प्रहरीले लियो सुशान्तकी प्रेमिकाको बयान

२०७७ असार ६ शनिबार ०९:००:०० मा प्रकाशित

मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणमा प्रहरीले बिहीबारसम्म १० जनाको बयान लिइसकेको छ । सुशान्तका भिनाजु र आफन्तले उनको आत्महत्यामा अरूको हात भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सो उजुरीको आधार र महाराष्ट्रका गृहमन्त्रीको निर्देशनमा प्रहरीले सुशान्तसँग नाजिक भएकाहरूको बयान लिएको हो ।

यसैक्रममा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसँग पनि मुम्बई प्रहरीले बिहीबार बयान लिएको छ । रियाले प्रहरीलाई दिएको बयानका कुरा बाहिर आएको छैन । सबैको बयान सकिएपछि सुशान्तले किन आत्महत्या गरे भनेर प्रतिवेदन सार्वजनिक गरिने मुम्बई प्रहरीले जनाएको छ ।

केही वर्षयता रिया र सुशान्त प्रेम सम्बन्धमा थिए । यी जोडी एउटा नयाँ फिल्ममा नायक नायिकाका रूपमा अनुबन्धितसमेत भएका थिए । लकडाउनका कारण फिल्मको छायांकन हुन सकेको थिएन ।

आफू र सुशान्त प्रेम सम्बन्धमा रहेको रियाले यसअघि बताइसकेकी छन् । तर, सुशान्तसँग उनको सम्बन्ध केही समययता घनिष्ट नभएको पनि समाचार आएको थियो । सुशान्तले आत्महत्या गरेयता रिया चक्रवर्ती निकै गम्भीर बनेकी छन् । सुशान्तको आत्महत्याबारे रियाले अहिलेसम्म मिडियामा कुनै पनि प्रतिक्रिया दिएकी छैनन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर