सेयर बजारमा पनि ग्रहण !

२०७७ असार ८ सोमबार ०८:५९:०० मा प्रकाशित

काठमाडौं : ११ चैतबाट लकडाउन सुरु भएपछि बन्द रहेको सेयर बजार बन्दाबन्दी निकै खुकुलो हुँदासमेत नखोलिएको भन्दै सरोकारवालाले असन्तुष्टि पोखेका छन्। उनीहरूले आइतबार आयोजित एक डिजिटल सम्मेलनमा सहभागीहरूले ‘सेयर बजारमा पनि ग्रहण लागेको’ बताए।

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निकम्मा पनका कारण एकै पटक १ सय दिन बन्द हुने विश्व कीर्तिमानी प्राप्त गर्ने दिशामा नेपाली सेयर बजारलाई अघि सारिएको आरोप लगानीकर्ता, ब्रोकर र विश्लेषकले लगाएका छन्।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवं सेयर बजार विज्ञ डा. गोपालप्रसाद भट्टले नियामक निकायले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए। उनले धितोपत्र बजारको विकासमा नयाँ वित्तीय औजार भिœयाउने, नियमित बजार सञ्चालन गर्ने र प्रविधियुक्त बनाउने काममा नेपाल धितोपत्र बोर्डले काम गर्न नसकेको उनले बताए।

सेयर लगानीकर्ता एवं विश्लेषक प्रकाश तिवारीले भने नियामक निकायलाई अवकाशप्राप्त कर्मचारीको थलोको रूपमा सरकारले विकास गरेको बताए। स्वायत्त निकायको नेतृत्वमा आधुनिक प्रविधि, विश्व बजार र लगानीकर्ताका चासोलाई ध्यान दिएर काम गर्नसक्ने मान्छे नियुक्त गर्नुपर्ने उनले बताए। पूर्व कर्मचारीलाई मात्रै नेतृत्व सुम्पने हो भने उनीहरूबाट कहिल्यै सिर्जनात्मक नतिजा हात नलाग्ने उनले बताए।

कार्यक्रममा स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले पनि अग्रपंतीको नियामक मानिने नेपाल स्टक एक्सचेञ्ज र बजार नियामक धितोपत्र बोर्ड निकै परनिर्भर भएको आरोप लगाए। केही स्वार्थी समूहको आग्रहमा चल्ने, आफूले निर्णय लिन नसक्ने र केन्द्रीय बैंक तथा अर्थ मन्त्रालयसँग बढी आस्रित हुने परिपाटीले नियामकीय स्वायत्तता नै संकटमा परेको उनले बताए।

पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि लामो समयसम्म सेयर बजार बन्द गरिँदा त्यसले सबैभन्दा ज्यादा मर्का लगानीकर्तालाई परेको सुनाइन्। अहिलेको विषम परिस्थितिमा आफूले लगानी गरेको रकम निकाल्न नपाउने भएपछि सेयर बजारप्रतिको विश्वास नै संकटमा परेको उनले बताइन्। उनले पनि खगोलमा लाग्ने ग्रहणको अन्त्यकाल थाहा हुने, तर सेयर बजारमा लागेको ग्रहण कहिले हट्छ भन्ने पत्तो नहुनुले लगानीकर्तालाई हतोत्साही बनाएको बताए।

नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष शूरवीर पौड्यालले भने लगानीकर्ताको विश्वास जित्न नियामक निकायले थप प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताए।

विश्लेषकले सेयर बजारबारे सचेतनामा नियामक निकायले लगानी गर्नुपर्ने बताए। विश्लेषक तिवारीले अनलाइन कारोबार, भुक्तानी प्रणाली र राफसाफ विधिबारे लगानीकर्तालाई आफूहरू पढाउन तयार भए पनि त्यस्तो सचेतनात्मक अभियानको नेतृत्व गर्न नियामक निकाय तयार नभएको बताए।

आगामी वर्षको मौद्रिक नीतिबारेमा पनि लगानीकर्ता र विश्लेषकले धितोपत्र बोर्डको आलोचना गरेका छन्। बोर्डले मौद्रिक नीतिमा असाधारण खुकुलो पना अपनाइदिनुपर्ने र त्यसपछिमात्रै आफूहरू सेयर बजार पुनः खोल्न सक्षम हुने अभिप्रायमा मागपत्र राष्ट्र बैंकलाई पठाएको थियो। अर्को नियामकसँगको अति परनिर्भरताले पँुजी बजारको विकासमा टेवा नपुग्ने भन्दै उनीहरूले आलोचना गरेका हुन्।

सेयर बजारमा अनलाइन कारोबार गर्दा कनेन्ट आईपीएसबाट गरिने भुक्तानीको सीमा हटाइनुपर्ने, मार्जिन कर्जाको सीमा बढाएर औसत धितो मूल्यांकनको ८० प्रतिशत पु¥याउनुपर्ने, सेयर धितो कर्जाको ब्याजदर घटाउनुपर्नेजस्ता माग लगानीकर्ताले उठाएका छन्।

त्यस्तै सेयर धितोमा गएको कर्जाको व्याज तिर्ने समय थप गर्नुपर्ने र धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबार प्रवाह गर्ने ऋणको व्याजदर बैंकले प्रवाह गर्ने कर्जाको भन्दा कम हुने व्यवस्था गर्न सुझाव दिए। धितोपत्र बोर्डले पनि यिनै सुझाव राष्ट्र बैंकलाई यसअघि नै लिखित रूपमै पठाइसकेको छ।

ऋणपत्रको दोस्रो बजार कारोबार अघि बढाउन कानुनी एवं संरचनागत सुधार गर्न नसकिएको भन्दै विश्लेषकले आलोचना गरेका छन्। दुई दशकयता ऋणपत्रको दोस्रो बजार कारोबार गराउने कुरा नीतिगत तवरमा चले पनि त्यसको कार्यान्वयन नभएको डा. भट्टले बताए। उनले वस्तुबजारको सञ्चालनमा ढिलाइ भएको र अन्य डेरिभेटिभ्स बजारको सुरुआतबारे अझैसम्म पहल हुन नसकेको बताए।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर