कोरोनाले अन्योलमा कांग्रेस महाधिवेशन

२०७७ असार ८ सोमबार ०९:१४:०० मा प्रकाशित

काठमाडौं : अंगीकृत नागरिकताबारे पार्टीको धारणा तय गर्न आइतबार कांग्रेसको पदाधिकारी बैठक बस्यो। बैठक सकिने बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको विषय उठाए। ‘पार्टीको महाधिवेशबारे के गर्ने ? , कार्यतालिका संशोधन गर्नुपर्‍यो। महाधिवेशनको काम अगाडि बढाउनुपर्‍यो’, नेता पौडेलले सभापति शेरबहादुर देउवालाई भने, ‘बैठक बोलाएर महाधिवेशनको तयारी अगाडि बढाउनुपर्‍यो।’ उनले त्यसअघि बुधबारको बैठकमा पनि महाधिवेशको कुरा उठाएका थिए।

कोरोना भाइरस फैलिन नदिन सरकारले चैत ११ मा लकडाउन सुरु गरेपछि कांग्रेसभित्र महाधिवेशनको विषय ओझेल पर्दै आएको छ। अघिल्लो वर्ष पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। तर, यही अवधिमा कोरोनाको असर देखिएपछि चैत ९ गतेदेखि महाधिवेशनका सबै गतिविधि रोक्दै कांग्रेसले कोरोनाबारे सचेतना कार्यक्रम गर्न नेता÷कार्यकर्तालाई निर्देशन दिएको थियो।

कोरोनाको असर लामो समय देखिन सक्ने र लकडाउन पनि लम्बिने देखिएपछि नेता पौडेल आन्तरिक कार्यतालिका संशोधन गरेर तत्काल महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा देखिएका छन्। उनले पछिल्लो समय महाधिवेशनको विषयलाई पार्टीका नेताहरू र अन्य फोरममा पनि उठाउन सुरु गरेका हुन्।

‘मैले सभापतिज्यूलाई तोकिएको समयमै महाधिवेशन गर्ने गरी कार्यतालिका परिमार्जन गर्नुपर्छ। त्यसका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउन भनेको छु’, नेता पौडेलले अन्नपूर्णसँग भने, ‘उहाँे हुन्छ–हुन्छ भन्नुहुन्छ। कहिले बैठक बोलाउनुहुन्छ, थाहा छैन।’

महाधिवेशन कार्यतालिकाअनुसार काम अघि बढेको भए यति बेला क्रियाशील सदस्यता छानबिनको काम भइरहेको हुन्थ्यो। कार्यतालिकाअनुसार प्रारम्भिक काम नै अघि बढ्न सकेको छैन। अघिल्लो पुसभित्र संघीय व्यवस्थाअनुसार पार्टीको सांगठनिक संरचना समायोजनको काम सम्पन्न गर्ने, देशभर क्रियाशील सदस्यता वितरणको काम गर्ने कार्यतालिकामा उल्लेख छ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची वैशाखभित्र केन्द्रमा पठाइसक्नुपर्ने, नयाँ सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजुरी र नवीकरणउपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अन्तिम अवधि जेठ १५ गतेसम्म तोकिएको थियो। केन्द्रीय छानबिन समितिले साउन १५ भित्र निर्णय गरिसक्नुपर्ने, नयाँ क्रियाशील सदस्यता र नवीकरणको अन्तिम सूची तयार गरी छानबिन समितिले केन्द्रीय सभापतिलाई साउन २५ गतेभित्र बुझाइसक्नुपर्ने कार्यतालिकामा उल्लेख छ।

तर फागुनमै सक्नुपर्ने सांगठनिक समायोजनको काम सकिएको छैन। प्रतिनिधिसभा क्षेत्रीय समिति र प्रदेशसभा क्षेत्रीय समितिको समायोजन टुंगो लागे पनि ३० वटा जिल्लामा स्थानीय तह समायोजन बाँकी नै छ। महाधिवेशनका लागि महत्वपूर्ण क्रियाशील सदस्यता वितरण स्थानीय तहले गर्ने भएकाले वडा तहको संरचना नबनेसम्म महाधिवेशन प्रक्रिया लम्बिने निश्चित छ। वडाले क्रियाशील सदस्यता वितरण गर्ने प्रावधान कांग्रेस विधानमा छ।

कांग्रेसमा सबैभन्दा जटिल विषय नै क्रियाशील सदस्यता वितरणको हो। क्रियाशील सदस्यले महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चयन गर्ने र क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्छन्। त्यसैले क्रियाशील सदस्यतालाई लिएर हरेक महाधिवेशनमा विवाद हुँदै आएको छ। पार्टी विधानमा हरेक वर्ष साधारण र क्रियाशील सदस्यता वितरणको प्रावधान भए पनि कांग्रेसमा महाधिवेशन अगाडि मात्रै वितरण गर्ने प्रचलन रहिआएको छ। कांग्रेसमा क्रियाशील सदस्यता वितरणलाई लिएर वडा तहदेखि नै गुटबन्दी र चरम विवाद हुँदै आएको छ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशन कार्यतालिका परिमार्जनबारे छलफल गर्न चाँडै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भइरहेको बताए। ‘सभापतिज्यू महाधिवेशन अहिले पनि तोकिएकै मितिमा गर्न तयार हुनुहुन्छ। कार्यतालिका परिमार्जन गरेर फास्ट ट्र्याकबाट भए पनि समयमै महाधिवेशन गर्ने पक्षमा हुनुहन्छ’, उनले भने, ‘केन्द्रीय कार्यसमिति बैठक बोलाएर कार्यतालिकाबारे छलफल गर्ने र महाधिवेशनको तयारीमा लाग्ने भन्नेमा सभापति दृढ हुनुहुन्छ।’

सहमहामन्त्री महतले क्रियाशील सदस्यता टुंगो लागे बाँकी प्रक्रिया स्वतः अगाडि बढ्ने बताए। ‘जिल्लाले संगठन संरचना समायोजनमै लामो समय लगाए। केन्द्रबाट २०औं पटक पत्राचार गर्दा पनि एकदमै ढिला गरे। त्यसपछि लकडाउन सुरु भयो’, उनले भने, ‘अब पनि क्रियाशील सदस्यतामा विवाद नगरी अगाडि बढाउने हो भने तोकिएकै समयमा महाधिवेशन गर्न कठिन छैन।’

महाधिवेशन फागुनमै सम्पन्न गर्न कोरोना महामारी कति लम्बिन्छ, त्यसले निर्धारण गर्ने कांग्रेस नेता बताउँछन्। सभापति देउवानिकट एक केन्द्रीय सदस्यले लकडाउन भदौसम्म कायमै रहे महाधिवेशन फागुनमा सम्भव रहेको स्पष्ट पारे। ‘समयमै महाधिवेशन हुनुपर्छ, विधानसम्मत महाधिवेशनका पक्षमा कुरा उठाउनु जायज हो। तर, अहिलेको अवस्थामा त्यो कति सम्भव छ भनेर पनि ख्याल गर्नु जरुरी छ’, एक केन्द्रीय सदस्यले भने, ‘महाविधेशनका लागि पर्याप्त समय छ तर कोरोनाको असर कहिलेसम्म जान्छ, यसले महाधिवेशनको निर्धारण गर्छ। कोरोना महामारी र लकडाउनबीचकै पार्टीका गतिविधि अगाडि बढाउन सम्भव होलाजस्तो लाग्दैन।’

नेता पौडेल भने अहिलेदेखि नै पार्टीको महाधिवेशनको काम अगाडि बढाए फागुनमै सम्भव हुने दाबी गर्छन्। ‘फागुनमै महाधिवेशन सम्भव छ, त्यसका लागि अहिलेदेखि नै काम अगाडि बढाउनुपर्छ,’ उनले भने।

विधानअनुसार प्रत्येक चार वर्षमा महाधिवेशन गर्ने प्रावधान छ। कांग्रेसले चार वर्ष फागुनमै गुजारिसकेको छ। एक वर्ष समय थपिएको समयमा पनि महाधिवेशन नहुने हो कि भन्ने आशंका कांग्रेसमा बढ्दै गएको छ। आउने फागुन पनि महाधिवेशन गर्न नसके अर्काे ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने कानुनी बाध्यता छ। संस्थापन इतर समूह सभापति देउवा फागुनमा महाधिवेशन नगरेर थप ६ महिना लम्ब्याउने पक्षमा रहेको आरोप लगाउँदै आएका छन्।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर