आत्महत्याको कारण र निराकरणको उपाय

२०७७ असार २ मंगलबार १०:०५:०० मा प्रकाशित

हालै भारतीय सिनेकर्मी सुशान्त सिंहले आत्महत्या गरे । यो भन्दा केही दिन अगाडि दक्षिण भारतीय अभिनेत्रीले त्यो भन्दा अगाडि...धेरै सिनेकर्मीहरुले कोही झुण्डिएर कोही हाम फालेर आत्महत्या गरेको समाचार बारम्बार आइरहेको छ ।

भारतमा मात्र हैन हाम्रै पनि सिनेकर्मी, पत्रकार, गायक, लेखक, डाक्टर, वकिल, न्यायाधीश लगायतले आत्महत्या गरेका कैयौं उदाहरणहरु हाम्रो सामु छ । प्रायः ती सबै नै आत्महत्याको निम्ति Depression नै जिम्मेवार तत्व हो । लगभग ८५ देखी ९० प्रतिशत आत्महत्याको घटनासँग Depression  जोडिएको हुन्छ । कुनै जन्मदै लिएर आएको र कुनै विभिन्न कारण र परिस्थितिले गर्दा सिर्जित उक्त रोगको कारण मानिसले आत्महत्या रोज्ने गर्दछ । झट्ट हेर्दा मर्नेको कमजोरी देख्दछौ । तर, होईन मर्नेले आफ्नो मृत्यु कुनै पनि हालतमा रोजेको होइन । हरेक मानिस बाँच्न चाहन्छ । तर, उसको बाँच्ने ईच्छालाई रोगको विवशताको कारण मर्ने ईच्छाले थिचिदिन्छ र यो सुनौलो संसारवाट नचाहँदा नचाहँदै पनि विदा हुन जान्छ । यसको मृत्युमा उ दोषी होइन तपाईं हामी र हाम्रो हेर्ने दृष्टिकोण दोषी हो । आत्महत्या गर्नुमा उसको कुनैपनि दोष छैन । 

हरेक मानिसमा मर्ने ईच्छा र बाँच्ने ईच्छा हुने गरेकोमा उसको बाँच्ने ईच्छालाई रोगको कारण त्यसो गर्न लगाएको मात्र हो जो उसको काबुमानै छैन । त्यसर्थ आत्महत्या गरेर जीवन समाप्त पार्ने मानिसलाई दोष दिन  मिल्दैन । त्यो परिस्थितिमा तपाईं म भएपनि त्यहीनै गर्ने थियौं र गर्नेछौं ।
   
विश्व स्वास्थ्य संगठनद्वारा केही समय अगाडि प्रकाशित एक तथ्याङ्कमा विश्वमा हरेक ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्ने गरेको र वार्षिक ७ लाख ५० हजार मानिसहरुले आफ्नो अमूल्य जीवन आत्महत्याको माध्यमद्वारा नष्ट गर्नेगरेको पाईएको छ । उक्त संख्यामा ५ लाख ५० हजार आत्महत्या बिकासोन्मुख राष्ट्रमा र बाँकी विकासशील राष्ट्रमा हुने गरेको पाईएको छ ।

 हालसम्मको अध्ययन र अनुसन्धानबाट आत्महत्या गर्नेहरुमा भौतिक सुखभन्दा मानसिक सुख प्राप्त गर्न नसक्नेहरुको संख्या अत्यधिक पाईएको छ । गरीब भनेर चिनिने मुलुकहरुमा भन्दा धनी र सम्पन्न पश्चिमी मुलुकहरुमा आत्महत्या गर्नेहरुको संख्या र सो तर्फ प्रवृत्ती भएका ब्यक्तिहरु अत्यधिक मात्रामा पाईने गरेको कुरा सो सम्वन्धी अनुसन्धानबाट प्राप्त तथ्याङ्कले पुष्टी गर्दछ ।

