पानी चुहिँदा अस्पतालको बिजोग, सञ्चालनमा आएको ८ वर्षमै जीर्ण

२०७७ असार ९ मंगलबार ०८:३९:०० मा प्रकाशित

पानी परेपछि किसानहरु यति बेला निकै खुसी छन् । धान रोप्न किसानहरु व्यस्त भइरहेका बेलामा पोखरा–१६ बाटुलेचौरमा रहेको मातृशिशु अस्पतालका कर्मचारी भने बाल्टी र बाटा थाप्दै पानी पुछ्नमै व्यस्त भएको पाइन्छ ।

पोखरा महानगरपालिका–१६ मा रहेको मातृशिशु अस्पतालमा अहिले २ काम भइरहेको छ । पहिलो काम अस्पतालको पूर्वाधार निर्माण र दोस्रो काम पानी चुहिएको स्थानमा भाँडो थाप्ने । बच्चालाई खोप लगाउन बनाइएको वैकल्पिक खोप कक्ष भत्किएको छ । माथिबाट टिनले छोपिएको छ तर पनि पानी रोकिएको छैन ।

पानीको आहाल बन्छ भने अस्पतालभित्र प्रवेश गर्नेबित्तिकै भुइँमा ३–४ वडा भाँडा थापिएको देखिन्छ ।
बर्खाको समयमा किसानलाई निकै खुसी मिले पनि अस्पतालका कर्मचारीलाई भने पानीले सताएको छ । उसो त कर्मचारीलाई भुइँमा पानी हालेर सफा गर्ने झन्झट भने हटेको छ ।

आकाशबाट आएको पानीमै टालो लगाइदिए निकै चम्किन्छ मातृशिशु अस्पताल । अस्पतालको सिलिङलाई जिप्सन बोर्डले ढाकिएको छ । त्यही जिप्सन बोर्ड पनि भत्किएको छ भने अस्पतालभित्र पानी चुहिएको छ ।

अस्पतालमा गण्डकी प्रदेशका मात्र नभएर बाहिरी जिल्लाबाट समेत सेवाग्राही आउने गर्छन् । प्रसूतिका लागि आउने उक्त अस्पतालको भुइँ पानीले चिप्लो भएको छ । यस्तो संवेदनशील अवस्थामा रहेका महिलाहरु लडिन्छ कि भनेर सचेत हुन आवश्यक देखिन्छ । आफूलाई जँचाउन आएका सेवाग्राही अस्पतालबाट नै जोगिन पर्ने अवस्था सिर्जना भएको छ ।

सञ्चालनमा आएको ८ वर्षमै अस्पताल जीर्ण अवस्थामा पुगेको छ । पोखरा उपमहानगरपालिका संरक्षक र कोमागाने नगर जापानको सह–संरक्षकत्वमा स्थानीय जनताको सहयोगमा स्थापित अस्पतालले २०६७ साल कात्तिक २३ बाट पोलिक्लिनिकका रुपमा सेवा शुरु गरेको थियो । जनस्तरबाट महायज्ञमार्फत सुरुआत गरिएको अस्पतालमा २०६९ साल माघ २२ गतेदेखि महिला र बालबालिकाको क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालमा १२ करोड रुपियाँ बराबरको भवन, नेपाल सरकारको १ करोड १० लाख, स्थानीय जनताको ५२ लाख, कोमागाने नगरले करिब ४ करोड बराबरको महत्वपूर्ण उपकरणलगायत सरकारलाई हस्तान्तरणसमेत गरेको थियो ।

नगरपालिकाले अस्पताल सञ्चालनका लागि वार्षिक रुपमा २५ लाख रुपियाँ सहयोग गर्दै आएको थियो । पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरबीच भगिनी सम्बन्ध कायम भएको १०औं वर्षगाँठको अवसरमा २०६९ सालमा अस्पताल स्थापना गरिएको थियो ।

अस्पताललाई नेपाल सरकारले २०७२ असोज २२ गते जिल्लास्तरको २५ शैय्याको सरकारी अस्पतालमा स्तरोन्नति गरेको थियो । साविकको बाटुलेचौर स्वास्थ्य चौकी र मितेरी अस्पताललाई समायोजन गरी स्वास्थ मन्त्रालयअन्तर्गत सञ्चालन गरिएको हो ।

त्यस्तै २०७३ असोज १२ गते अस्पताल सरकारलाई हस्तान्तरण गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अस्पतालका तत्कालीन मेडिकल सुपरिन्टेन्डेन्ट छममाया पुनले अस्पतालका प्रमुख डाक्टर प्रेमराज पंगेनीलाई अस्पतालको माइन्युट बुक, सम्पत्तिको सम्पूर्ण विवरण बुझाएर सरकारलाई हस्तान्तरण गर्नुभएको थियो ।

सोही कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीसहित २० जनाभन्दा बढीले अस्पतालाई स्तरोन्नति गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रिपतिको हातबाट सम्मान गरिएको थियो । तर अहिले अस्पतालको अवस्था देख्दा निकै बिजोग छ । करोडौँको लगानीमा बनेको अस्पतालमा यसरी पानी चुहिँदा दीर्घ विकास देखिँदैन ।

अस्पतालमा भएको समस्या पानीको कारणले मात्र भएको अस्पताल व्यवस्थापन समितिको दाबी छ । अस्पतालमा बन्न लागेको पूर्वाधारको कारणले गर्दा पानी पसेको समितिको ठम्याइ छ । ‘जिप्सन बोर्ड पानी परेको कारणले बिग्रिएको हो, संरचना बिग्रिएको होइन’, अस्पताल व्यस्थापन समितिका प्रमुख उषा बरुवालले भन्नुभयो– ‘भत्किएको ठाउँ कुनै कक्ष होइन हामीले वैकल्पिक कक्ष बनाएका थियौं, त्यो लिफ्ट निर्माण गर्न राखिएको भाग हो, त्यही भाग बिग्रिएको हो ।’

अस्पतालको माथिल्लो तलामा संरचना बन्न लागेको कारणले खुला भएको ठाउँबाट पानी भित्र पसेको उहाँको भनाइ छ । ‘संरचनामा कुनै असर छैन जिप्सन बोर्ड भने पानीले बिग्रिहाल्ने भएकाले हो अन्यथा सबै ठीकै छ’ –उहाँले भन्नुभयो । अस्पतालमा ३ करोडको लागतमा हाल डाक्टर क्वार्टर, प्रशासनिक भवन, शौचालय, लुगा धुने स्थानलगायत संरचना बन्न लागेको उहाँले जानकारी दिनुभयो ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर