भारतबाट आउनेको सङ्ख्या न्यून हुँदैः सोमबार ४१६ नेपाली भित्रिए, ३३१ भारतीय बाहिरिए

२०७७ असार ९ मंगलबार ०९:२४:०० मा प्रकाशित

लम्की। सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट सोमबार ४१६ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने ३३१ भारतीय नागरिक बाहिरिएका छन् । आइतबारको तुलनामा सोमबार नेपाल भित्रिनेको सङ्ख्या घटे पनि भारत जानेको सङ्ख्या भने बढेको छ । रोजगारीका लागि भारत र नेपालका विभिन्न शहर रहेका नेपाली र भारतीय नागरिक जेठ २ गतेयता दैनिक आफ्नो देश जाने आउने क्रम जारी रहेको छ । जेठको मध्यतिर दैनिक आठ हजार हाराहारीमा नेपाली नेपाल भित्रिए पनि अहिले आउने क्रम न्यून हुँदैगएको छ ।

सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका अनुसार सोमबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट १९७ नेपाली नागरिक भित्रिएका छन् भने ११९ जना भारतीय नागरिक बाहिरिएका छन् । त्यसैगरी कैलालीको गौरीफन्टा नाकाबाट २१९ नेपाली नागरिक भित्रिएका छन् भने २१२ भारतीय नागरिक बाहिरिएका छन्

योसँगै सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख १९ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या करिब अठार हजार पुगेको छ ।
उनीहरू नेपाल भित्रिएसँगै सुरक्षित क्वारेन्टाइनमा बस्ने र परीक्षणपछि घर जाने व्यवस्था सम्वन्धित जिल्लाका स्थानीय तहले मिलाएको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा भारतबाट आएका करिब ३५ हजार मानिस अझै क्वारेन्टाइनमा रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर