खेलकुदको बजेट संरचना निर्माणमा केन्द्रित

२०७७ असार ६ शनिबार ०८:०७:०० मा प्रकाशित

हेटौंडा : खेलकुद विकासको क्षेत्रमा बाग्मती प्रदेश सरकारले विनियोजन गरेको बजेट खेलकुदको भौतिक संरचना निर्माणमा केन्द्रित हुने भएको छ। यसअघि सरकाले खेलकुद क्षेत्रमा कम लगानी गरेको भनी आलोचना हुँदै आएको थियो। तर, कोरोना भाइरसको महामारीले मुलुक अप्ठ्यारो स्थितिमा रहँदा पनि आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले खेलकुद क्षेत्रका लागि उल्लेख्य बजेट विनियोजन गरेको छ।

खेलकुद क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा बाग्मती प्रदेश सरकारले ७९ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सरकारले बहुवर्षीय तथा क्रमागत योजनाहरूको निरन्तरता, खेल मैदान निर्माण, स्थानीय खेल प्रवद्र्धन र खेलाडीको क्षमता अभिवृद्धि कार्यक्रममा जोड दिएको छ।

खेलकुदलाई शिक्षापछिको संवेदनशील क्षेत्र मानिएको छ। महामारीका कारण खेलकुद प्रतियोगिता तथा अन्य काम गर्न समस्या आए पनि खेलकुदको बजेट विशेष गरी संरचना निर्माणमै केन्द्रित गरिने बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए।

सदस्यसचिव भण्डारीले भने, ‘प्रदेश संरचना नयाँ भएकाले खेलका संरचना बनाउनुपर्ने आवश्यकतालाई ध्यान दिइएको छ।’ कोरोना भाइरसको महामारीका कारण बजेट कार्यान्वयनमा आउन सक्ने चुनौतीबारे पनि आफूहरू सचेत रहेको उनले बताए। ‘वर्षभरिका लागि ल्याइएको बजेट हो। सुरुमा संरचना निर्माणमा लाग्छौं, दोस्रो चौमासिकपछि मात्रै प्रतियोगिता आयोजनामा ध्यान दिने योजना छ’, उनी भन्छन्।

यसैगरी चर्चित फुटबल खेलाडी रञ्जन विष्ट पनि सरकारले खेलकुद क्षेत्रका लागि राम्रो बजेट विनियोजन गरेको बताउँछन्। ‘खेलकुद क्षेत्रले राम्रो बजेट पाएको छ। परिवर्तन जरुरी पनि थियो’, उनी भन्छन्, ‘हिजोको पुस्ता खेलेर बाँच्न सकिन्न भन्थ्यो। आज खेलाडीलाई दुई छाक खान गाह्रो छैन। खेलेर बाँच्न सक्ने वातावरण भएको छ। प्रदेश सरकारले खेलकुदलाई छुट्ट्याएको सबै बजेट इमानदारीसाथ खेलकुद विकासमै खर्च भइदिए हुन्थ्यो।’

बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालका अनुसार प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याएको छ। ‘खेल क्षेत्रको स्पष्ट योजना, नीति निर्माणमा अग्रसरता तथा खेलकुद परिषद् र अन्य खेलकुद समितिहरू बनाउन पनि हामी अगाडि छौँ। त्यसैले संघ र अन्य प्रदेशको तुलनामा यहाँ खेल क्षेत्रमा बजेट राम्रो छ’, मन्त्री दुलाल भन्छन्।

सरकारले ल्याएको बजेटले खेलाडीको आधारभूत आवश्यकता पूरा गर्नेमा आफू आशावादी रहेको प्रदेशका चर्चित बक्सिङ खेलाडी अनन्त ओझा बताउँछन्। खेलाडीलाई चाहिने खेल सामग्री, खेल मैदान, खेलाडी छात्रवृत्ति, डाइट लगायतमा सरकारले ध्यान दिनुपर्ने उनको राय छ। ‘खेलकुदमा भविष्य नदेखेर अन्य क्षेत्रमा लागेकाहरू पनि अवस्था राम्रो भए पुनः खेलकुदमै फर्कन सक्छन्। सरकारले ल्याएको बजेट खेलाडीसम्म पुगे क्षमतावान् खेलाडी उत्पादन हुन सक्छन्’, ओझा भन्छन्।

प्रदेश सरकारले खेलकुद पूर्वाधारमा योजनाबद्ध र दिगो विकासका लागि कार्यक्रम सञ्चालन गर्ने भएको छ। हेटौंडाको गौरीटारमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद रंगशाला निर्माण गर्ने योजनालाई निरन्तरता दिइएको छ। निर्माणको क्रममा रहेका २७ वटा कभर्डहल आगमी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

यसैगरी स्थानीय तहमा ३२ वटा खेल मैदान निर्माण गरिने छ। स्थिति सहज भए चालू आर्थिक वर्षमा कोरोना महामारीका कारण स्थागित भएको प्रथम प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ। खेलाडीको व्यावसायिक जीवनको सुरक्षाका लागि प्रदेश सरकारले बिमा, भत्ताा, तालिम र क्षमता वृद्धिका कार्यक्रमसमेत तय गरेको छ।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर