चलचित्र विकास बोर्डको राष्ट्रिय पुरस्कार रोकियो

२०७७ असार ६ शनिबार ०९:०७:०० मा प्रकाशित

काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो वार्षिक उत्सवको अवसरमा प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कारलाई यो वर्ष स्थगित गरेको छ । बोर्डले वर्षभरि प्रदर्शनीमा आएका चलचित्रबाट विभिन्न आठ विधामा उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गर्दै आएको थियो । बोर्डको वार्षिकोत्सवको अवसर पारेर १६ असारमा प्रदान गरिने यो पुरस्कार यसपटक कोरोनालाई कारण देखाउँदै स्थगित गरिएको हो ।

चलचित्र विकास बोर्ड २०५७ साल १६ असारमा स्थापना भएको हो । बोर्डले १६ असारलाई आफ्नो वार्षिकोत्सवको रूपमा मनाउँदै आएको छ । बोर्डले यही असार १६ गते आफ्नो २०औं वार्षिकोत्सव मनाउँदै छ । विगतमा वार्षिकोत्वसको अवसर पारेर वर्षभरिका उत्कृष्ट चलचित्रसहित विभिन्न आठ विधामा राष्ट्रपति निवासमा पुरस्कार कार्यक्रम गरी राष्ट्रपतिको हातबाट चलचित्रकर्मीलाई बोर्डले पुरस्कृत गर्दै आएको छ ।

चलचित्र क्षेत्रकै ठूलो राशि भएको दीर्घ साधना सम्मान पनि बोर्डले प्रदान गर्दै आएको थियो । तर, यसपटक कोरोना संक्रमणको कारण देखाउँदै बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार स्थगित गरेको छ । चलचित्र विकास बोर्डको अध्यक्षमा हालै दयाराम दाहाल नियुक्त भएका छन् । यही असारमा पुरस्कार समारोह आयोजना गर्न अहिले कुनै पनि तयारी नगरिएको र कोरोना संक्रमणका कारण सामाजिक दूरी कामय गर्नुपर्ने भएकाले अहिले पुरस्कार गर्न नसकिने बोर्ड अध्यक्ष दाहालले बताएका छन् ।

सरकारले मुलुकमा कोरोना संक्रमण महामारीको रूपमा फैलिएका कारण केही महिना कुनै प्रकारका कार्यक्रम नगर्न सरकारी निकायहरूलाई पत्रचार गरेको छ । सोही कारण २०७६ सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यस वर्षका लागि स्थगित भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् । यसपटक बोर्डको वार्षिकोत्सवको अवसरमा कुनै कार्यक्रम नगरिने पनि दाहालले बताएका छन् । अहिलेको अवस्थामा सामाजिक दूरी अपरिहार्य भएकाले सिनेकर्मीलाई जमघट गरेर कार्यक्रम गर्न नहुने उनको कथन छ ।

यसपालिको राष्ट्रिय चलचित्र पुरस्कार अर्को वर्ष प्रदान गरिने दाहालको भनाइ छ । यो वर्ष र आगामी वर्षको पुरस्कार आगामी वार्षिकोत्सवमा प्रदान गरिनेछ । गत वर्षको वार्षिकोत्सवमा पनि तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार एकसाथ प्रदान गरिएको उनले जानकारी गराएका छन् ।

आफू बोर्ड अध्यक्षमा नियुक्त भएपछि दाहालले यतिबेला चलचित्रसम्बन्धी विभिन्न संघसंस्थाका पदाधिकारीहरूसँग नेपाली चलचित्र उद्योगलाई अब कसरी अघि बढाउने भन्नेबारे छलफल चलाइरहेका छन् । अहिले सबै संघसंस्थाका प्रतिनिधिहरूसँग भेटेर उनीहरूको समास्यालाई सुन्ने र त्यसलाई नोट गर्ने काम भइरहेको पनि उनले बताए । ‘सबैसँग समस्या सुनेर एउटा प्रतिवेदन हामी तयार गर्नेछौं । सोही प्रतिवेदनका आधारमा अब नेपाली चलचित्र उद्योगलाई कहिलेबाट खुला गरेर कसरी अघि बढाउने भन्नेबारे हामी घोषणा गर्नेछौं,’ भन्दै अध्यक्ष दाहालले आफूहरूले समस्यामा रहेका चलचित्रकर्मीका लागि चाँडै सहयोग प्याकेज ल्याउने पनि बताएका छन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर