किसानलाई रोपाइँको चटारो

२०७७ असार ५ शुक्रबार ०८:४५:०० मा प्रकाशित

धनगढी। जुन १२ मा नेपाल प्रवेश गरेको मनसुनले अझै साथ नदिए पनि कैलालीका किसान रोपाइँमा व्यस्त भएका छन् ।
खोलानालाको पानी डो¥याएर तथा भूमिगत पानीले सिँचाइ गरेर किसानले धमाधम रोपाइँ थालेका छन् । सिँचाइ सुविधा नभएको क्षेत्रमा किसानले प्रायः आकाशे पानी वा बोरिङको भरमा खेतीपाती गर्दै आएका छन् ।

पानी नपरे पनि बोरिङबाट पानी तानेर खेत सिँचाइ गरी रोपाइँ गरिरहेको कैलारी गाउँपालिका–७ का कृषक रामनाथ चौधरीले बताउनुभयो । “कुलो सिँचाइ छैन, हामी प्रायः बोरिङ र आकाशे पानीकै भरमा खेती गर्छौं,” उहाँले भन्नुभयो ।

बोरिङकै पानीको भरमा दुई बिघा जमिनमा रोपाइँ सकिएको अर्का कृषक फूलराज चौधरीले बताउनुभयो । अब चार बिघा जमिन रोपाइँ गर्न बाँकी छ, उहाँले भन्नुभयो, “आकाशको पानीले साथ दियो भने असार १५ भित्र रोपाइँको काम सकिन्छ । ” कैलालीमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिका–१६ स्थित भादा गाउँमा रोपाइँ भएको छ । सो गाउँका कतिपय किसानले रोपाइँको काम सम्पन्न गर्न लागेको बताइएको छ ।

बन्दाबन्दीका कारण धेरै समय घरमै बसेका किसान अब भने खेती किसानीमा व्यस्त भएका छन् । यसवर्ष आवश्यक मल पनि नपाएकाले मलबिनै रोपाइँ थालेको किसानको भनाइ छ । मलका लागि धेरै दौडधूप ग¥यौँ, कृषक जीवन चौधरीले भन्नुभयो, “तर रासायनिक मल पाइएन । ”
कैलालीमा ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जानकारी दिएको छ । अझै पर्याप्त वर्षा नभए पनि धेरै किसान खेतीपातीको कार्यमा सक्रिय भइसकेको केन्द्रका सूचना अधिकारी रामचन्द्र भट्टले बताउनुभयो ।  
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर