सागरहरूले फुटबलमा फर्कन अझै संघर्ष गर्नुपर्ने

२०७७ असार ६ शनिबार ०८:४१:०० मा प्रकाशित

‘हामीले गुमाएको ६ वर्ष कसले फिर्ता गर्छ ?’ यो नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापाले पोखेको अभिव्यक्ति हो । २०७२ साल असोज २७ गते सागरसहित रितेश थापा, सन्दीप राई र विकाससिंह क्षेत्री, पूर्वखेलाडी अञ्जन केसी तथा फिजियो थेरापिस्ट डेजिप थापा खेल मिलोमतोको आरोपमा पक्राउमा परेका थिए । सोही वर्षदेखि उनीहरूले आफूहरूलाई निर्दोष सावित गर्न लागिरहेकोमा मंगलबार सफाइ पाएका छन् । सफाइ पाएसँगै सागरले सो अभिव्यक्ति दिएका हुन् ।

खेल मिलोमतोको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका उनीहरूले सफाइ पाएका छन् । सर्वोच्च अदालतले उनीहरूविरुद्ध कुनै प्रमाण नपाएपछि उक्त अभियोगमा निर्दोष रहेको ठहर गरेको हो । यसअघि विशेष अदालतले २०७५ साल जेठ २४ गते उनीहरूलाई सफाइ दिएको थियो । यो निर्णयसँगै सागरले उनकै फेसबुकमा आफ्नो भावना यसरी पोखेका थिए– ‘सत्यको जित भयो सम्मानित सर्वोच्च अदालतबाट पनि न्याय पाइएकोमा आज समय, मेहनत, परिश्रमको मूल्यांकन कसले गरिदिने ? सरकारले एन्फाले ।’

उनीहरूले देशमा आफूलाई निर्दोष सावित गरेका छन् । तर सफाइ पाए पनि उनीहरूका लागि फुटबलमा फर्कने सम्भावना भने भएको छैन । २०७२ साल मंसिरमा एसियाली फुटबल महासंघ (एएफसी)ले उनीहरूमाथि अन्तर्राष्ट्रिय फुटबलबाट आजीवन प्रतिबन्ध लगाएको थियो । एएफसीकै पाइलाको अनुसरण गर्दै सोही वर्ष नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले पनि उनीहरूलाई प्रतिबन्ध लगाएको थियो । जतिबेला प्रतिबन्धित भए त्यतिबेला सागर थापा सफल कप्तान, रितेश थापा नेपालका नम्बर एक गोलरक्षक र सन्दीप राई उत्कृष्ट रक्षापंक्तिका खेलाडी थिए ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले खेल मिलोमतोलाई अपराधका रूपमै हेर्ने गर्छन् । यी निकायहरूले खेल मिलोमतोमा लागेकाहरूलाई सफाइ दिएको कुनै उदाहरण पनि छैन । यसैले पनि सागर थापा, सन्दीप राई, रितेश थापाका लागि फुटबलमा फर्कने वातावरण मिलेको छैन । उनीहरू खेलाडीका लागि न्याय गर्ने अदालत कोर्ट अफ आर्बिटेसन (कास)मा जान सकिनेछन् । तर यो निकै खर्चिलो हुने जनाइएको छ ।

उनीहरूका लागि फुटबलमा फर्कन अझै संघर्ष गर्नुपर्ने हुन्छ । यसको मतबल बल एन्फातर्फ गुडेको छ । त्यसैले उनीहरूलाई न्याय दिलाउन सक्ने भनेको एन्फा मात्रै हो । एन्फाले पहल गरेमा उनीहरूका लागि केही हुन सक्ने पूर्वकप्तान सागर थापाले बताएका छन् । उनले बताएका छन्– ‘६ वर्ष हामीलाई एन्फाले केही गरेन । अब हामीले सम्मानित अदालतबाट सफाइ पायौं । एन्फाले हाम्रा लागि केही गरिदिन्छ भन्ने आस छ ।’
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर