब्बल देखिएको बार्सिलोनालाई खेलभर थप गोल गर्न हम्मेहम्मे परेको थियो। जितसँगै बार्सिलोनाले ३१ खेलबाट ६८ अंक बनाएको छ। एक खेल कम खेलेको रियल म्याड्रिड ६५ अंकसहित दोस्रो स्थानमा छ। ४२ अंक बनाएको एथलेटिक बिल्बाओ १०औं स्थानमा छ।

यसैगरी बुधबार राति नै भएको अर्को खेलमा लेभान्तेलाई उसैको मैदानमा १-० गोलले हराउँदै एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा उक्लिएको छ। एट्लेटिकोको जितमा आत्मघाती गोल सहयोगी बन्यो। १५औं मिनेटमा बल बचाउने क्रममा लिभान्तेका ब्रुनो गोन्जालेडको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो।

जितसँगै एट्लेटिकोले ३१ खेलबाट ५५ अंक बनाएको छ। चौथो स्थानमा रहेको सेभिल्लाको ५३ अंक छ। ३८ अंक बनाएको लिभान्ते ११औं स्थानमा छ। अर्को खेलमा गेटाफे र रियल भालाडोलिडले १-१ गोलको बारबरी खेल्दै अंक बाँडेका छन्। बराबरीसँगै ४९ अंक बनाएको गेटाफे पाँचौं स्थानमा छ। ३४ अंक बटुलेको रियल भालाडोलिड १५औं स्थानमा छ।
(अन्नपूर्ण पोष्ट अनलाइनबाट)

ताजा खबर