खेतीपातीको सिजनमै मलको हाहाकार

२०७७ असार ६ शनिबार ०९:१७:०० मा प्रकाशित

काठमाडौं । मानो रोपेर मुरी फलाउने सुरसारमा रहेका देशभरका किसानलाई फेरि मलको चिन्ताले सताएको छ । मनसुनको आगमनसँगै उत्साहित बनेका कृषक मलको अभावमा छटपटिन बाध्य भएका छन् । देशभरका कृषकको एउटै प्रश्न छ–सरकार मल नपाए कसरी खेती गर्नु ?

बर्सेनि धानबाली लगाउने क्रममा रासायनिक मलको चरम अभाव खेप्तै आएका किसान यस वर्ष पनि सोही समस्या खेप्न बाध्य भएका हुन् । हाल देशभरमा रासायनिक मलको हाहाकार भएको छ । मानो रोपेर मुरी फलाउन किसानलाई रासायनिक मलको आवश्यता पर्छ तर सोचेअनुसार मल नपाउँदा उनीहरूको मुरी फलाउने सपनामा तुषारापात हुने भएपछि कृषकहरू चिन्तित देखिएका छन् ।

मनसुनको सुरुवातीसँगै किसानहरू मलबिना नै धान रोपाइँ गर्न बाध्य भएका छन् । तराईदेखि पहाडका किसानले मल नपाएको गुनासो गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बर्खेबालीका लागि मात्र युरिया र डीएपी करिब ७० हजार मेट्रिक टन आवश्यक पर्छ । हाल कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीसँग युरिया र डस्एपी मल गरी १८ हजार मेट्रिक टन मात्र मौज्दात छ । कृषि सामग्री कम्पनीसँग युरिया ३ हजार मेट्रिक टन र डीएपी ५ हजार मेट्रिक टन रहेको छ भने साल्ट ट्रेडिङसँग ३ हजार मेट्रिक टन युरिया र ७ हजार मेट्रिक टन डीएपी छ ।

मन्त्रालयका एक अधिकारीले यस वर्ष गत वर्षमा भन्दा मलको माग अत्यधिक बढी देखिएकाले समस्या भएको बताए । उनले गत वर्ष माग भएअनुसारको मल यस वर्ष हालसम्म बिक्री भइसकेको जानकारी दिए । उनले युरिया र डीएपी गरी करिब ३ लाख ५० हजार मेट्रिक टन भन्दा बढी बिक्री भइसकेको बताए ।

कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले हाल समस्या भए पनि अबको दुई तीन दिनमै मलको समस्या समाधान हुने दाबी गरे । लकडाउनका कारण किसानलाई मलको अभाव भएको उनले बताए । लकडाउनका कारण १ महिना १५ दिन सम्म कोलकाता बन्दरगाहमा मल रोकिँदा समस्या भएको सचिव भारीले जानकारी दिए । उनले कोलकतामा रोकिएको ५० हजार मेट्रिक टन मल वीरगन्ज आइसकेको हुँदा अब छिटै मलको समस्या समाधान हुने जनाए । सचिव भारीका अनुसार २५ हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी मल छिटै आउनेछ ।

मुख्य धान बाली लगाउने समयमा किसानलाई आवश्यक मल आपूर्ति नगरेर कोरोनाको बहाना बनाउनु सरकारी निकायको नालायकीपन भएको नेपाल कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीले बताए । उनले किसानलाई समयमा मल उपलब्ध नगराएर सरकारले किसानलाई धोक दिइरहेको आरोप लगाए । सरकारले कृषिलाई प्राथमिकता राखिएको बताए पनि व्यवहारमा भने त्यसलाई लागु गर्न नसकेको कृषि विज्ञहरूको भनाइ छ ।

नेपाल कृषक समुह महासंघका अध्यक्ष नवराज बस्नेतले अहिले देशभरका किसानलाई मलको चरम अभाव भए पनि सरकारले समयमा नै उपलब्ध नगराएर गम्भीर गल्ती गरेको बताए ।
(राजधानी दैनिकबाट)

ताजा खबर