दाताले दिएको जग्गामा क्रिकेट मैदान निर्माण गरिदैँ

२०७७ असार १० बुधबार ०७:२६:०० मा प्रकाशित

स्याङजाको गल्याङ नगरपालिका–९ बेलचौरमा क्रिकेट मैदान निर्माण सुरु गरिएको छ । भूमी सुधार मन्त्री पद्मा अर्यालले उपलब्ध गराएको संसद क्षेत्र विकास कोषको १० लाख रुपैयाँबाट क्रिकेट मैदानको लागि जमिन सम्याउने काम सुरु गरिएको छ । खेल मैदान स्थानीय बेलचौर खेलमैदान निर्माण समितिले काम गरिरहेको छ । जग्गामा क्रिकेट मैदानसहित फुटबल मैदान समेत निर्माण गर्ने लक्ष्य समितिले लिएको छ ।  

समितिका अध्यक्ष टंक खनालका अनुसार मन्त्रीको क्षेत्र विकास कोष अन्तर्गत प्राप्त रकमबाट जग्गा सम्याउने काम गरिएको छ । ‘जमिन सम्याईसकेपछि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गर्ने छौं’ उनले भने–‘त्यसपछि मात्रै बजेटको अनुमान लगाउन सकिन्छ ।’ डिपिआर बनेपछि प्रदेश, संघीय तथा स्थानीय तहसँग समेत बजेटको लागि आग्रह गर्ने उनको योजना छ । १ सय रोपनी क्षेत्रफलको जमिन छ । तर जमिन भने आधा भन्दा बढी व्यक्तिगत छ । व्यक्तिगत लालपुर्जा भएको जग्गा क्रिकेट मैदान बनाउन भने सहज रुपमा मैदानको लागि उपलब्ध गराएको समितिका अध्यक्ष खनालले सुनाए ।  

व्यक्तिगत जग्गा ५५ रोपनी तथा सार्वजनिक ४५ गरी झण्डै १ सय रोपनी क्षेत्रफल छ । भिरालो जमिनलाई कटान गर्दै सम्याउने काम भईरहेको उनले बताए । ‘गण्डकी प्रदेशको दोस्रो खेल मैदानको रुपमा विकास गर्ने योजना छ ’–उनले भने ‘दशैंसम्म जग्गा सम्याएर  क्रिकेट खेल्न योग्य बनाउने अभियानका साथ काम गर्दै छौं ।’ व्यक्तिगत जग्गामा खेलकुदको पूवर्धार निर्माण गर्न दाताहरुले कुनै समस्या नभएको बताउँदै आएका छन् । अध्यक्ष खनालका अनुसार पितृको स्मृति रहने गरी  जग्गामा खेलकुदको पूर्वाधार निर्माण गर्न उपलब्ध दाताले सहयोग गरेका हुन् ।  

स्थानीय बगाले, श्रेष्ठ एवं जोशी परिवारको जग्गा रहेको छ । ‘पुर्खाको नाम रहने गरी खेलकुद पूर्वाधार बनाउन व्यक्तिगत रुपमा कुनै आपक्ति छैन्’ जग्गा दाता मध्येका एक भरत बगालेले भने–‘बावु बाजेको स्मृति हुने गरी बनाउन अरुको पनि आपत्ति होलाजस्तो लाग्दैन् ।’ तर निर्माण समितिले सबै परिवार एवं अंशियारसँग समन्वय गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘खेल मैदानको नाम नै पुर्खाको नाममा राखिदिए हुन्थ्यो भन्नेमा छौं ।’ उनको भनाई थियो । जग्गादाता बगालेका अनुसार निर्माण समितिलाई भोगाधिकार गर्नेगरी भनेर लिखित रुपमा जग्गा हस्तान्तरण भने नभएको स्पष्ट पारे । ‘हाम्रो परिवारमा कुनै समस्या छैन् । अन्य सबैसँग छलफल गरेर काम गर्नुपर्छ’ उनले भने–‘पुर्खाको नाम रहने गरी खेलकुद पूवार्धार बनाउँदा कसैले आपत्ति गर्छन जस्तो लाग्दैन। तैपनि समस्या सृजना नहुने गरी समन्वय गर्नुपर्छ ।’  

गण्डकी प्रदेशका जिल्लाहरुमा खेलकुदका पूर्वाधार निर्माण धमाधम सुरु भएका छन् । संघीय, प्रदेश सरकारसँगै संसद विकास कोषको बजेटबाट फुटबल, क्रिकेट तथा कभर्ड हल निर्माण भइरहेका छन् । एक निर्वाचन क्षेत्र एक खेल मैदान संघीय सरकारको नीति छ । त्यही नीति अनुसार मुस्ताङको जोमसोममा बहुउद्देश्यीय कभर्ड हल निर्माण सुरु गरिएको छ । कास्कीको अन्नपूर्ण गाँउपालिकास्थित माछापुच्छ्रे खेल मैदान तथा घान्द्रुकमा उच्च उचाई खेलकुद तालिम केन्द्र निर्माणकै चरणमा छन् । गण्डकी प्रदेश सरकारको लगानीमा नवलपुरमा कभर्ड हल सहितको पूर्वाधार निर्माण अघि बढाइएको छ ।
(नागरिक न्युजबाट)

ताजा खबर