डरैडरको मास्क संस्कृति

२०७७ असार ८ सोमबार ०८:०५:०० मा प्रकाशित

पश्चिम अफ्रिकी देश घानाका राष्ट्रपति नाना एडो डान्का अकुफो एडोले गत साता एउटा कार्यकारी आदेश स्वीकृत गरे। सो आदेशमा तीन महिनासम्म सबै नागरिकले फेस मास्क लगाउनैपर्ने, नलगाए चारदेखि १० वर्षसम्म जेल सजाय र १२ हजार देखि ६० हजार जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था छ। यो व्यवस्थाअन्तर्गत सार्वजनिक स्थान र घरबाहिर निस्कँदा फेस मास्क, फेस सिल्ड र अन्य कुनै मुख तथा नाक छोप्ने साधन लगाउनै पर्नेछ। घानामा हालसम्म कोराना भाइरसबाट ६ हजार संक्रमित र ४९ जनाको मृत्यु भएको छ।  

अमेरिकी एयरलायन्सले गत बुधबार मास्क लगाउन अस्वीकार गर्ने एक यात्रुलाई उड्न दिएन। सो हवाई सेवाको कोरोना भाइरस नीतिमा उडानमा मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था छ। गत बिहीबार क्यालिफोर्निया राज्यका गभर्नर ग्याभिन न्युसमले जारी गरेको आदेशमा सो राज्यका सार्वजनिक स्थलमा जाँदा/हिँड्दा मास्क लगाउनैपर्ने भनिएको छ।

लन्डनका मेयर सदिग खानले कोरोना भाइरस संक्रमण नियन्त्रणमा मास्कको ठूलो भूमिका रहेको भन्दै गत बिहीबार नै लन्डनका सार्वजनिक स्थल र पसलमा फेस मास्क अनिवार्य गर्न बेलायती प्रधानमन्त्रीलाई एक चिठी लेखेका थिए।  

स्लाम कट्टरपन्थी इरानका राष्ट्रपति हसन रोहानीले समेत शनिबार सार्वजनिक स्थल र भीड हुने स्थलमा मास्क लगाउनैपर्ने नियम केही दिनभित्र ल्याउने बताएका छन्। सो नियम आउनुअघि आमजताले किन्न सक्ने मास्क बजारमा उपलब्ध हुनुपर्नेछ।  

पाकिस्तान, दक्षिण कोरिया, भियतनाम, स्पेन, फ्रान्स, जर्मनी, बहराइन, कतारलगायत विश्वका ५० भन्दा वढी देशले कोरोनो महामारीबाट बच्न मास्कको प्रयोगलाई अनिवार्य बनाएका छन्। विश्व स्वास्थ संगठनले सार्वजनिक स्थलमा हिँडडुल गर्दा मास्क प्रयोगबरे सुरुमा स्पष्ट निर्देशिका नदिएकोमा पछिल्ला दिनमा उसले मास्क प्रयोगलाई जोड दिएको छ।  

सबैले मास्क लगाउँदा संक्रमितले बोल्दा, खोक्दा, हाच्छ्यु गर्दा मुख र नाकबाट निस्कने सूक्ष्म छिटा अर्थात् एरोसोल बाहिर जानबाट मास्कले छेक्ने र अरु वरपरका मान्छे सुरक्षित हुने जनस्वास्थको मान्यता हो।  

मास्कका धेरै प्रकार भए पनि पछिल्लो समयमा विधि पु-याएर प्रयोग गरिने सर्जिकल मास्क र सामान्य कपडाका मास्कले दुवैले संक्रामक भाइरसको फैलाबटलाई रोक्न सक्ने मानिएको छ।  

महामारी समुदायस्तरमा फैलियो भने मास्क प्रयोग अनिवार्य गर्नैपर्छ।

‘सबैले मास्क लगाएमा भाइरस स्रोतमै नियन्त्रण हुन्छ,’ संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी  भन्छन्, ‘एरोसोल रोक्न प्रभावकारी मानिएका मास्कको प्रयोगले महामारी ६० प्रतिशतसम्म रोक्न सकिन्छ।’ तर भल्भ भएका मास्क प्रयोग गर्दा भाइरसका छिटा बाहिर निस्कने र अन्य मानिस जोखिममा पर्न सक्ने उनको तर्क छ। पछिल्ला वैज्ञानिक  अध्ययन अनुसार भन्डै आधाजसो भाइरस संक्रमण हुँदा लक्षण नदेखिएका र संक्रमितबाट अन्यलाई सर्नेे गरेको देखिन्छ। त्यसैले गर्दा सार्वजनिक स्थल, बढी भीड हुने स्थान र घर बाहिर निस्कँदा मास्क लगाउन झन् बढी जरुरी भएको छ।  

एसियामा नौलो होइन मास्क

नेपालमा पनि विशेषगरी राजधानी काठमाडांैमा वायु प्रदूषणबाट वच्न मानिसले फेस मास्क लगाउँदै आएका छन्। प्रदूषणले च्यापेका अन्य दक्षिण एसियाली सहरमा पनि मास्क प्रयोग हँुदै आएको छ। चीन, ताइवान तथा हंङकङमा कोरोना महामारी फैलिनुअघि नै फेस मास्कको प्रयोग हुँदै आएको थियो। विशेषगरी वायु प्रदूषणबाट बच्न तथा यसअघि फैलिएकोे सार्स र एचवानएनवान महामारीबाट जोगिन त्यहाँका मानिसले मास्क लगाउन थालेका थिए।  

