उदयपुरमा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

२०७७ असार ४ बिहीबार ०८:२३:०० मा प्रकाशित

उदयपुर । उदयपुरमा बिहिबार मात्र ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतको दिल्लीबाट आएर त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा क्वारेन्टिनमा बस्दै आएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्रियुगा नगरपालिका– ४ बगाहाका १ महिलासहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रियुगा नगरपालिका स्वास्थ्य शाखा उप संयोजक अबधनारायण चौधरीले बताए । संक्रमित उनीहरु २८ वर्षीया महिला, ३६, ४६, ४८ वर्षीय पुरुषहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए । केही दिन अघि मात्र भारतको दिल्लीबाट उनीहरु उदयपुर आएका थिए ।

उदयपुरमा कोरोना भाईरस (कोभिड –१९) नियन्त्रणोन्मुख देखिएको अबस्थामा पुन कोरोना देखिन थालेको छ । एक साता अघि २ महिलासहित उदयपुरमा १० जना कोरोना संक्रमित भेटिएको थियो । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के बाहेकका ठाउँमा संक्रमितहरु देखिने क्रम जारी छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार भारतबाट आएर क्वारेन्टिनमा राखिएका बेलका नगरपालिका–९ का २ तथा बेलका नगरपालिका–३ का १ गरी ३ जनामा संक्रमण पुष्टि भएका हुन् । संक्रमित यवाहरु ३६, २२ र ३२ वर्षका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी बेलका नगरपालिका– ३ कै सप्तकोशी किनारा एबिसी टप्पुमा २ (दम्पति) र चौदण्डीगढी नगरपालिका– ५ शिवाईका १ पुरुष संक्रमित भेटिएका थिए । उनीहरु पनि भारतकै मेघालय (कोईला खानी) बाट फर्केको बताइएको छ । नगर प्रमुख दुर्गाकुमार थापाले ९ नं. का संक्रमितहरु भारतको दिल्लीबाट नेपाल भारत सीमास्थल सिराहाको लौकही ठाडी भएर नगरपालिका भित्रिएको बताए । १० जनाको टोली ठाडी आईपुगेको जानकारी पाएपछि उनीहरुलाई नगरपालिकाले उद्धार गरि गत २२ गते ठाडी पुगेर उद्धार गरी क्वारेन्टाईनमा राखेको हो । त्यस्तै गौरीफन्टा नाका भएर आएका ३ नं. वडाका युवा सहित ८ जनालाई जेठ १९ गते उद्धार टोलीले नगरपालिका भित्याएको नगर प्रमुख थापाले बताए । यो सँगै बेलकामा संक्रमितको संख्या ५ पुगेको छ ।

क्वारेन्टिनमा रहेका मध्ये त्रियृुगा नगरपालिका– १० का दिदीभाइ र कटारी नगरपालिका– १ बेलसोत क्वारेन्टिनका १ जनामा संक्रमित पुष्टि भएका थिए भने उदयपुगढी गाउँपालिका– ५ का १ जनामा संक्रमण पाइएको थियो । कटारी नगरपालिका– १३ का संक्रमित पुष्टि भएका ३६ वर्षीय पुरुष पनि भारतबाटै आएको बताइएको छ ।

भारतबाट नेपाल भारत सीमा काकडभिट्टासम्म आएका उनीलगायतलाई नगरपालिकाले उद्धार गरी कटारी ल्याएर क्वारेन्टाइनमा राखेको थियो । पछिल्लो समय भारतबाट नेपाल भित्रिनेहरुमा कोरोना संक्रमण देखिने क्रम जारी रहेको छ । बैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएका त्रियुगा नगरपालिका– ३ भुल्के नुरी मस्जिद र आसपासका ८ महिला सहित ३२ मध्ये भारतका १२ र मोरङका ४ जमाति, सप्तरीका २ र बाँकी भुल्केका थिए । जेठ २ गते ताप्ली गाउँपालिका– ५ रुपाटार घर भई त्रियुगा नगरपालिका–११ गाईघाटमा भाडामा बस्दै आएका १ पत्रकारमा पाइएपछि भुल्केसँग ‘नेटवर्किङ’ जोडिएका नयाँ संक्रमित भेटिएका छैनन् । पछिल्लो पुष्टिसँगै उदयपुरमा संक्रमितको संख्या ४७ पुगेको छ । संक्रमितमध्ये ३३ जना निको भएर घर फर्किसकेका छन् भने १४ जना कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर