भारत–छिमेकी सम्बन्धः एसडी मुनीले देखे भारतको ६ गल्ती

२०७७ असार १ सोमबार १५:५०:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो समय नेपाल–भारत सीमा विवाद बढ्दै गएको छ । अन्य छिमेकीसँग सुमधुर सम्बन्ध भएको नेपालको लागि यो असहज अवस्था हो ।

भारतसँग अनेक विषयमा मतभेद रहँदै आएपनि नेपालले भारतसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने प्रयास गर्दै आएको थियो । तर, यो पटक भने नेपालको प्रयास सफल हुन सकेन । भारतको बलमिच्याइँ प्रवृत्तिको कारण नेपाल–भारत सम्बन्ध तनावपूर्ण रहेको नेपालका विश्लेषकहरु प्रष्ट रुपमा भन्दै आएका छन् ।

भारतमै पनि नेपाललगायत अन्य छिमेकी राष्ट्रसँग सम्बन्ध बिग्रनुमा भारतीय कूटनीतिक निकाय र नरेन्द्र मोदी नेतृत्व सरकारको कमजोरी रहेको आवाज उठ्दै आएको छ ।

भारतको रणनीतिक मामिलाका जानकार प्रा. एसडी मुनीले समेत यही विचार राखेका छन् । गत शनिबार सत्य हिन्दी न्यूजसँगको कुराकानीमा मुनीले भारतकै कारण छिमेकी राष्ट्रसँगको सम्बन्ध बिग्रेको बताएका हुन् । यसको मूल दोषी मोदी सरकारको नीति रहेको उनले स्पष्टै भनेका छन् ।

 अन्तर्वार्ताका क्रममा मुनीले भारतका प्रमुख ६ गल्ती समेत औंल्याएका छन् ।

नेपाललाई हेर्ने पुरानो नजर

प्रा. मुनीले नेपालसँगको सम्बन्धलाई जोड दिँदै समय परिवर्तन भइसकेको तर नेपाललाई हेर्ने भारतको नजर पुरानै रहेकाले अहिलेको अवस्था सिर्जना भएको बताए ।

विगतमा परम्परागत सम्बन्ध, रोटी–बेटी सम्बन्ध, सांस्कृतिक सम्बन्धका कारण यी दुई मुलुक जोडिने गरेको भएपनि अब यी आधारले मात्र दुई देशको सम्बन्ध अगाडि बढ्न नसक्ने मुनीको भनाई छ । भारत पनि परिवर्तन भएको र नेपाल समेत परिवर्तन भइसकेको अवस्थामा विगतको आधारले मात्र सम्बन्ध अघि नबढ्ने बताउँदै उनले वर्तमानलाई भविष्यसँग जोड्ने गरी अघि बढ्नु पर्ने सुझाव भारतीय सत्तापक्षलाई दिएका छन् ।

अहिले नेपालसँगको विवाद सुरु हुनुमा पनि मोदी सरकारले यसअघि चालेका गैरजिम्मेवार कदम रहेको उनले दावी गरे । उनले सन् २०१५ को प्रसंगलाई अहिलेको घटनासँग जोडेका हुन् ।

सन् २०१५ मा नेपालले संविधान जारी गर्ने क्रममा भारतले गैरकूटनीतिक व्यवहार देखाउँदै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको प्र्रसंग भुल्न नहुने मुनीको भनाई छ । गलत कदम चालेको भारतले थप गल्ती गर्दै नेपालमाथि नाकाबन्दी लगाएको र त्यस कदमले नै नेपालका हरेक नागरिक भारतसँग रिसाएको उनले बताए ।

सोही घटनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादको स्वरुप दिएको र सोही राष्ट्रवादले भारतले नेपालसँग गरेका सबै राम्रा व्यवहार बगाएको उनको भनाई छ ।

विचार लाद्ने प्रवृत्ति

भारतीय सत्तापक्षले विचार लाद्नाले समेत नेपालसँगको सम्बन्ध बिग्रेको मुनीको भनाई छ ।

सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) का केही नेता नेपाललाई हिन्दु राज्य बनाउन लागि परेको उनले बताएका छन् । परिवर्तन भइसकेको नेपाललाई नबुझी आफ्नो विचार लाद्ने भारतीय प्रवृत्ति गलत रहेको विचार उनले राखे ।

दुई फरक मुस्लिम राष्ट्रले एउटै विचार नराख्ने उदाहरण दिँदै उनले दुई हिन्दु राष्ट्रले उस्तै विचार राख्छ भन्ने सोच राख्नु नै गलत रहेको उनले ठोकुवा गरे । 