आत्महत्या विशेषगरी युवावर्गले वढी गर्नेगरेको पाईएतापनि सो को निम्ति उमेरको हदले कुनै छेकवार लगाउन सकेको पाइन्न । सहजै विश्वास गर्न नसकिने कलिला बालक देखि लिएर प्राकृतिक मृत्युको नजिक पुगिसकेका अती बृद्ध ब्यक्तिहरु समेतले आत्महत्या गर्ने गरेको प्रशस्तै उदाहरणहरु पाईने गर्दछन् । मिनिसोटामा एउटी ६ वर्षे बालिकाले मलाई माफ गर, मैले आत्महत्या गरेकोमा म दुःखी छु भनेर लेखेर डोरीमा झुडिएको, आफुहरु एक्लोपन, दुखः र गरीबीको कारणले मर्नलागेको भनी लेखी छोडी दक्षिण कोरियाका ८ वर्षिया जुम्ल्याहा बालिकारुले १०० वटा भन्दा वढी एस्प्रिनका चक्कीहरु खाई आत्महत्या गरेको, आमाले भिडियो खेल खेलेकोमा सजाय दिएको झोकमा एउटा ९ वर्षे ताइवानी बालकले झुण्डेर आत्महत्या गरेको, रुपैयाँ हराएको कारणवाट आमाले गाली गरेको हुनाले कक्षा ४ मा पढदै गरेकी एक १० वर्षिया बालिकाले मस्र्यांङ्दीमा हामफाली आत्महत्या गरेको, एउटा ७५ वर्षे अन्धो मानिसले रुखमा झुन्डिएर आत्महत्या गरेको लगायत माथिका उदाहरणहरु जस्तै अनेकौ घटनाहरु प्रायस यो समाज र विश्वमा घटीरहेको पाइन्छ । 

आत्महत्या यो यस्तो ब्यक्तिले गर्छ वा गर्दैन भनी कदापी पनि भन्न मिल्दैन । कल्पनानै गर्न नसकेको ब्यक्ति समेतले आत्महत्या गरेको हामी स्वयंले पनि देखे सुनेको हुन सक्दछ । अतिनै गरीव एवं दुःखी ब्यक्तिहरु देखि लिएर शक्तिसम्पन्न, आर्थिक रुपले सुदृढ, देश विदेश एवं विश्वमानै सम्मान र ख्यातीप्राप्त ब्यक्तिहरु समेतले आत्महत्या गर्ने गरेको प्रशस्तै उदाहरणहरु पाइन्छन् । अर्नेष्ट हेमिंग्वे, जस्को साहित्य सदा साहसले भरिपूर्ण हुने गर्दथ्यो । जुन ब्यक्ति सदासर्वदा प्रशन्न देखिने गर्दथे । त्यस्ता ब्यक्ति समेतले ६१ व्र्षको उमेरमा गोली प्रहार गरी आत्महत्या गरे । विश्वप्रसिद्ध अभिनेत्री मार्लिन मुनरोको मृत्युको सम्वन्धमा पनि आत्महत्यालाई नै जिम्मेवार ठहराउने गरिएको पाइन्छ । लेलिनले आफ्नो जीवनको अन्तिम क्षणमा आत्महत्या गर्ने प्रयास गरेका थिए भन्ने समाचार पनि प्रकाशित भएको थियो ।

विश्वमा सवैभन्दा वढी आत्महत्या हंगेरीमा हुनेगर्दछ । त्यहाँ प्रत्येक १ लाख जनसंख्यामा ४८.४ जना पुरुषले र १४.६ महिलाले आत्महत्या गर्ने गर्दछन् । पुरुषहरुले वढी आत्महत्या गर्ने राष्ट्रमा हंगेरी पछि फिनल्यान्ड, पूर्व सोभियत संघ, अष्ट्रेलिया र स्वीटजरलेण्ड आदि पर्दछन् । महिलाले सवैभन्दा वढी आत्महत्या गर्ने राष्ट्र सिङ्गापुर हो । सिङ्गापुर पछि डेनमार्क, बेल्जियम र फिनल्याण्ड आदि पर्ने गर्दछन् । विश्वमा न्युजिल्याण्डका किशोरीहरुले सवैभन्दा वढी आत्महत्या गर्ने गर्दछन् । अन्य विकसित मुलुकहरुको दाँजोमा अमेरिकामा आत्महत्याको दरमा कमी पाईएको छ । त्यहाँ प्रत्येक १ लाखमा १७.२ पुरुष र ४.२ महिलाले आत्महत्या गर्ने  गर्दछन् । आत्महत्याको ज्यादैनै विरोधी भनेर चिनिने कुवेती पुरुषमा प्रति १ लाखमा ०.९ पुरुषले र मानव जीवनलाई अतिनै मूल्यवान ठान्ने र आत्महत्यालाई अतिनै घृणा गर्ने वहराईनका महिलाले पनि प्रति १ लाखमा ०.५ जनाले आत्महत्या गर्ने गरेको तथ्य विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको प्रतिवेदनमा छ ।

आत्महत्याको सम्वन्धमा पुरुष र महिलावीचको दुरीमा ज्यादै नै भिन्नता पाइन्छ । महिलाको दाँजोमा पुरुषले अत्यधिक मात्रामा आत्महत्या गर्ने गर्दछन् । पोलेन्डमा प्रति १०० महिलाको दाँजोमा ४६६ जना पुरुषले आत्महत्या गर्ने गर्दछन् भने न्यूनतममा जापानमा प्रति १०० महिलाको दाँजोमा १४१ जना, इज्रायलमा १४५ जना र इङ्गलेन्डमा १५० जना पुरुषले आत्महत्या गर्ने गरेको पाइएको छ । भारतको स्थिति हेर्ने हो भने त्यहाँ केही वर्ष अगाडि गरिएको एक सर्वेक्षणमा ६१ प्रतिशत पुरुषले आत्महत्याबाट ज्यान गुमाएका थिए । तर, पुरुषको दाँजोमा  महिलाहरुले बढी कोशिस गर्दछन् तर वढी असफल हुने भएको कारण कम भएको हो । अमेरिकामा गरिएको एक सर्वेक्षणमा प्रत्येक ३ महिलामा १ मात्र सफल हुने गरेको देखिएको थियो ।

आत्महत्यालाई प्रभावित पार्ने तत्वहरु


आत्महत्या देश, काल र तत्कालिन परिस्थिति अनुसार पनि घटवढ हुने गर्दछ । दक्षिण एशियाई मुलुकहरुमा गरिवी, पारिवारिक झमेला, वेरोजगारी वा प्रेममा धोका वा परीक्षामा असफलता ईत्यादि आत्महत्याको केही मुख्य कारणहरु हुन सक्दछन् । विकसित मुलुकहरुमा एकांकीपन, मानसिक तनाव वा नैराश्यता ईत्यादि सोका मुख्य कारणमा पर्दछन् । केही वर्ष अगाडि हङकङका स्कुले बालकहरुमा आत्महत्याको दरमा बृद्धि भएको पाईएको थियो । सो हुनुमा त्यहाँका शैक्षिक अवस्थालाई दोषी ठहराइयो । त्यहाँका बालबालिकाहरुलाई स्कुलमा दिईने शैक्षिक दवाव सहन नसकी कतिपय बालबालिकाहरुले आत्महत्यालाई रोज्न पुगेको देखिएको थियो । केही वर्ष अगाडि प्रकाशित एक समाचार अनुसार सिंगापुरमा बृद्धहरुको आत्महत्याको दरमा अत्यधिक बृद्धि भएको पाईएको थियो । सिंगापुरमा हुनेगरेको कुल आत्महत्यामध्ये २८ प्रतिशत ती ८ प्रतिशत बृद्ध बृद्धाले गर्नेगरेको पाईएको थियो । त्यसर्थ, आत्महत्या गर्ने कारणलाई एकै ठाउँमा समेट्न कदापी पनि मिल्दैन । सो समय र परिस्थिति अनुसार पनि परिवर्तन भैरहने गर्दछ । आत्महत्याको निम्ति अनुकूल तत्व जेजस्तासुकै भएतापनि समष्टिगत परिणाम भने मानिसले आफ्नो मानसिक सन्तुलन गुमाएर वा मानसिक तारतम्य मिलाउन नसकेर पलायनको रुपमा आत्महत्यालाई छान्ने गरेको तथ्यलाई ईन्कार गर्न मिल्दैन ।
 
