अनुमति नलिई आरडीटी परीक्षण गर्ने मदिरा उद्योग सिल

२०७७ असार १० बुधबार ०९:२२:०० मा प्रकाशित

वीरगञ्ज । सम्बन्धित निकायसँग अनुमति नलिई आफ्ना कर्मचारीको उद्योग परिसरभित्रै आरडीटी परीक्षण गर्ने पर्सामा सञ्चालित एक मदिरा उद्योगलाई स्थानीय प्रशासनले सिल गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्तामा रहेको हिमालयन डिस्टिलरी प्रालिले सम्बन्धित निकायसँग अनुमति नलिई आफ्ना कर्मचारीको उद्योग परिसरभित्रै आरडीटी परीक्षण गरेको पाएपछि स्थानीय प्रशासनले उक्त मदिरा उद्योग नै सिल गरिएको हो ।

प्रदेशको स्वास्थ्य निर्देशानालयबाट अनुमति लिएर मात्र आरडीटी परीक्षण गर्न पाईने प्रावधानलाई बेवास्ता गर्दै अनुमति नै नलिई आफ्ना कर्मचारीको उद्योग परिसरभित्रै आरडीटी परीक्षण गरेको पाइएपछि स्थानीय प्रशासनले सोमबार दिउँसो हिमालयन डिस्टिलरी प्रालिलाई सिल गरिएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार अनुमित नलिई आरडीटी परीक्षण गरेको पाइएकाले उक्त मदिरा उद्योगलाई सिल गरी उद्योगले आरडीटी किट कहाँबाट ल्यायो भनी अनुसन्धान भइरहेको छ भने आरडीटी परीक्षणमा पोजिटिभ देखिएकालाई नारायणीको आइसोलेसनमा राखिएको छ ।

उद्योग परिसरमा नै एक स्वास्थ्यकर्मीले कर्मचारीहरूको रगत झिकेर आरडीटी किटमा परीक्षण गरी रहेको सूचना पाएर सोमबार दिउँसो उद्योगमा पुगेको स्वास्थ्य कार्यालय र सुरक्षाकर्मीको टोलीले एक अहेबले रगत झिकी आरडीटी किटमा परीक्षण गरिरहेको फेला पारिएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताउनुभयो । परीक्षणमा नेपाल सरकारले स्वीकृति प्रदान नगरेको आरडीटी किट प्रयोग भएको पाइएको र उद्योग आफैँले गरेको आरडीटी परीक्षणमा कुल १७० कर्मचारीमध्ये पाँच जनाको रिपाेर्ट पोजिटिभ आएको देखिएपछि उनीहरूलाई नारायणी अस्पतालमा ल्याएर पुनः आरडीटी परीक्षण गर्दा त्यसमध्येका चार जनामा रिपाेर्ट पोजिटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर