नागरिकता ऐन संशोधनविरुद्ध प्रदेश २ का विभिन्न स्थानमा प्रदर्शन

२०७७ असार ८ सोमबार ०७:५१:०० मा प्रकाशित

जनकपुर — विदेशी महिलाले अंगीकृत नागरिकता पाउन लगातार ७ वर्ष नेपालमा बस्नुपर्ने भनी पेस गरिएको नागरिकता ऐन संशोधन प्रस्तावविरुद्ध प्रदेश २ का विभिन्‍न जिल्लाहरुमा आइतबार प्रदर्शन गरिएको छ । प्रदेश २ को जनकपुर, राजविराज, गौर, जलेश्वर र मलगंवामा प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले प्रदर्शन गरेका हुन् ।

नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट आतइबार पारित भइसकेको छ ।

 

उनीहरुले नागरिकता ऐन संशोधनमा समेटिन लागेको विदेशी बुहारीसम्बन्धी प्रावधानको विरोध जनाएका हुन् । कांग्रेसका धनुषाका क्षेत्रीय सभापति कन्हैयाकुमार कर्णले नागरिकता ऐन संशोधनमा समेटिन खोजिएको विदेशी बुहारीसम्बन्धी प्रावधान नहटाए आन्दोलन चर्काउने चेतावनी दिए ।

रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गर्दै कांग्रेसका रौतहटका सभापति कृष्ण यादवले नागरिकता सम्बन्धि नियामावली कुनै हालतमा मान्य नहुने बताए ।

अन्तरिम संविधानमा दिएको अधिकार समेत कुण्ठित हुने गरि नेकपाको सरकारले नागरिकता संसोधन विधेयक ल्याउन लागेकाले त्यसको विरोध गर्नुपरेको नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश यादवले बताए । खासगरि नेपाल र भारतबीच सिमा क्षेत्रमा वैवाहिक,धार्मिक,सांस्कृतिक र बेटीरोटीको सम्बन्ध रहेको र त्यो समबन्धलाई भत्काउनका लागि सरकारले यो विधेयक ल्याउन लागेको सभापति यादवको आरोप छ ।

पर्साको वीरगन्ज घन्टाघरमा पनि कांग्रेस र जसपाले विरोध प्रदर्शन गरेका छन् । आइतबार दिउसो कांग्रेस पर्सा जिल्ला समितिको अगुवाईमा प्रस्तावित विद्येयकविरुद्ध प्रदर्शन गरिएको हो ।

'महिलालाई हेप्न पाइँदैन, महिलाको अधिकार खोस्न पाइँदैन, कम्युनिष्ट सरकार चाहिदैन', 'महिलाको अंगिकृत नागरिकता सम्बन्धि निर्णय खारेज गर’लगायतका प्लेकार्ड बोकेर कांग्रेसका नेता/कार्यकर्ताले प्रदर्शन गरेका थिए । पार्टीका केन्द्रीय सदस्य अजय चौरसिया, सांसद अनिल रुँगटा, जिल्ला अध्यक्ष अजय द्धिवेदीलगायतका नेताहरुको विरोध प्रदर्शनमा उपस्थिती रहेको थियो ।

यसैगरि आइतबार बिहान जसपा वीरगन्ज महानगर समितिले विरोध प्रदर्शन गरेको थियो । ‘महिलामाथि विभेद र अत्याचार गर्न पाइँदैन, मधेसीमाथि अत्याचार बन्द गर, नागरिकता ऐन संशोधन विद्येयक फिर्ता गर,’लगायतका नारा लेखिएको प्लेकार्डसहित नाराबाजी गरिएको थियो ।

आइतबार नै राजविराजस्थित शिव मन्दिर अगाडीबाट निस्केको जनता समाजवादी पार्टीको विरोध प्रदर्शनमा जसपाका नेताहरुले सरकारले मधेशी जनताको मधेसी समुदायको वैवाहिक अवस्था सीमा क्षेत्रमा बढी हुने गरेकाले बुहारी बनेर आउनेहरुको अधिकारमाथि धावा बोल्न खोजिएको आरोप लगाएका थिए ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर