विपिसँग झुट बोल्दाको परिणाम

२०७७ असार ३ बुधबार १४:१६:०० मा प्रकाशित

उपचारका क्रममा म आराम गरेर विपि निवास सारनाथमा रहेका बखत एकदिन दिउँसो तुलसीजी (डा. तुलसीप्रसाद भट्टराई) आइपुग्नु भयो । उहाँ बनारस शहरभित्र सपरिवार बस्नु हुन्थ्यो र त्यहीँको एउटा महाविद्यालयमा अध्यापन गर्नुहुन्थ्यो, सायद प्राचार्य हुनुहुन्थ्यो त्यहाँको । तुलसीजी विपिले अत्यन्त विश्वास गरेका पात्रमध्ये एक हुनुहुन्थ्यो । नेपालका उच्चस्तरका विभिन्न व्यक्तिहरुसँग सम्पर्क गर्नुपर्दा विपिले प्रायशः तुलसीजीलाई नेपाल पठाउने गर्नुहुन्थ्यो सन्देश वाहकका रुपमा ।

तुलसीजी बनारसमा रहेका नेपाली विद्यार्थीमाझ धेरै लोकप्रिय हुनुहुन्थ्यो । त्यसताका बनारसमा सायदै यस्तो नेपाली विद्यार्थी थियो होला जसलाई कुनै न कुनै रुपमा तुलसीजीले सहयोग नगरेको होस् । उहाँ नेपालका विभिन्न गाउँ ठाउँबाट बनारस पढ्न पुगेकाहरुका लागि स्थानीय अभिभावक  हुनुहुन्थ्यो भन्दा फरक नपर्ला । उसो त तुलसीजी आफैं धेरै संघर्ष गरेर स्थापित हुनुभएको मानिस ।

सामान्य भलाकुसारी पश्चात विपिले तुलसीजीलाई सोध्नु भयो, ‘हिजो आज कत्तिको व्यस्त छौ ?’ उहाँले फुर्सदै रहेको बताउनु भयो । सायद, महाविद्यालयमा विदा रहेको भन्नुभयो ।

‘उसो भए,’ मतिर देखाउँदै विपिले भन्नु भयो, ‘यिनी पनि यहाँ छन्, दुई जना भएर यी मेरा पुस्तकहरुलाई अलिक व्यवस्थित गरेर राखिदेउन ।’ भुईंतलाको एउटा कोठामा पुस्तकहरुको स–सानो संग्रह थियो विपिको । भोलिपल्टबाटै हामी त्यो काममा जुट्यौं ।

बिहान ११ बजेतिर तुलसीजी आउनुहुन्थ्यो, प्रत्येक किताबलाई पुछपाछ गरेर तिनको विधागत सामान्य सूची बनाउँदै दराजमा मिलाएर राख्ने काम गर्दथ्र्यौंं दिनको तीन चार घण्टाका दरले । चार पाँच दिन लाग्यो होला त्यस काममा । त्यहाँ पुरानादेखि एकदम नयाँ पुस्तकहरु थिए अंग्रेजी, हिन्दी र नेपालीका । केही संस्कृत र बंगाली भाषाका पुस्तक पनि थिए ।

विपिलाई उहाँका मित्रहरुले युरोपतिरबाट पनि त्यहाँ प्रकाशित नयाँ पुस्तहरु पठाइदिने गर्दथे । भारतका त निकै लेखकहरु स्वयं आएर विपिलाई आफ्नो नयाँ कृति दिन्थे र तिनमा उहाँको टिप्पणीको अपेक्षा समेत गर्दथे । विपि पुस्तकहरुका बारेमा बडो आलोचक हुनुहुन्थ्यो अर्थात् पढेपछि तिनका बारेमा आफ्नो प्रस्ट धारणा राख्नुहुन्थ्यो । विपिले साँच्चै मन पराएका र प्रशंसा समेत गरेका पुस्तकहरुको सूची उति लामो थिएन कि जस्तो लाग्छ ।

विपिको ज्ञान देखेर म चकित पर्थें । एक पटक मैले उहाँलाई एकान्तमा भएका बखत सोधें, ‘सान्दाजु, तपाईंको जीवन कष्टहरुमा बितेको छ । सामान्य अवस्थामा पनि तपाईं धेरै व्यस्त रहनु भएको देखिन्छ विभिन्न जिम्मेवारीहरुमा । तपाईंलाई भेट्न यहाँ थरिथरिका मानिस आउँछन् । उनीहरुसँग तपाईंले गरेका कुराकानी सुन्छु । सबै तपाईंबाट प्रभावित भएर फिर्छन् । तपाईंमा यत्रो ज्ञानको विकास कसरी भयो ?’ उस बेला म फुच्चेलाई यस्ता प्रश्न गर्न अप्ठेरो लाग्दैन थियो ।

उहाँले उत्तरमा दुई तीन कुरा भन्नुभयो । त्यसमध्ये एउटा कुरा पठन पाठन सम्बन्धी थियो । उहाँले भने अनुसार, उहाँले कलेज पढ्दा छात्राबृत्ति पाउनुहुन्थ्यो । कलेज र छात्रावासको खर्च कटाएर केही पैसा बच्दथ्यो । भन्नुभयो, ‘त्यो बचेको पैसाले किताब किन्ने कि सिनेमा हेर्ने, रोज्न मलाई निकै गाह्रो हुन्थ्यो । त्यसैताका पेनगुइन र पेलिकन पब्लिकेसनहरु निस्कन थालेका थिए युरोपमा । तिनको पेपरब्याक इडिसन यहाँ हिन्दुस्तानमा निस्कन्थ्यो । ती सस्तै हुन्थे । त्यसैले मेरो रोजाइ अधिकतर पुस्तक किन्नमै हुन्थ्यो । यसरी मलाई पुस्तक पढ्ने बानी प¥यो । मैले मेरो समयका प्रशिद्ध लेखकहरुका प्रायः सबै कृति पढ्न पाएँ । त्यसले पनि मलाई कुनै पनि कुरालाई हेर्ने दृष्टिकोण बनाउनमा मदत ग¥यो ।’

उहाँसँग भेट्न आएका साहित्यकार लेखकहरुसँगको वार्तामा कहिलेकाहिँ विश्वप्रसिद्ध लेखक  साहित्यकारहरुका बारेमा विमर्श भएको सुन्ने अवसर मिल्थ्यो । उहाँका कुरा बडो आलोचनात्मक हुन्थे । उहाँले प्रस्तुत गरेका तर्क र दृष्टिकोणका प्रति कोही कसैले पनि असहमति जनाएको सुनिँदैन थियो । बरु कतिले भन्थे, ‘त्यस कोणबाट मैले यसलाई हेरेको रहेनछु...... ।’

राजनीतिक बिषयमा त उहाँको विश्लेषण सुन्न पश्चिमा मुलुकका नेताहरु समेत उत्सुक रहन्थे । प्रजातान्त्रिक समाजवादी आन्दोलनको त उहाँ विश्वस्तरको नेता नै हुनुहुन्थ्यो ।

बनारसमा एक महिना लामो मेला लाग्दछ । एकपटक म त्यो मेला लागेका बखत बनारस पुगेछु । त्यो मेलामा छुट मूल्यमा विश्व प्रशिद्ध किताबहरु बिक्रीमा थिए । मसँग अलिकति पैसा थियो । त्यसले मैले दुई चार पुस्तक किनेर ल्याएँ । त्यसमध्ये कार्ल माक्र्सको पूँजी एक थियो । त्यो पुस्तक उसै पनि धेरै मोटो । त्यसमा विपिको आँखा परिहाल्यो । उहाँले सोध्नुभयो, ‘किन ल्याएको त्यो ?’ त्यस प्रश्नको जस्तो स्वभाविक उत्तर हुन्छ, मैले पनि भनें, पढ्नलाई । उहाँले भन्नुभयो, तिमीले त्यसलाई बुझ्न सक्दैनौ । मैले सोधें, ‘त्यस्तो क्लिष्ट छ यो, सान्दाजु ?’

उहाँको उत्तर थियो, ‘नेपालमा यसलाई पढेर राम्ररी बुझ्ने एउटा हातको औंलामा गन्न पुग्छन् पुग्दैनन् ।’

उहाँको कुरा सुनेर उहाँकै बारेमा अंग्रेजी भाषाको राम्रो ज्ञान भएका त्यतैका एक सज्जनले भनेको सम्झिएँ, ‘विपि कोइरालाको स्तरको अंग्रेजी जान्ने मानिस नेपालमा एक हातको औंलामा गन्न पुग्छन् पुग्दैनन् ।’ हिजो आज जोसुकैले आफुूलाई माक्र्सवादी भनेको सुन्दा मलाई त्यही प्रसङ्गको सम्झना हुनेगर्छ ।

अँ, आज यहाँ चर्चा गर्न खोजेको सन्दर्भ अर्कै थियो । विपि निवासमा भान्सामा काम गर्ने सायद सुनसरीतिरका एक थारु युवक थिए । उनको नाम अहिले याद भएन, सजिलोका लागि विजय भनें । विजय पार्टीका कार्यकर्ता थिए र उनले आफैंंले म विपिको सेवा गर्छु भनेर उहाँको भान्साको जिम्मा लिएका थिए । उनलाई विपिले विशेष स्नेह गर्नुहुन्थ्यो भनेर त भन्नै परेन ।

एक दिन विजय सौदा गर्न शहरतिर गएका थिए । चार बजिसक्दा पनि उनी फिरेका थिएनन् । तुलसीजी र मलाई तीन बजेतिरै उनले चिया दिने गर्थे । चियाको निकै तलतल भएपछि तुलसीजी र मैले चिया आफैं पकाएर खाने सल्लाह गर्यौंं र भान्सामा गयौं । त्यहाँ ग्यास चुलो थियो । त्यस दिनसम्म मैले ग्यास चुलो चलाएको थिएन ।

तुलसीजी पानी ठीक गर्नतिर लाग्नु भयो । मैले चुलो बाल्नलाई त्यसको एकसरो निरीक्षण गरेपछि यसै होला भनेर ग्यास खोल्न चुलोको सानो हतौडो घुमाउन खोजें । अलिक भित्रतिर दबाएर घुमाउनुपथ्र्यो क्यार मैले त्यसै निकै बल लगाएँ कि क्या हो त्यो प्याट्ट दुई टुक्रा भयो । अब परेन फसाद ! त्यसलाई त्यहीँ टाँसे जसरी अल्झाएर हामी बाहिरियौं ।

एकछिनपछि विजय आइपुगे । उनलाई पनि पहिले हामीलाई चिया दिन्छु भन्ने लागेको थियो होला । लगत्तै बैठकमा आएर हामीलाई सोधे– चुलो कसले चलायो ? घरमा विपिवाहेक हामी दुई मात्रै थियौं । हामीले अनभिज्ञता प्रकट ग¥यौं । उनले विपिलाई पनि सोधे क्यारे, उहाँ पनि तल आउनु भयो, चुलोमा हेर्नुभयो र हामीलाई तिमीहरुले चलायौं भनेर सोध्नु भयो । हामी दुबैले थाहा नभएको बतायौं । त्यसपछि विजयलाई नै भन्नुभयो, अरु कसले गर्छ, तिमीले नै गर्यौ होला नि । उनले अलिक झर्केजसरी भने– मलाई चुलो चलाउन आउन्न कि क्या हो । उनको कुरा सुनेर विपि पनि झनक्क हुनुभयो र भन्नु भयो, चलाउँदा यस्तो भयो भने त भैहाल्यो नि किन बढ्ता कुरा गरेको ?

बिचरा उनी रुञ्चे मुख लगाएर बाहिर गए र त्यो हतौडो किनेर लिएर आए अनि चिया बनाएर हामीलाई दिए । तुलसीजी सधैं झैं आफ्नो डेरातिर लाग्नुभयो ।

बिचरा ती साथीले विपिले उनलाई भनेको कुरामा धेरै चित्त दुखाएछन् । बेलुका हामीलाई खाना खुवाएर उनी आफू त्यसै सुते । त्यो थाहा पाएर मलाई साह्रै ग्लानि भयो । आधा रातसम्म म पनि निदाउन सकिन ।

भोलिपल्ट, चिया खान बसेका बेला मैले विपिलाई भने, ‘सान्दाजु, मलाई एउटा कुरामा माफी माग्नु छ ।’

उहाँले छक्क पर्दै मतिर हेरेर भन्नु भयो, ‘के हो ? के भयो ?’

मैले भनें, ‘हिजो हामीले चिया पकाउन खोज्दा त्यो हतौडो टुट्यो । हामीले त्यो बिगार स्वीकार नगरेकाले विजयले खप्की खाए । बेलुका खाना पनि खाएनन्.....।’

अब त्यपछि विपि मसँग यसरी पड्किनु भयो कि भनिसाध्य छैन । तर आफ्नो दोष भएकाले मैले त्यसलाई सहजरुपमा लिएँ । विपिले तत्कालै विजयलाई बोलाएर यिनीहरुले गर्दा मैले तिमीलाई कराएँछु, चित्त नदुखाउनु भनेपछि मात्रै उनको अनुहार उज्यालो भयो । मैले पनि अपराधमुक्त भएको अनुभव गरें ! 

ताजा खबर