ट्रम्पद्वारा चुनाव जित्न चीनसँग मद्दत मागेको खुलासा

२०७७ असार ५ शुक्रबार ०८:०३:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा हुन गइरहेको राष्ट्रपति चुनावमा जित्नका लागि चीनका राष्ट्रपति सी जिनपिंगसँग मद्दत मागेको खुलासा भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पका पुर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बाल्टनले आफनो किताबमा ट्रम्प र चीनको सम्बन्धलाई लिएर उक्त दावी गरेको बताइएको छ । उनले किताबमा राष्ट्रपति चुनावमा जित्न चीनका राष्ट्रपति सी जिनपिंगसँग मद्दत मागेको भनेका छन् ।

हाल प्रकाशित हुन बाँकी उक्त पुस्तकको केही अंश द वाल स्ट्रिट जर्नल, द वासिङ्टन पोस्ट र द न्युयोर्क टाइम्सले छोपेको हो । गत बर्ष जुनमा जापानको ओसाकामा आयोजित जी २० शिखर सम्मेलनका क्रममा ट्रम्पले सीसँगको भेटमा अमेरिकी राष्ट्रपति चुनावका बारेमा कुरा उठाएको प्रसंग बाल्टनले दावी गरेको छ । ट्रम्पले चीनको आर्थिक क्षमता यसतो छ कि त्यसले अमेरिकी राष्ट्रपति चुनाव प्रचार अभियानमा असर पार्न सक्छ, भनेका थिए । ट्रम्पले सीसँग आफुलाई जिताउन अपिल गरेको पनि बोल्टनले लेखेका छन् ।

ट्रम्पले अमेरिकाका किसानको महत्वमा जोड दिएको र कसरी चीनले भटमास र गहँु खरिद गरी अमेरिकाको राष्ट्रपति चुनावमा असर पार्न सक्छ भन्ने विषयमा बताएको बोल्टनले उल्लेख गरेका छन् । ट्रम्पले चीनसँगको ब्यापार युद्ध अन्त्य गर्न र पश्चिम चीनमा उइगुर मुस्लिमका लागि कन्सन्ट्रेसन क्याम्प बनाउन समेत भनेको बोल्टनले दावी गरेका छन् ।

तर बुधबार मात्रै अमेरिकाले उइगुर मुस्लिम विरुद्ध चीनमा भइरहेको कारवाहीलाई लिएर चीनलाई सजायँ दिने विधेयक पारीत गरेको छ । यस अन्तरगत उइगुर मुस्लिमहरुमाथि निगरानी राख्ने र उनीहरुलाई डिटेन्सन सेन्टरमा हाल्ने अधिकारीहरुमाथि प्रतिबन्ध लगाइने छ । यस मुद्दामा चीन विरुद्ध कुनै देशले उठाएको यो सबैभन्दा कडा कदम मानिएको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर