लकडाउन हटेपछि सुटिङमा पल शाह

२०७७ असार ७ आइतबार ०९:२७:०० मा प्रकाशित

काठमाडौं । सामाजिक दूरी कायम गर्दै संगीतकर्मीहरूले म्युजिक भिडियोको छायांकन थालेका छन् । यसै लकडाउन खुलेसँगै सामाजिक दूरी कायम गरेर गायक सरोज ओलीले नयाँ म्युजिक भिडियो तयार गरी दर्शकमाझ ल्याएका छन् ।

निरन्तर लकडाउनकै कारण तीन महिनादेखि चलचित्र उद्योग ठप्प भएपछि घरमै बसेका अभिनेता पल शाहले नयाँ म्युजिक भिडियो खेलेका छन् । उनको म्युजिक भिडियो बिहीबार बेलुका रिलिज गरिएको छ ।

गायक सारोज ओली र गायिका मेलिना राईको नयाँ गीत ‘ए है माया…’को भिडियोमा उनले मोडलिङ गरेका हुन् । यो गीतको भिडियोमा पल शाहसँगै, सागर लम्साल (बले), टिकटकका हिट जोडी सुधीर श्रेष्ठ र रियाशा दाहालको पनि अभिनय रहेको छ । यो गीतमा दीपक शर्माको संगीत रहेको छ । गीतको शब्द र भिडियो निर्देशन पनि गायक ओलीकै हो ।

भिडियोबारे निर्देशक ओलीले भने, ‘हामीले यो भिडियोमा क्वारेन्टाइनमा बस्दा सामाजिक दूरी कायम गर्दै चिन्ता मुक्त भएर रमाउनुपर्छ भन्ने सन्देश दिएका छौं । अहिलेको अवस्थामा कलाकार र प्राविधिकहरूलाई पनि आर्थिक रूपमा केही राहत होस् भनेर सामाजिक दूरी कायम गर्दै हामीले भिडियो छायांकन गरेर रिलिज गरेका हौं ।’ शनिबार अर्को नयाँ भिडियोको छायांकन तयारीमा रहेका ओलीले अब डब्लूएचओको नियमलाई पालना गर्दै छायांकनलाई निरन्तता दिने बताए ।

आफ्नो यो भिडियो शुक्रबार युट्युबको नेपाल ट्रेन्डिङमा पाँचौं स्थानमा पुगेको पनि ओलीले जानकारी गराए । यो भिडियोमा विक्रम स्वारको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन रहेको छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर