आज खण्डग्रास सूर्यग्रहणः कुन राशिलाई राम्रो, कुन राशिलाई नराम्राे ?

२०७७ असार ७ आइतबार ०८:२४:०० मा प्रकाशित

आज वर्षको पहिलो खण्डग्रास सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ । सूर्यग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम रहनेछ ।

सूर्यग्रहणका बेला गर्भवती महिला, बालबच्चा, रोगी र वृद्धवृद्धाले खुला आकाशमा सूर्यतर्फ हेर्न नहुने सुझाव ज्योतिषले दिएका छन् । सूर्यग्रहणको शूतक भने शनिबार राति १० बजेर ५० मिनेटदेखि नै सुरु भइसकेको छ ।

कुन राशिलाई राम्रो, कुन राशिलाई नराम्राे ?
ज्योतिषशास्त्रअनुसार खण्डग्रास यो सूर्यग्रहण मेष, सिंह, कन्या र मकर राशिका मान्छेहरूका लागि राम्रो छ । वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु, कुम्भ र मीन राशिका व्यक्तिका लागि अशुभ रहेको ज्योतिषहरूले बताएका छन् । मेष राशिका व्यक्तिलाई श्रीप्राप्ति, सिंह राशिका व्यक्तिलाई लाभ हुने, कन्यालाई सुख र मकर राशिलाई पनि सुख रहेकोे सूर्य पञ्चांगले जनाएको छ ।

यस्तै, मृगशिरा नक्षत्र, आद्र्रा नक्षत्र र मिथुन राशिका व्यक्तिहरूले ग्रहण अवलोकन गरेमा अति कष्ट हुने ज्योतिष सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । ज्योतिषशास्त्रले राशिफलका आधारमा ग्रहण हेर्न हुने र नहुने बताए पनि खगोल विज्ञानले यसलाई अवैज्ञानिक तर्कका रूपमा लिँदै सुरक्षित लेन्सको प्रयोगले ग्रहण हेर्न सकिने बताएको छ ।

याे ग्रहण इतिहासकै दुर्लभ सूर्यग्रहण हाे । यसलाई किन दुर्लभ ग्रहण भनिएको हो त ?एक त सूर्यलाई झन्डै ९० प्रतिशत ढाक्ने गरी लाग्ने ग्रहण, अर्को बार पनि रविवार अर्थात् सूर्यकै बार परेको छ । साथै ग्रहणका समयमा दुई नक्षेत्र (मृगशिरा र आरद्रा) परेका छन् । यस्तो विरलै पर्ने हुँदा दुर्लभ भनिएको हो ।

यो विशेष किसिमको ग्रहण भएकाले कोरोना महामारीले आतंकित बनाइरहेका बेला झनै अन्य प्राकृतिक विपत् आउने हो कि भन्ने भन्ने भय एकातिर छ भने अर्कोतिर ग्रहणपछि सबै कुरा मत्थर हुँदै जान्छ कि भन्ने झीनो आशा पनि पलाएको देखिन्छ ।

वैज्ञानिक दृष्टिमा ग्रहण लाग्नु खगोलीय एक घटना हो तर यस बेला पृथ्वीमा नकारात्मक विकिरण प्रवाह हुने कुरा वैज्ञानिकले पनि स्वीकारेका छन् । यस विकिरणले मानवस्वास्थ्यमा नराम्रो असर गर्छ । त्यसैले सोझै आँखाले ग्रहणतिर हेर्नुहुँदैन ।

यसपालिको सूर्यग्रहण मिथुन राशिमा लाग्ने र राहु पनि मिथुन राशिमा भएकाले राहु मिथुन राशिबाट ननिस्केसम्म परिस्थिति अनुकूल हुँदैन । यस प्रसंगमा भारतका ज्योतिषाचार्य डा. राजनाथ झाले एक अनलाइन मिडियामा उल्लेख गरेका छन्– राहु मिथुन राशिबाट निस्किएपछि परिस्थिति बिस्तारै अनुकूल हुँदै जान्छ ।

पूर्वीय ज्योतिष सिद्धान्तअनुसार राहु–केतुकै कारण ग्रहण लाग्ने हुन्छ । त्यसैले राहु मिथुन राशिमा रहुन्जेल परिस्थिति अनुकूल नहुन सक्ने देखिन्छ । राहु आगामी भदौ २५ गते वृष राशिमा सर्छ । त्यसपछि कोरोना महामारी पनि साम्य हुने अनुमान गर्न सकिन्छ ।

ग्रहणका समयमा आटा, चामल, चिनी, दाल आदि दान गर्दा राम्रो हुने जनविश्वास छ । ग्रहणको नराम्रो प्रभावबाट बच्न दुर्गा चालिसा या श्रीमद्भागवत गीता पाठ गर्नु उत्तम हुने शास्त्रमा वर्णित छ । यस्तै, साढे सातबाट चिन्तामा रहेका मानिसले शनि देवको जप गर्नु उत्तम हुने भनाइ छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर