सांसद सरिता गिरीलाई पार्टीले साेध्यो स्पष्टीकरण

२०७७ असार ९ मंगलबार ०९:२०:०० मा प्रकाशित

काठमाडौँ। सरकारले ल्याएको संविधान संशोधनको विरोधमा उभिनुभएका समाजवादी पार्टीका सांसद सरिता गिरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।

नयाँ नक्साका आधारमा निशान छाप परिमार्जन गर्नका लागि सरकारले संविधान संशोधनका लागि सरकारले दर्ता गराएको विधेयकको विरोधमा उभिनुभएका सांसद गिरीलाई सात दिनभित्र आफ्नो स्पष्टीकरण दिन पार्टीले निर्देशन दिएको पार्टीका महासचिव रामसहाय यादवले बताउनुभयो ।

सांसद गिरीको विषयमा छलफल गर्न सोमबार पदाधिकारीको बैठक बसेको थियो । बैठकले सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको उहाँले बताउनुभयो । उहाँको स्पष्टीकरण आएपछि कारबाही गर्ने नगर्ने विषयमा पार्टीले थप निर्णय लिने उहाँले बताउनुभयो । सरकारले संसदमा दर्ता गराएको विधेयक फिर्ता लिनका लागि सांसद गिरीले संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गराउनुभएको थियो ।

तर समाजवादी पार्टीका संसदीय दलले प्रस्ताव फिर्ता लिन लिन निर्देशन दिएको थियो । फिर्ता नलिए दलले कारबाही गर्न बाध्य हुने पनि भनेको थियो तर सांसद गिरीले प्रस्ताव फिर्ता लिनुभएन । पार्टी तथा संसदीय दलले दिएका निर्देशनविपरीत सांसद गिरीले काम गरेको भन्दै उहाँलाई स्पष्टीकरण सोधिएको पार्टीले जनाएको छ ।

त्यसैगरी, पदाधिकारी बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली पुरुषसँग विदेशी महिलाले बिहे गरेको सात वर्षपछि मात्र वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गर्न गरेको निर्णयको विरोध गरेको छ । नागरिकता प्राप्ति हाल रहेको व्यवस्थालाई कायम राख्न पार्टीले आग्रह पनि गरेको छ ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर