कोसी करिडोरको काम अघि बढाउन स्थानीय सरकार कस्सिए

२०७७ असार ५ शुक्रबार ०७:२५:०० मा प्रकाशित

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को कारण देखाउँदै रोकिएको कोसी करिडोरको काम अघि बढाउनका लागि उदयपुरका तीन स्थानीय तहले लगानी गर्ने भएका छन् । कोसी करिडोरकारुपमा चिनिने घुर्मी–चतरा (१६७ किलोमिटर) सडकको काम अघि बढाउनका लागि कटारी नगरपालिका, लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकाले नयाँ आर्थिक वर्ष संयुक्तरुपमा चार करोड रकम विनियोजन गर्ने निर्णय गरेका हुन् ।

बुधबार कटारीमा भएको सर्वदलीय बैठकमा तीन स्थानी तहले उदयपुरको घुर्मीबाट सुरु हुने र सुनसरीको चतरा पुग्ने सडकको घुर्मीबजारदेखि लिम्चुङबुङ गाउँपालिकाको कुनाहीघाटसम्मको सडक निर्माणमा सहकार्य गर्ने निर्णय गरेको हो । विशेषगरी तराई र काठ्माण्डौंलाई जोड्ने छोटो दुरीको बाटो खुल्ने भएकाले र स्थानीय स्तरमा उत्पादित उपजलाई सहज तरिकाले बजारमा पुर्‍याउने वातावरण बन्ने भएकाले कोमामा पुगेको कोसी करिडोरको सडक खण्डलाई प्राण भर्ने निर्णय गरिएको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर किरातीले बताए । नेकपाका जिल्ला अध्यक्ष बिनोद कट्वाल दिवसको अध्यक्षतामा बसेको बैठकले तीन स्थानीय तह कोसी करिडोर लगाउने निष्कर्षमा पुगेको हो ।  

घुर्मी–चतरा को करिब ६० किलोमिटर सडकको ट्रयाक खोल्नका लागि २०६७ सालमा ठेक्का आव्हान गरिएको थियो । ठेक्का सम्झौता अनुशार विभिन्न २० वटा निर्माण कम्पनीले विभिन्न ठाउँबाट ट्रयाक खोल्न सुरु गर्दा साविकको जिल्ला वन कार्यालय उदयपुरले ईआईए नगरी काम सुरु गरिएको भन्दै कोसी करिडोरको काम रोकेको थियो । उसबेला वन कार्यालयले भने अनुशार काम रोकेर ईआईए त गरिए, तर पुरानै बजेटमा काम गर्न नसक्ने भन्दै निर्माण कम्पनी पन्छिएपछि कोसी करिडोरको काम हालसम्म ओझेलमा परेको छ । 

दशक अघि घुर्मीबाट सुनकोसी किनारैकिनार खनिएको सडकको केही खण्ड ओखलढुंगाको हर्कपुर क्षेत्रबाट अहिले पनि देख्न सकिन्छ । त्यी सडकका कतिपय खण्ड पुरिएका, कतिपय भत्किएका र झाडीले ढाकिएका देखिन्छन् । यद्यपी, सो सडक घुर्मीबाट चतरा पुग्ने छोटो बाटो भएको विषयमा भने प्रायः स्थानीय जानकार देखिन्छन् ।  

कोसी करिडोरले ओखलढुंगा, खोटाङ र सोलुखम्बुबाट प्रदेश राजधानी पुग्ने छोटो दुरीको सडक खुलाउने छ । यस बाहेक उदयपुरको आठ स्थानीयतमध्ये बेलका नगरपालिका, चौदण्डी नगरपालिका, कटारी नगरपालिका, रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाँउपालिका लगायतका सात स्थानीय तहका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने छन् । यस कारण ईआईएको निहुबाट सरकारकै बेवास्तामा परेको सडकको केही खण्ड पुरा गर्न उदयपुरका स्थानीय सरकार सहकारी गर्ने निर्णयमा पुगेका हुन् । कोसी करिडोरले धनकुटा, भोजपुर, सुनसरी तथा काठमाडौंबीचको दुरी छोट्याउने अध्यक्ष किरातीले दावी गरे । घुर्मी–चतरा सडकले खोटाङको त्रि–धार्मिकस्थल हलेसी आउने पर्यटकलाई समेत फाइदा पुग्ने छ ।  

उदयपुरका तीन स्थानीय तहको सहकार्यमा कुनाहीसम्म सडक निर्माण भए कुनाहीबाट नजिकैको फोक्सिङटारसम्म सडक बनिसकेको छ । त्यसपछि बाँकी खण्डमा स्थानीय सरकारले आफै सडक निर्माण गर्ने वाताबरण बन्ने गाउँपालिका अध्यक्ष किरातीले बताए । ‘संघीय सरकारले अलपत्र पारेर कोमामा पुर्‍याएको योजनामा स्थानीय सरकारले प्राण भर्ने निर्णय गरेको छ । यसले हाम्रो पहाडी क्षेत्रमा कायपलट गर्छ,’ अध्यक्ष किरातीले भने, ‘जनता जोडिएको योजनालाई प्रभावित पार्नहुन्न । यसमा संघीय सरकार र प्रदेश सरकार चुकेको छ । योजना जगाउने काम स्थानीय सरकारले गरे पनि संघ र प्रदेश सरकारको प्राथमिकतामा बन्नु पर्छ ।’  

मधेश आन्दोलनकाबेला कोसी करिडोरलाई तराईको राजमार्गको बिकल्पकारुपमा समेत प्रचार गरिएको थियो । तर, राष्ट्रिय गौरवको आयोजनाकारुपमा अघि बढाइएको कोसी करिडोरको चर्चा मधेश आन्दोलन साम्य भएसँगै सेलाएन मात्र नेपाल सरकारले यसलाई चटक्क भुलेको थियो । 
(नागरिक न्युजबाट)

ताजा खबर