आत्महत्याको निम्ति भौगोलिक प्रभाव, वातावरणीय प्रभाव, उमेरको प्रभाव, मानसिक निर्माण Mental Constitution को प्रभाव, लैंगिक प्रभाव, वंशानुगत प्रभाव, पारिवारिक बनोट, ब्यावसायिक प्रभाव, धार्मिक प्रभावले ज्यादैनै महत्व राख्ने गर्दछ । अर्थात् कुनै ठाउँ वा क्षेत्र विशेषमा बढी आत्महत्याको दर भेटिनु, प्रतिकूल वातावरण र मौसमको कारण नैराश्यताको बिकास हुनु, विशेषतः युवा अवस्थामा आत्महत्याको दर वढी देखिनु, पुरुषको दाँजोमा महिलाले वढी कोशिस गर्ने भएतापनि पुरुषको संख्या वढी देखिनु, नैराश्यता सम्वन्धी रोगको निम्ति वंशानुगत प्रभावले महत्वपूर्ण भूमिका निर्माण गर्नु जस्तै अर्नेष्ट हेमिग्वेको बावु, दिदी, भाई तथा उनी स्वयंले आत्महत्या गरेका, विवाहित महिला एवं पुरुषको दाँजोमा अविवाहित, विदूर एवं विधवा महिला एवं पुरुषले एवं बाल बच्चा भएका भन्दा नभएकाहरुले बढी आत्महत्या गर्नेगरेको, भरिपूर्ण परिवारमा भन्दा विभक्त परिवारमा आत्महत्याको संख्या वढी हुने गरेको, वढि जनसम्पर्क हुने मध्ये होटल एवं लजवालाहरु तथा देहब्यापार गर्नेहरु, बौद्धिक वर्गमा उच्चस्तरीय शिक्षा प्राप्त ब्यक्तिहरु, ज्यादै नै मेधावी छात्र–छात्राहरु एवं चिकित्सकहरुमा औसत भन्दा वढी आत्महत्याको दर देखिएको छ । 

त्यसैगरी धर्मको आधारमा ईशाई धर्मालम्बीहरुमा वढी त्यसमा पनि क्याथोलिकहरुको दाँजोमा प्रोटेस्टेन्टमा वढी भेटिनु, बौद्ध एवं ईश्लाम धर्मालम्बीहरुवीच आत्महत्याको दर कम देखिनु लगायतले धर्मको प्रभाव स्पष्ट देखिन्छ । 

मानसिक निर्माणको प्रभाव

आत्महत्याको निम्ति मानिसले जन्मको साथ लिएर आउने मानसिक निर्माणको ज्यादैनै ठूलो भूमिका रहेको हुन्छ । कतिपय मानिसहरुले जन्मदै आत्महत्या प्रति झुकाव (Suicidal Tendency) लिएर जन्मने गर्दछन् । त्यस प्रकारको प्रवृत्ति भएका ब्यक्तिहरुमा अस्थिरता, चाँडैनै आत्तिने, सानो सानो कुरामा निराश हुने, मनमा कुरा खेलाइरहने लगायतको लक्षणहरु समान्य रुपमा भेटीने गर्दछ । अरुले हेर्दा कुनै कारणनै नभएतापनि त्यस्ता प्रवृतिका मानिसहरुले अक्सर आत्महत्याको सोच राख्ने गरेको र सो गर्नेगरेको पाइएको छ । एकैछिन अगाडि सद्दे देखिएको एकैछिन पछि आत्महत्या गरेको खवर प्राप्त हुनु, उनीहरुको दैनिक कृयाकलापबाट आत्महत्या गर्लान् भनेर सोच्न पनि नसकिएको भएतापनि त्यस्ताले सहजै आत्महत्या गर्नेगरेको देखिन्छ । जसको मूल कारण उनीहरुले जन्मँदै लिएर आउने आत्महत्याप्रतिको झुकाव नै हो । उदाहरणको रुपमा हरेक वर्ष एसएलसी र एसईईको परीक्षामा हजारौं हजार भाई बहिनीहरु फेल हुन्छन् । त्यसमध्ये केहीले आत्महत्या गर्नेगरेको देखिन्छ । हामीलाई यो लाग्दछ कि परीक्षामा फेल भएर त्यसो गरे होलान्, तर होइन । यदि तिनका पूर्व अवस्थालाई राम्ररी केलाएर हेर्ने हो भने प्रायश ती सवैमा पहिले देखिनै कुनै न कुनै रुपमा मानसिक बिकार रहेको अवश्यै पाइनु पर्दछ । यदि तिनले फेल भएको कारण आत्महत्या गरेनन् भने भविष्यमा अर्कै कारण आत्महत्याको कारण हुन सक्दछ । बिचरा फलानो यो यति कारणले निराश भएर आत्महत्या गरेछ भन्ने अभिब्यक्ति प्रायश सुनिन्छ । तर त्यसो होइन । उसमा त्यो निराश प्रबृत्ती पहिले देखिनै तयार भैरहेको हुन्छ तर, ती अमुक कारणहरु केवल कारक तत्व मात्र हो । यो कारण नभएको भए भोलिका दिन अरुनै कारणले तिनले आत्महत्या गर्ने प्रवल संभावना रहेको हुन्छ ।

हाम्रो दायित्व

धेरैलाई यो भ्रम रहेको पाइन्छ कि आत्महत्याको निम्ति कुनै देखिने कारण अवश्यै भएको हुनुपर्दछ । विशेषतः आत्महत्या मानिसले एक्कासी भावावेशमा आएर वा तत्काल आवेगमा आएर गर्छन् । तर, वास्तविकता त्यस्तो होइन । अधिकांश आत्महत्या पहिले देखिको सोच बिचारको परिणामस्वरुप भएको हुन्छ । आत्महत्या गर्ने बिचार उत्पन्न भएपछि परिस्थितिलाई आफ्नो अनुकूल बनाएर अधिकांश ब्यक्तिहरुले आत्महत्या गर्ने भएको हुनाले त्यसतर्फ बिचार राखीराखेका ब्यक्तिलाई बेलैमा पहिचान गरेर उचित सेवा र सल्लाह प्रदान गर्न सकेको खण्डमा केही समयको निम्ति वा सदाको निम्ति त्यस्ता ब्यक्तिहरुलाई मृत्युको मुखवाट बचाउन सकिन्छ । अधिकांश ब्यक्तिहरुले आत्महत्या गर्नु पूर्व कसैको सहयोग र सहानुभूतिको अपेक्षा राखीराखेका हुन्छन् । कसैले आफ्नो कुरा सुनिदेओस, आफ्नो समस्यालाई महत्व प्रदान गरिदिओस् भन्ने अभिलाशा राखिराखेका  हुन्छन् । कतिपय ब्यक्तिहरुले आत्महत्या गर्नुपूर्व सो को पूर्व संकेत Suicidal Gesture पनि दिने गरेको पनि पाइन्छ । नैराश्यले भरिएको कुरा गर्ने, मर्ने, नबाँच्ने जस्ता कुरा गर्ने गरेमा त्यसलाई जिस्केको नठानेर गम्भिरतापूर्वक लिनुपर्दछ । तपाईं हाम्रो कोही परीक्षामा असफल भएको अवस्थामा, कुनै कुराको कारण पीर परेको वा समस्याले ग्रसित पारेको अवस्था भएको, झगडा गरेर रिसाएको अवस्था भएको लगायतमा त्यसलाई सहज ढंगले लिन मिल्दैन । दिमागको एउटा कुनामा जे पनि हुन र गर्न सक्छ भन्ने ठानेर उनीहरुको कृयाकलापलाई सुक्ष्म तवरवाट बिचार पुर्याईरहेको हुनुपर्ने अनिवार्य छ । त्यस्ताले जतिखेर पनि जे पनि गर्न सक्दछन्, त्यस्ताको कुनै भर हुँदैन ।

पश्चिमी मुलुकहरुमा धेरै वर्ष अगाडिदेखि आत्महत्याको रोकथामको निम्ति र सोबाट पीडित ब्यक्तिलाई सेवा पुर्याउनको निम्ति सरकारी र गैरसरकारी स्तरमा विभिन्न समाजसेवी संस्थाहरु कार्यरत छन् । ती संस्थाहरुले चौबिसै घन्टा टेलिफोनको हटलाईन मार्फत सल्लाह प्रदान गर्ने र आवश्यकता अनुसार घरदैलोमा पुगेर उचित सल्लाह र उपचार प्रदान गर्ने गर्दछन् । त्यस्ता संस्थाहरुले एकपल्ट आत्महत्याको असफल प्रयास गरिसकेका ब्यक्तिहरुलाई विशेष ध्यान पुर्याउने गरेको र त्यस्ता ब्यक्तिहरुको बाँच्ने इच्छालाई विभिन्न कृयाकलापको माध्यमद्वारा प्रवल गराउन आवश्यक उपाय गर्ने गरेका छन् । हाम्रो पूर्विय सभ्यतामा विशेषतः आध्यात्मिक र बुध्द दर्शनमा त्यस्ता ब्यक्तिहरुको Subconscious mind  लाई खोलेर उपचार गर्ने ज्ञानको माध्यमद्वारा त्यस्ता ब्यक्तिहरुको सोच्ने ढंगमा परिवर्तन ल्याउन सकिन्छ ।  हामीले पनि हाम्रो देशमा त्यस प्रकारका उपायहरुको अवलम्वन गर्न सक्दछौं, जो अनिवार्य र अपरिहार्य पनि छ ।
 

ताजा खबर