टासी पुनः मानार्थ अध्यक्ष

२०७७ असार ४ बिहीबार ०८:३७:०० मा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टासी घलेलाई पुनः मानार्थ अध्यक्षमा फर्काउने निर्णय गरेको छ । एन्फा कार्यसमितिको मंगलबार बसेको आपत्कालीन बैठकले पूर्वमानार्थ अध्यक्ष घलेको कारबाही प्रक्रियालाई थाती राख्दै घलेलाई सोही पदमा पुनः फर्काउने निर्णय गरेको हो ।

२२ वैशाख २०७५ मा कर्माछिरिङ शेर्पाको अध्यक्षतामा एन्फा कार्यसमिति निर्वाचित भएपछि घलेलाई सर्तअनुसार मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो । तर, घलेसँग आन्तरिक विवाद बढ्दै गएपछि एन्फाले २०७५ माघमा मानार्थ पद खारेज गर्दै टासीलाई पदमुक्त गरेको थियो । अवैधानिक भएको भन्दै घलेले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अदालतमा एन्फाविरुद्ध उजुरी दिएका थिए । अदालतले घलेलाई हटाउनुपर्ने कुनै कारण नभएको आदेश दिएको थियो ।

अदालतको आदेशपछि पनि लामो समयसम्म उनको विषयमा कुनै चासो नदिएपछि राखेपले यसैसाता एन्फालाई घलेलाई पुनः सोही पदमा फर्काउन निर्देशन दिएको थियो । सोहीअनुरूप नै एन्फाले उनलाई सोही पदमा पुनर्वहाली गरेको हो । यस्तै, बैठकले गौतम सुखजु नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघको कार्यसमिति विधानविपरीत रहेको भन्दै सो कार्यसमितिलाई भंग गर्दै लकडाउन पूर्ण रूपमा अन्त्य भएपश्चात् सुरु हुनेगरी ६ महिनाको कार्यदेश रहनेगरी किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय तदर्थ कमिटी गठन गरेको छ ।

यस विषयमा अनुसन्धान गर्न एन्फाको बैठकले लिग निर्देशक सञ्जीव मिश्र र कार्यसमिति सदस्य मधुसूदन उपाध्यायको नेतृत्वमा कमिटी गठन गरेको थियो । दुवै कमिटीको प्रतिवेदनका आधारमा एन्फा कार्यसमिति बैठकले भक्तपुर जिल्ला फुटबल संघलाई भंग गर्दै तदर्थ कमिटी गठन गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले रमेश रायमाझीलाई लिग कमिटीको कार्यकारी कोर्डिनेटरको रूपमा एन्फामा फर्काउँदै नेपाली राष्ट्रिय फुटबल टिमका ३५–३५ जना महिला र पुरुष खेलाडीहरूको कोरोना बिमा गरिएको छ ।

यस्तै, बैठकले एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आगमी अक्टोवरमा विश्वकप छनोटको दोस्रो चरणको बाँकी रहेको खेलहरू गर्ने योजना अघि सारेका कारण पुरुष राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण जुलाईबाट थाल्ने निर्णय गरेको छ । यसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप), स्वास्थ्य मन्त्रालय र खेलकुद मन्त्रालयको स्वीकृति लिने एन्फाले जनाएको छ ।

फिफाबाट राहतको निम्ति अनुदान प्राप्त भएपश्चात् राहत वितरण गरिने बैठकले निर्णय गरेको छ । कास्की जिल्ला फुटबल संघका अध्यक्षको विषयमा छानबिन गर्न गठित समितिका संयोजक तथा एन्फा सदस्य रत्नकुमार श्रेष्ठको व्यक्तिगत अस्वस्थताका कारण राजीनामा दिएका कारण सोही छानबिन समितिको संयोजकमा एन्फाका उपाध्यक्ष वीरबहादुर खड्कालाई मनोनयन गरिएको छ ।

कोरोनाले प्रभावित बनाएको खेलसँगै फुटबल गतिविधि पुनः सुरु गर्न राखेपसँग माग गरेको छ । अस्वस्थको कारण एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ बैठकमा अनुपस्थित रहेका थिए । सोमबार आपत्कालीन समितिको बैठक आह्वान गरिए पनि उपाध्यक्ष नेम्वाङको अनुपस्थिति रहेपछि लगत्तै एन्फाले कार्यसमितिको आपत्कालीन बैठक आह्वान गरेको थियो ।
(राजधानी दैनिकबाट)

ताजा खबर