कोरोना महामारी यता ट्रम्पको पहिलो चुनाबी रयाली

२०७७ असार ७ आइतबार १०:०३:०० मा प्रकाशित

काठमाडौं । कोरोना महामारी सुरु भए यता पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाबी अभियानको सुरुवात गर्नुभएको छ । उहाँले शनिबार साँझ ओक्लाहम राज्यको तुल्साबाट चुनाबी अभियानको सुरुवात गर्नुभएको हो ।

सीएनएनका अनुसार तुल्सा काउन्टीबाट सुरु भएको चुनाबी रयालीमा समर्थकको भिड अपेक्षाकृत रहेनन । करीब दश लाख समर्थक सहभागी हुने अनुमान गरिएको थियो । तर अनुमान बमोजिम भिड जुटन नसकेपछि अभियानीले योजना नै परिवर्तन गर्नुपर्यो । हजारौं भिडका बीच तुल्साको खुला सडकमा ट्रम्पको पूर्ब निर्धारित सम्बोधन बीओके केन्द्रभित्र सार्नुपर्यो । निर्धारित स्थलमा सम्बोधन हुनुभन्दा दुई घण्टा अघि मात्रै केही दर्जन समर्थन जमा भएपछि योजना परिवर्तन गरिएको थियो ।

बीओके केन्द्रभित्र ट्रम्पले करीब एक घण्टा ४० मिनेटसम्म सम्बोधन गर्नुभयो ।

तुल्सा काउन्टीमा कोरोनाभाइरस सङ्क्रमणको जोखिम उच्च रहेको छ । राष्ट्रपति ट्रम्पको चुनाबी अभियानको पूर्बसन्ध्यामा तुल्सा काउन्टीका उहाँका छ जना अभियानीमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको थियो । राष्ट्रिय स्वास्थ्य अधिकारीहरुको सचेतनाका बावजूद रयालीका सहभागीहरुले सामाजिक दूरी र मास्क लगाउनुपर्ने सर्तकताका उपायहरु अपनाइएको देखिएन ।

अमेरिकी राष्ट्रपति चुनाबका लागि रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवार छन् भने डेमोक्रयाटको प्रतिनिधित्व जोय बिडेनले गर्नुभएको छ ।
(गोरखापत्र दैनिकबाट)

ताजा खबर