सकसमा स्वास्थ्यकर्मी

२०७७ असार ७ आइतबार ०७:५०:०० मा प्रकाशित

काठमाडौं : असार २ मा बाजुरा, हिमाली गाउँपालिकाका वडा नं ५ स्थित क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्य परीक्षण गर्न गएका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीमाथि ढुंगा प्रहार भयो। उनी घाइते भए।

जेठ २२ मा कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री लिन काठमाडौं आउँदै गरेका बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण अधिकारी कार्कीलाई थानकोटमा दुर्व्यवहार भयो।

डेरामा बसिरहेकी एक नर्सलाई दाङ, घोराहीका घरबेटीले डेराबाट निस्कन दबाब दिए। घोराही उपमहानगरपालिका १८ का घरधनीले कोरोना सर्ने डरले नर्स सिर्जना खड्कालाई दबाब दिएका थिए।

लेभल ३ कोभिड अस्पतालको रूपमा लिइएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालमा कार्यरत आवासीय चिकित्सकलाई बासस्थान फर्कने क्रममा प्रहरीले हातपात गर्दै लाठीचार्ज गर्‍यो।

कोरोना भाइरसको महामारी बढि;रहेका बेला सेवारत स्वास्थ्यकर्मीले भोग्नु परेका यी प्रतिनिधिमूलक घटना हुन्। मानवीय संकटको घडीमा अग्रपंक्तिमा रहेर अहोरात्र खटिएका स्वास्थ्यकर्मी जोखिमपूर्ण वातावरणमा दुर्व्यवहार र तनाव सहँदै सेवामा तल्लीन छन्। सेवाकै क्रममा ६ जना नर्ससहित एक दर्जनभन्दा बढी स्वास्थ्यकर्मीले कोरोना भाइरसको संक्रमण व्यहोरिसकेका छन्।

जोखिम मोल्दै सेवा गर्दै

जेठ २० मा बेहोस अवस्थामा हेलिकप्टरबाट उद्धार गरी पोखराबाट काठमाडौं ल्याइएका कोरोना संक्रमितलाई सघन उपचार कक्ष (आईसीयू) मा लैजाँदै गर्दा नर्स प्रतिमा पौडेलले सेवामा जुटिहालिन्। धुम्बाराहीस्थित ह्याम्स अस्पतालकी नर्सिङ इन्चार्ज पौडेल भन्छिन्, ‘संसार नै डराएको बेला म नडराउने त कुरै छैन। तै पनि पेशागत धर्म सम्झिएँ। तुरुन्तै सेवामा खटिएँ।’

सम्पूर्ण सुरक्षात्मक सामग्रीको उपलब्धता र तालिमसमेत भएका कारण पौडेल धेरै डर नलागेको बताउँछिन्। तर, ज्यान जोखिममा राखेर स्वास्थ्य सेवा प्रवाहमा खटिएका कतिपय स्वास्थ्यकर्मी पीपीईलगायतका सामग्रीको व्यवस्था नभएकोमा दुःखेसो गर्छन्। क्वारेन्टाइनमा खटिएको अवस्थामा तनाव लिएर सेवा दिनु परेको उनीहरूको गुनासो छ। चिकित्सक, नर्स, प्यारामेडिक, ल्याबकर्मी, फर्मासिस्ट, एम्बुलेन्स चालक, फोहोर व्यवस्थापनमा संलग्न सरसफाईकर्मी जोखिमका बीच पनि सेवा गरिरहेकोमा गर्व महसुस गर्छन्। तर, दुर्व्यवहारले भने उनीहरूको मन दुःखेको छ।

कन्ट्याक्ट टे«सिङमा संलग्न रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक चिकित्सक र नेपाली सेनाका दुई गरी तीनजना चिकित्सकमा संक्रमण देखियो। काठमाडौं मेडिकल कलेजको आकस्मिक कक्षमा खटिएका चिकित्सकमा पनि कोरोना संक्रमण भेटियो। कोरोनाको जोखिम न्यूनीकरण एवं उपचारमा संलग्न कति स्वास्थ्यकर्मी संक्रमित भए भन्ने यकिन तथ्यांक उपलब्ध भइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्। स्वास्थ्यकर्मीबाटै सेवाग्राही, घरपरिवार तथा समाजमा संक्रमण फैलने गम्भीर परिस्थिति रहेकोमा नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ।

संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार, उपचारका क्रममा संलग्न रहेका चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी दिनहुँ बढिरहेको छ। उनका अनुसार, दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण भइसकेको छ। सरकार तथा सरोकारवाला निकायले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सिफारिस गरेबमोजिमका सुरक्षासामग्री उपयोग र पीसीआर परीक्षणपश्चात् मात्र स्वास्थ्य सेवाप्रवाहमा समावेश हुने सुरक्षित वातावरण तयार गर्न माग गरे पनि सुनुवाई नभएको स्वास्थ्यकर्मी बताउँछन्। पीपीईको एउटा मात्र सेट भएका कारण कन्चनपुरको लालझाडी गाउँपालिकाको स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले १२ दिनसम्म धुँदै लगाउँदै गरे। स्थानीय क्वारेन्टाइन बसेकाको स्वाब संकलनमा खटिएका ती स्वास्थ्यकर्मीलाई जेठ ३१ गते कोरोना संक्रमणको पुष्टि भयो। अहिले उनी उपचाररत छन्।

तन्ना च्यातेर मास्क, पीपीई धुँदै लगाउँदै

मास्कको भरमा नर्सले कोरोना अस्पताल, आइसोलेसन वार्ड र अन्य अस्पतालमा जोखिमपूर्ण ढंगले सेवारत छन्। सेवा सकेपछि घर फर्कदा भीडको सामना गर्नुपर्छ। मरेर काम गरे पनि जस भने चिकित्सकलाई मात्र दिने गरेको गुनासो नर्सहरूको छ। सरकार र सम्बन्धित अस्पतालले बेवास्ता गरेकाले आफैं जुगाड गर्नु परिरहेको उनीहरूको भनाइ छ। नर्सहरूलाई सुरक्षा सामग्री आफंै किनेर जोगाड गर्नुपर्ने अवस्था छ। अस्पतालहरूले बेडमा ओच्छ्याउने तन्नाको मास्क सिलाएर दिइरहेका छन्।

नेपाल नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष रमेश सुब्बा भन्छन्, ‘नर्सहरू एकातिर घर गृहस्थी पनि सम्हाल्नु पर्ने अर्कोतर्फ फ्रन्टलाइनमा बसेर संक्रमितको स्याहार गर्नुपर्ने दोहोरो तनावमा छन्।’ साना सन्तानलाई सर्ने पो हो कि भन्ने चिन्तामा नर्स छन्। इटलीमा तनावकै कारण चार नर्सले आत्महत्या गरेको उनको भनाइ छ। बिरामीको उपचार गर्नु स्वास्थ्यकर्मीको कर्तव्य हो भने पीपीईसहित सुरक्षासामग्रीको व्यवस्थासहित सुरक्षित वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो। तर, तीनै तहका सरकार पन्छिएको नर्सहरूको गुनासो छ। अहिलेसम्म नेपालमा ६ जना नर्समा कोरोना संक्रमण पोजेटिभ पाइएको संघका सुब्बा बताउँछन। जसमध्ये ६ जना डिस्चार्ज भइसकेका छन्।

दुर्व्यवहार बढ्दै

नेपाल नर्सिङ संघका अध्यक्ष प्राध्यापक मनकुमारी राईका अनुसार, विभिन्न ठाउँमा नर्समाथि पनि दुर्व्यवहार तथा अपमान हुने गरेको पाइएको छ। उनले भनिन्, ‘डेराबाट निकालेको र गालीगलौज गरेको पाएका छौं।’ मानवजीवनकै कहालीलाग्दो स्वास्थ्य संकटको अवस्थामा सेवारत स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने क्रम भने रोकिएको छैन। भाडामा बसी निरन्तर स्वास्थ्य सेवा प्रवाहमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकलाई घरधनीहरूले घरमा आउन नदिने वा घरबाट बाहिर बस्न दबाब सिर्जना गरिरहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की बताउँछन्। उनले भने, ‘आवागमनका क्रममा दुर्व्यवहार गर्ने, होटल तथा रेष्टुरेन्टले खाना उपलब्ध नगराउनेजस्ता अत्यन्तै अमानवीय क्रियाकलापले मनोबल गिराउने काम भइरहेको छ।’

घरधनी लगायतका सरोकारवाला पक्षले यस आपतकालीन अवस्थामा मानवीय धर्म निर्वाह गर्न चिकित्सक संघले विज्ञप्तिमार्फत आग्रहसमेत गरेको थियो। स्वास्थ्यकर्मी तथा चिकित्सकलाई स्वास्थ्य संस्थाको नजिकै वैकल्पिक व्यवस्थापन गरी एकान्तवासमा बस्ने, खानपिनको उचित व्यवस्था गर्ने तथा प्रेरणाका लागि तालिम, सरकारले घोषणा गरेबमोजिमको भत्ता, सेवासुविधा अविलम्ब उपलब्ध गराउँदै महामारीसँग जुध्न सबैले आआफ्नो क्षेत्रबाट समन्वयात्मक र सहयोगात्मक भूमिका निर्वाह गर्नुपर्ने चिकित्सकको माग छ। स्वास्थ्य सेवा ऐनले व्यवस्था गरेबमोजिम स्वास्थ्य मन्त्रालयको नेतृत्वदायी भूमिका चिकित्सकबाटै हुनुपर्ने अध्यक्ष कार्कीको सुझाव छ।

अनुत्तरित अपिल

जेठ ५ मा नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी तथा चिकित्सकमा समेत यो संक्रमण देखिन सुरु गरेको जनाएका थिए। नेपाल नर्सिङ संघकी प्राध्यापक मनकुमारी राईले पनि प्रेस विज्ञप्तिमार्फत संक्रमितको संख्या बढेसँगै अग्रपंक्तिमा रहेर सेवा दिने नर्सहरू नै संक्रमित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएकी थिइन्। विज्ञप्तिमा नर्सलाई पीपीई पर्याप्त मात्रामा व्यवस्था गर्न गराउन सम्बन्धित अस्पतालका व्यवस्थापक साथै सरकारलाई विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको थियो। ‘कुन अस्पतालको ध्यानाकर्षण भएको छ, विज्ञप्तिको भरमा ? ’, एक नर्सले व्यंग्य गरिन्।

दोषीमाथी कारबाही

प्रवक्ता डा. गौतम कोरोनाको नियन्त्रण एवं उपचारमा संलग्न स्वास्थ्यकर्मीले गरिरहेको योगदानको प्रसंशा गर्छन्। ‘लकडाउनको बेला घरमै परिवारसँग रमाउन सक्नुहुन्थ्यो। त्यसो नगरी घरपरिवार छोडेर काममा निरन्तर खटिनु भएको छ। विभिन्न ठाउँमा स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार र कुटिने खबरले साह्रै दुःखी तुल्याएको छ’, उनले भने। संक्रमण हुनुमा स्वास्थ्यकर्मीको कुनै पनि दोष नहुँदा पनि ढुंगा प्रहार हुनु घृणित कार्य भएको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उनले बताए। जटिल परिस्थितिमा अहोरात्र खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च राखिने उल्लेख गर्दै उनी दोषीलाई कारबाही गरिने बताउँछन्।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर