बराबरीले बार्सिलोनालाई धक्का

२०७७ असार ८ सोमबार ०९:५८:०० मा प्रकाशित

मड्रिड । सेभिल्लासँग निराशाजनक बराबरीमा रोकिएपछि शीर्षस्थानमा रहेको बार्सिलोनालाई स्पेनिस ला लिगाको उपाधि यात्रामा धक्का लागेको छ । क्याटलान क्लब बार्सिलोना सेभियासँग गोलरहित बराबरीमा रोकिँदै अंक बाड्न बाध्य बनेपछि उपाधि यात्रामा धक्का लागेको हो ।

बार्सिलोनाको बराबरीले दोस्रो स्थानमा रहेको स्पेनिस महारथी रियल मड्रिडलाई फाइदा पुगेको छ । अब रियलले आइतबार राति हुने खेलमा रियल सोसिडाडलाई पराजित गर्न सके बार्सिलोनालाई पछि शीर्षस्थानमा उक्लनेछ । हेड टु हेडमा रियल शीर्षस्थानमा उक्लनेछ ।

स्पेनिस ला लिगा आयोजकले यो सिजन अंक बराबरीमा भएको अवस्थामा गोल अन्तरबाट नभई हेड टु हेडको आधारमा निर्णय गर्नेछ । बार्सिलोना हेड टु हेडमा रियलसँग पछि छ । बार्सिलोना घरेलु मैदानमा रियलसँग गोलरहित बराबरीमा रोकिँदा रियलको मैदानमा २–० ले पराजित भएको थियो ।

रमोन सान्चेज पिजुवान स्टेडियममा शुक्रबार राति भएको खेलमा दुवै टोलीले केही अवसर खेर फालेका थिए । दुवै टोलीका गोलरक्षकले केही आकर्षक बचाउ गरे । खेलको चौथो मिनेटमा लुइस स्वारेजको प्रहारलाई सेभिल्लाका गोलरक्षक तोमस भच्लिकले सहजै नियन्त्रणमा लिए । १२औं मिनेटमा घरेलु टोली सेभिल्ला अग्रता लिनबाट चुक्यो । फ्रिकिकलाई इभान राकिटिचले हेडमार्फत क्लियर गर्दा आएको रिबाउन्ड बललाई जुलेस कोउन्डेले गरेको प्रहारले गोलरक्षकलाई बिट गरे पनि पोस्टभन्दा थोरैले बाहिरिन पुगेको थियो ।

२१औं मिनेटमा कोउन्डेले नै लियोनेल मेस्सीको फ्रिकिकलाई गोललाइनबाट चलाखीपूर्ण हेडरमार्फत क्लियर गरे । मेस्सीले फ्रिकिक प्रहार गर्दा अघि रहेका कोउन्डेले पछि सर्दै गोललाइनमा हेड गर्न पुगेका थिए । २५औं मिनेटमा सेभिल्लाका पूर्वमिडफिल्डर इभान राकिटिचको प्रहार पोस्टबाट थोरै बाहिरियो । पहिलो हाफको इन्ज्युरी समयतिर खेलमा केही तनावको अवस्था सिर्जना भएको थियो । कोउन्डेले स्वारेजलाई फल गरेपछि खेलाडीबीच विवाद भएको थियो । रेफ्रीले बार्सिलोनाका सर्जियो बुस्केट्स र सेभिल्लाका फर्नान्डोलाई हात हालेपछि दुवैलाई पहेंलो कार्ड दिएका थिए । त्यसैबेला मेस्सीले सेभियाका डिएगो कार्लोसलाई हात हाले पनि उनी कार्डबाट बचे ।

दोस्रो हाफमा भने सेभिल्लाले थप सुधारिएको खेल पस्कदै बार्सिलोनाको पोस्टमा पटकपटक आक्रमण बुन्दा गोलरक्षक मार्क आन्द्रे टेर स्टेगन निकै व्यस्त बने । खेलको ५६औं र ५७औं मिनेट स्टेगनले ओकम्पास र मुनिर इएल हाडाडीको प्रहारलाई विफल पारे । ६०औं मिनेटमा अनमार्क रहेका सेभिल्लाका लुकास ओकाम्पसको प्रहारले पोस्टको दिशा लिन सकेन । ७२औं मिनेटमा मेस्सीले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकलाई सेभिल्लाका गोलरक्षक भाच्लिकले विफल पारे । ८३औं मिनेटमा स्टेगनले पुनः ओकम्पासको प्रयासलाई विफल पारे । ८८औं मिनेटमा जोर्डी अल्बाको क्रसमा अनमार्क रहेका लुइस सुआरेजले पेनाल्टी क्षेत्रभित्रबाट पहिलो टचमा गरेको प्रहार आकासियो । इन्ज्युरी समयको पहिलो मिनेटमा सेभिल्लाले खेल जित्ने सुवर्ण अवसर खेर फाल्यो ।

बार्सिलोनाको पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका सर्जियो रेगुइलोनले वान भर्सेस वनको स्थितिमा गरेको प्रहार सिधै गोलरक्षक टेर स्टेगनले बचाउँदा खेल बराबरीमा टुंगियो । बराबरीसँगै शीर्षस्थानको बार्सिलोनाको ३० खेलमा ६५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको रियलको ६२ अंक छ । रियलले एक खेल कम खेलेको छ । सेभिल्ला ३० खेलबाट ५२ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ ।

यस्तै, शुक्रबार राति भएको अन्य खेलमा भिल्लारियलले ग्रानडामाथि १–० को जित निकालेको छ । जितसँगै भिल्लारियल ४७ अंक जोडेर सातांै स्थानमा यथावत् छ । पाँचौं स्थानको गेटाफेसँग अंक बराबरी रहे पनि गोलअन्तरमा सातांै स्थानमा रहेको हो । ग्रानडा ४२ अंक जोडेर नवौं स्थानमा छ । अर्काे खेलमा रिल मालोर्का र लेगानेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । मालोर्काको २६ तथा लेगानेसको २४ पुगेको छ । दुवै टोली रेलिगेसन जोनमा छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर