कावासोतीमा वैकल्पिक रंगशालाको डिपिआर बनाइँदै

२०७७ असार ५ शुक्रबार ०७:२९:०० मा प्रकाशित

नवलपुरमा गण्डकी प्रदेशको वैकल्पिक रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ । नवलपुरको कावासोतीमा ट्य्राक एन्ड फिल्डसहितको भौतिक पूर्वाधारयुक्त स्पोर्ट्स कम्प्लेक्स निर्माण गरिनेछ । त्यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को अन्तिम चरणमा छ । वैकल्पिक रंगशाला निर्माणपछि ट्य्राक एन्ड फिल्डका प्रतियोगिता आयोजना गर्न सहज हुनेछ । गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तराष्ट्रिय मापदण्डअनुसारको फुटबल मैदान तथा ट्य्राक निर्माण गरिएको छ । अन्य भौतिक पूर्वाधारसमेत तयारी छ । अन्य जिल्लामा पूर्वाधार नहुँदा राष्ट्रियस्तरका प्रतियोगिता पोखराबाट प्रदेशकै अन्य सहरमा आयोजना गर्न सकिएको छैन ।  

‘गण्डकी प्रदेशको वैकल्पिक रंगशालाको रूपमा विकास गर्ने योजनासहित आवश्यक पूर्वाधारका लागि डिपिआरको तयारी अन्तिममा छ’ नवलपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले भने, ‘डिपिआरको फाइनल भएपछि बजेटको इस्टिमेट आउँछ । त्यसपछि काम सुरु हुन्छ ।’ वैकल्पिक रंगशालाका रूपमा विकास गर्ने योजनासहित नवलपुरमा २० बिघा (२६० रोपनी) क्षेत्रफल छुट्ट्याइएको छ ।  

एक निर्वाचन क्षेत्र एक खेलमैदान सरकारको योजना छ । त्यसैअनुसार युवा तथा खेलकुद मन्त्रालयले ४० लाख रूपैयाँ कावासोती नगरपालिकामा पठाइसकेको उनको भनाइ थियो । स्थानीय नवलपुरका संघीय सांसद तिलक महतको पहलमा सार्वजनिक जग्गामा सरकारी कार्यालयसहित खेलकुदको पूर्वाधार बनाउन जग्गा छुट्ट्याइएको कार्यालय प्रमुख श्रेष्ठले सुनाए । ‘१ सय ७० बिघा जमिन छ । सरकारी कार्यालय बनाइने छ । त्यसको अर्को भागमा २० बिघा क्षेत्रफलमा स्पोटर््स कम्प्लेक्स बनाउनेछौं,’ उनले भने ।  

नवलपुर रंगशालाका रूपमा योजना अघि सारिए पनि भविष्यमा यो क्षेत्रीय रंगशाला हुने विश्वास गरिएको छ । ‘फुटबल मैदानसहित क्रिकेट, कभर्ड हल, भलिबल कोर्टलगायत अन्य खेलका पूर्वाधार तयार गरिनेछ’ उनले भने,‘मन्त्रालयबाट आएको ४० लाख फुटबल मैदानका लागि जमिन सम्याई आकार दिने काममा खर्च गरिनेछ ।’ पोखरा रंगशालाको ४ सय १५ रोपनी क्षेत्रफल छ । जुन नेपालकै ठूलो क्षेत्रफल भएको रंगशाला पनि हो । रंगशालामा फुटबलसहित क्रिकेट, टेनिस, आर्चरी, ह्यान्डबल, बास्केटल, भलिबल, स्क्वास, वैकल्पिक फुटबल मैदान, ब्याडमिन्टन हल लगायतका पूर्वाधार छन् । गल्फका लागि पनि ३ होलको ग्रिन तयार गर्ने योजना छ ।  

कभर्ड हल निर्माणकै चरणमा छ । हलको छाना छाउने तयारीमा रहेको कार्यालय प्रमुख श्रेष्ठले सुनाए । कावासोती नगरपालिका– ३ मा निर्माण हुने रंगशालालाई राष्ट्रिय खेलकुदबाट बजेट भने प्राप्त भइसकेको छैन । गण्डकी प्रदेश सरकार एवं संघीय सरकारको बजेटबाटै निर्माण गर्ने योजना छ । नवलपुरमै अन्य विभिन्न ठाउँमा कभर्ड हल निर्माणाधीन अवस्थामा छन् । एक निर्वाचन क्षेत्र एक खेल मैदानअनुसार कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित ढिकुरपोखरी फुटबल मैदानका लागि मन्त्रालयले ५० लाख दिएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा पनि मन्त्रालयको बजेटबाटै कभर्ड निर्माण सुरु गरिएको छ ।  
(नागरिक न्युजबाट)

ताजा खबर