त्रिभुवन विश्वविद्यालयका मानवशास्त्री डा. जनक राई पश्चिमा राष्ट्रहरुमा तुलनात्मक रुपमा कम प्रदूषणलगायत अन्य कारणले फेस मास्क प्रयोग त्यति नहुने गरेको तर्क गर्छन्। मास्क महामारीसँगै सहरदेखि गाउँसम्म पुगेको चर्चा गर्दै राई थप्छन्, ‘फेस मास्क विश्वव्यापी सांस्कृतिक प्रयोग भएको छ, यो शरीर र अनुहारको अभिन्न अंग बनेको छ। विश्वमा एउटै वस्तु एकै समयमा यसरी अर्बौ मानिसले लगाएको यो पहिलो पटक हो।’  

कोरोनाबाट जोगिन भनेर लगाइएको ८२ दिनको लकडाउनपछि गत सातादेखि आशिंक रुपमा खुलेको राजधानी काठमाडौंमा पनि अधिकजसाले फेस मास्क लगाए पनि कतिपयले अझै नलगाएको देखिन्छ। हाल भाइरसको उच्च संक्रमण देखिएको तराई क्षेत्रमा गर्मीका कारण आममानिसले फेस्क मास्क प्रयोग गर्न आनाकानी गरेको देखिन्छ।

आइतबार सप्तरी पुगेका स्वास्थ मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की तराईमा मास्क प्रयोगबिना बेरोकटोक सार्वजनिक स्थलमा मानिसको उपस्थिति देखेर आफू चिन्तित भएको बताए। ‘जनचेतना कमी र असावधानीका हिसाबले यहाँ प्रकोपको जोखिम अत्यधिक छ,’ उनले सप्तरीबाट टेलिफोनमा भने।  

अहिलेसम्म त. भाइरस संक्रमण खासखास स्थानमा अर्थात् क्लस्टरमा मात्र देखिएको बताउँदै डा. कार्कीले भने, ‘यो समुदायस्तरमा फैलियो भने मास्क प्रयोग अनिवार्य गर्नैपर्छ। बाहिर निस्कँंदा मास्क प्रयोगसँगै कम्तीमा एक मिटरको भौतिक दूरी र साबुनपानीले हात नियमित हात धुन कन्जुस्याइँ गर्न नहुने उनले बताए।  

के भन्छन् धार्मिक नेता

जैन धर्मका गुरु डा. मणिभद्र मुनि फेस मास्क अर्थात् मुख बस्त्रीका लगाउने प्रचलन साढे दुई हजार वर्षअघिबाट सुरु भएको बताउँछन्। जैन धर्मले अहिंसालाई जोड दिने चर्चा गर्दे उनी भन्छन्, ‘मुख बस्त्री लगाउनुको कारण मुखबाट निस्कने तातो हावाले बाहिर वायुमा हुने जीवलाई हिंसा नहोस् र वायुमा रहेका जीव मुखभित्र नछिरुन भन्ने हो। त्यस्तै श्वासप्रश्वासबाट सर्न सक्ने भाइरसलगायत रोग नसरुन भनेर धेरै पहिलादेखि मुख बस्त्रीका लगाउने चलन चलेको हो।’  

राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष डा. माधव भट्टराई आत्मरक्षाका लागि पुर्खाहरुले यस्ता सुरक्षा साधनको प्रयोग गरेका बताउँछन्। नित्य कर्म, पूजाआजा, स्नान तथा यात्रा गर्दा गम्छा अथवा रुमालको प्रयोग हुने गरेको चर्चा गर्दै उनले भने,  ‘हाल फेस मास्क महामारीको सन्दर्भमा आएको छ। धार्मिक हिसाबले सूक्ष्म जीवाणु र कीटाणु शरीरमा नपसुन भन्ने चेतना पहिलेदेखिकै हो।’  

प्रकृतिलाई कुनै किसिमको हानी पु¥याउन नहुने बुद्ध धर्मको मूल मान्यता रहेको बताउँदै धर्माेदय सभाका उपाध्यक्ष केशवमान शाक्य भन्छन्, ‘बुद्ध धर्ममा भिक्षु तथा भिक्षुणीले दुई सयभन्दा बढी नियम अर्थात् विनय पालना गर्नुपर्ने हुन्छ। यी नियमहरुको मूल उद्देश्य रोगबाट बच्ने, प्रकृति र अरुलाई हानी नपु¥याउने तथा व्यक्तिगत स्वास्थ र सरसफाइलाई उच्च प्राथमिकता दिने हो।’  

मास्क कहिलेसम्म  

अहिले कोरोना महामारीका कारण फेस मास्क मानव जातिको एउटा जीवनपद्धति र पहिचान बने पनि यसको प्रयोग इतिहास लामो छ। मास्क प्रयोग अठारौं शताब्दीदेखि नै अस्पतालहरुमा हुने गरेको तर सन् १९१८ मा करोडौं मानिसको ज्यान लिनेगरी फैलिएको स्पेनिस फ्लुको महामारीपछि यसको प्रयोग सार्वजनिक रुपमा हुन थालेको हो। के अब मास्क कोरोना महामारीको अन्त्यपछिको न्यु नर्मलमा हाम्रो जीवनपद्धति र संस्कृतिको अभिन्न अंगका रुपमा निरन्तर रहला ? विज्ञहरु यसै होला भनेर भन्न सकिने स्थिति नरहेको बताउँछन्।  

‘स्वाभाविक रुपमा मान्छे तार्किक प्राणी हो’, मानवशास्त्री राई भन्छन्, ‘लगाउँदा असजिलो हुने भएका कारणले मास्क प्रयोग निरन्तर हुनेमा शंका गर्न सकिन्छ। तर  अन्य कुनै कारणले भविष्यमा मास्क लगाउन प¥यो भने त्यो मानवजातिलाई नयाँ विषय भने हुने छैन।’ 
(नागरिक न्युजबाट)

ताजा खबर