कोरोना कहर : ‘डाक्टर भरोसा’ ! कि ‘भगवान भरोसा’ !

२०७७ असार ६ शनिबार ०७:२०:०० मा प्रकाशित

घुमाउरो पारामा सरकारले कोरोनाविरुद्धको लडाईमा आत्म सर्मपण गरिसकेको अबस्थामा आम जनताको स्वास्थ्य ‘डाक्टर भरोसा’ कि ‘भगवान भरोसा’मा टिकेको छ । क्वारेन्टिन वा आइसोलेसनमा बसेको १४ दिनसम्म कोरोनाको लक्षण देखिएन भने भारतबाट आएका समेतको पिसिआर परीक्षण नगराई घर पठाउने निर्णय भएपछि आम नेपाली जस्तै रोल्पाली पनि कि डाक्टर कि त भगवान भरोसामा बसेका छन् ।

आइसोलेसनमा बस्नेहरु डाक्टर भरोसामा छन् भने क्वारेन्टिनमा बस्नेहरु भगवान भरोसामा छन् । अबदेखि आरडिटी परीक्षणका भरमा घरमा पुगेकाहरुले समुदायमा के गर्दै छन र उनिहरुले रोग सार्न सक्ने सम्भावना कत्तिको रहन्छ भन्नेमा अन्यौलता छ । छिमेकि जिल्ला दाङमा आरडिटीको भरमा घर पुगेकाको पिसिआर रिपोर्ट पोजेटिभ आएको सुनेपछि रोल्पालीहरु झनै आतंकित बनेका हुन ।  

जिल्ला स्तरमा संचालनमा आएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’मा राखिएका ४० मध्य केहि संक्रमितहरु अबको ५ दिनमा पुनः परीक्षण बिना घर पठाइने छन् । त्यसो त भारतबाट आएका धेरै रोल्पालीहरु आरडिटीका परीक्षणका भरमा घर पुगिसकेका छन् । परीक्षण नगरेरै घर पठाइएपछि उनिहरुलाई गरिने पारिवारीक अनि सामाजिक बहिस्कार र अबहेलनाको बारेमा कोहि कसैले चासो दिएको छैन ।  

अहिले पनि जिल्लामा रहेका क्वारेन्टिनहरु र ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ वरपर मानिसहरुको आवत जावत रुकेको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सुरक्षाकर्मी बाहेक अरु कसैले त्यता तिर हेर्न पनि चाहदैन । क्वारेन्टिनमा बसेका वा आईसोलेशनमा बसेका संक्रमितलाई नेपाल सरकारको निर्देशिका बमोजिम १४ दिनपछि परीक्षण बिनै घर पठाउदा त्यसले पार्ने असरका बारेमा कहि कतै छलफल समेत भएको छैन् ।  

सरकारका अनुसार नै जोखिममा रहेका भनिएका भारत र अन्य मुलुकबाट आएका नेपालीहरु हुन । तर राज्यले उनिहरुलाई भगवान भरोसामा छोडिदिने भएपछि आम नागरिक आतंकित हुनु स्वभाबिक देखिन्छ । सधै नकारात्मक खबर आएको भनेर गुनासो गर्ने राज्य संचालक यतिबेला फेरी पनि चुकेका छन् । सबै जिम्मा स्थानीय तहलाई छोडेको केन्द्र र प्रदेश सरकारले कम्तीमा पनि पिसिआर परीक्षण गर्नुपर्ने हो ।  

नागरिक अगुवाहरु भारतबाट आएकाहरुलाई परीक्षण बिना घर पठाउदा सामाजिक दुरी बढ्न सक्ने बताउँछन् । नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने भन्छन् ‘परीक्षण बिना घर पठाउदा संक्रमणको खतरा संगै बिभेद पुर्ण ब्यवहार बढ्ने देखिन्छ । समाजमा सामाजिक द्धन्द्धको खतरा समेत रहन्छ ।’ उनि जस्तै जलजला बहुमुखी क्याम्पसका उपप्राध्यापक गोकर्ण पुन भन्छन् ‘परीक्षण बिना घर पठाउदा समुदाय जोखिममा रहन्छ, त्यो बाहेक हेला घृणाको सम्भावना रहन्छ । यो बिषयमा गाउँमा मिश्रीत प्रतिकृया आउला त्यो भन्दा ठूलो समस्या समुदायमा पुगेपछि कसैमा संक्रमण देखियो भने समाज भयबित बन्ने छ ।’    

प्रदेश सांसद दिपेन्द्रकुमार पुन पनि परीक्षण बिनै संक्रमितलाई घर पठाउदा समुदायमा मात्र नभएर घरमै पनि छोईछिटो हुने सम्भाबना रहने बताउछन् । उनि भन्छन् ‘अब सावधानीको पाटो अपनाउदै स्वभाबिक बनाउने तिर जानुपर्छ ।’ एउटा पनि पिसिआर परीक्षण गर्ने सुबिधा नपाएको सुनछहरी गाउँपालिकाका प्रमुख आशबहादुर पुन क्वारेन्टिन बसेकालाई आरडिटि परीक्षणपछि घर पठाउने सोचमा छन् । ‘निर्देशिका बमोजिम गर्नै पर्‍यो । लक्षण नदेखिएकाहरुको समुदायमा अलि अलि नकारात्मक असर त होला ।’  

उता रुन्टीगढी गाउँपालिकाले भने सबैको परीक्षण गर्ने बताएको छ । ‘जसले जे भने पनि भारत र बिदेशबाट आउने सबैको परीक्षण गर्छाै । सबैको आरडिटि गरियो । पिसिआरका लागि स्वाब पनि पठाएको छु ।’ रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले भने ‘नयाँ आउने अरुको समेत कुरेर भए पनि परीक्षण गर्छौ । २०/२२ दिन भयो क्वारेन्टिनमा बसेकाहरु रिपोर्ट कुरेर बसेका छन् ।’
(नागरिक न्युजबाट)

ताजा खबर