नारायणगढ-मुग्लिङ सडकमा जहिल्यै पहिरोकै पिरलो

२०७७ असार ८ सोमबार ०७:५९:०० मा प्रकाशित

चितवन — मनसुन सुरुवातसँगै राजधानी काठमाडौंलाई पश्चिम जोड्ने मुख्य सडक नारायणगढ–मुग्लिङ सडकमा पहिरोको समस्या सुरु भएको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोला, चारकिलोमा बुधबार बिहान सवा ४ बजे खसेको पहिरो ४३ घण्टापछि मात्रै पूर्णरूपमा पन्छाइएको हो ।

 

शुक्रबार साँझ ५ बजेबाट मात्रै दुईतर्फी सवारीसाधन चल्न थालेका छन् । सडकमा थुप्रिएको ४५ सय घनमिटर पहिरो हटाउन निकै सकस भएको नारायणगढ–मुग्लिङ सडक आयोजनाले जनाएको छ । साढे ५ मिटर चौडा यो सडकलाई ९ देखि ११ मिटर फराकिलो बनाउन ठाउँ–ठाउँमा पहाड काटिएको थियो । सडक विस्तारसँगै ४ वर्षयता पहिरोले बेलाबेला दु:ख दिइरहेको हो ।

सडक विस्तारको काम सकिए पनि पहिरोको पिरलो कायमै छ । राजमार्गका २९ ठाउँमा खस्ने पहिरो नियन्त्रणका लागि दुई वर्षअघि काम सुरु भएको थियो । अन्य ठाउँमा नियन्त्रणको काम पूरा भए पनि ९ ठाउँमा बाँकी छ । त्यसमध्ये चारकिलोमा बढी समस्या रहेको आयोजनाले जनाएको छ ।

मंसिरयता जारी बाँकी काम लकडाउनले प्रभावित भएको आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । चारकिलोमा जेठबाट सुरु भए पनि डिजाइन परिवर्तन गर्नुपरेकाले ढिलो भएको उनको भनाइ छ । ‘फेरि डिजाइन परिवर्तन गर्नुपर्नेजस्तो देखिएको छ । राम्रोसँग घाम लागे १०/१२ दिन काम गर्न पाए मात्रै सकिन्छ,’ खनालले भने ।

४ वर्षयता चारकिलो क्षेत्रको पहिरोमा परेर ४ जनाले ज्यान गुमाएका छन् भने एकजना बेपत्ता छन् । यो सडकमा सामान्य अवस्थामा प्रतिदिन १० हजारसम्म गाडी गुड्छन् ।

झन्डै ३ अर्ब रुपैयाँ लागतमा सडक विस्तारको काम सकिएको थियो । पहिरो नियन्त्रणका लागि दुई वर्षअघिदेखि हालसम्म १४ करोड रुपैयाँ खर्च भएको इन्जिनियर खनालले जानकारी दिए । यो वर्ष थप १४ करोड ९ लाख रुपैयाँबराबरको ठेक्का लागेर काम सुरु भइरहेको छ ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर