शनिबार ७८५ जना नेपाली भित्रिए, १०४ भारतीय बाहिरिए

२०७७ असार ७ आइतबार ०९:५१:०० मा प्रकाशित

लम्की । सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट शनिबार ७८५ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १०४ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली जेठ २ गतेयता दैनिक नेपाल भित्रिने क्रम जारी रहेकोछ । 
 
सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका अनुसार शनिबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट २०४ नेपाली नागरिक भित्रिएका छन् भने २३ जना भारतीय नागरिक बाहिरिएका छन् । शुक्रबारको तुलनामा उक्त नाकाबाट भित्रिनेको सङ्ख्या घटेको छ । त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट ५८१ नेपाली नागरिक भित्रिएका छन् भने ९१ भारतीय नागरिक बाहिरिएका छन् । शुक्रबारको तुलनामा उक्त नाकाबाट बढी सङ्ख्यामा नेपाली नागरिक भित्रिएका छन् । 

योसँगै सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख १८ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या १७ हजार पाँच सय बढी पुगेको छ ।
(गोरखापत्र दैनिकबाट)

ताजा खबर