कूटनीतिमा भारत बढी आत्मविश्वासी

भारतले नेपालजस्ता मुलुकसँगको कूटनीतिक सबन्धमा जरुरत भन्दा बढी आत्मविश्वास देखाएको विचार मुनीले राखेका छन् । यो कदमले ती छिमेकी राष्ट्रहरुमा पहिचानको समस्या हुने र उनीहरुलाई यो कुरा सहन गाह्रो हुने उनले बताएका छन् ।

भारत यसरी बढी आत्मविश्वासी हुनुको कारण समेत मुनीले खुलाएका छन् । नेपालमा दलहरुले चलाएको राजा विरोधी तथा सशस्त्र द्वन्द्व सबैमा भारतको हात रहेको स्मरण गरे । सन् २००७ मा प्रजातन्त्र स्थापना, राजा महेन्द्र विरुद्ध दललाई साथ, पञ्चायत विरोधी अभियान, माओवादीलाई मूलधारमा ल्याउने सात बुँदे सम्झौता जस्ता काम भारतले नै गराएको मुनीले बताए ।

यसरी नेपालमा हुने अनेक दलगत अभियानलाई सघाएर भारतले नेपालको माहोल आफू अनुकूल बनाउन सकेको कारण नै भारत बढी आत्मविश्वासी भएको तर्क पेश गरे । तर भारतले यो सफलतालाई निरन्तरता दिन नसकेको उनको बुझाई छ । 

चीनसँगको सम्बन्धमा कमजोर कदम

पछिल्लो समय चीन र भारतबीच पनि सीमा विवाद चर्किएको छ । यसको लागि पनि धेरै हदसम्म भारत नै जिम्मेवार रहेको मुनीको ठहर छ ।

भारत र चीनको सीमामा पर्ने अक्साई सीन क्षेत्र अहिले चीनको मातहतमा छ । सोही क्षेत्रलाई लक्षित गर्दै भारतले सडक निर्माण गरिरहेको छ । यस्तै पाकिस्तानको कब्जामा रहेको कश्मीर क्षेत्रमा समेत चीनले अरबौं लगानी गरेको छ । ती दुबै क्षेत्र भारतले लिने घोषणा गरिसकेको छ ।

सो घोषणाको कारण पनि चीनले आफ्नो क्षेत्र सुरक्षित बनाउनका लागि सीमामा कडा रुपमा प्रस्तुत भएको मुनीको बुझाई छ । सीमाको विषयमा खरो रुपमा उत्रने चिनियाँ राष्ट्रवादको उनले प्रशंसा समेत गरेका छन् । यसको विपरित भारतको राष्ट्रवादमा सधैं एकै किसिमको नरहेको उनले बताए । यसअघि श्रीलंका, बंगलादेशसँगको सीमा विवादमा भारत कमजोर रुपमा प्रस्तुत भएको इतिहास रहेको उनले स्मरण गरे ।

आन्तरिक राजनीतिमा पकड जमाउन राष्ट्रवादको आवरण

मुनीले मोदी नेतृत्वको भारतीय सरकारले पछिल्लो समय दृढ राष्ट्रवादको आवरणको बढी प्रयोग गरेको बताएका छन् । तर, यो राष्ट्रवाद व्यवहारीक भन्दा पनि आन्तरिक राजनीतिमा पकड जमाउने खालको रहेको उनको दावी छ ।

मोदी र भारतीय गृहमन्त्री अमित शाहले पाकिस्तान र चीनसँगको विवादित सीमा भारतले फिर्ता ल्याउने घोषणा गरिसकेका छन् । तर, ती क्षेत्र पाकिस्तान र चीनको पकडमा रहेको र त्यहाँ सैनिक कारबाही नभइ ती क्षेत्र फर्काउन असम्भव रहेको मुनीको भनाई छ । तर, भारतले अहिले यस्तो कारबाही गर्न नसक्ने मुनीको विश्लेषण छ ।

उनले पाकिस्तानसँग जोडिएको बालाकोट क्षेत्रमा गरेको कारबाहीको फाइदा मोदीको दललाई आन्तरिक राजनीतिमा पकड जमाउन मात्र काम लागेको उनले ठोकुवा गरे । यस्तो कदमले सीमा विवाद हल नहुने उनले दावी गरे ।

कमजोर विदेशनीति

प्रधानमन्त्री बनेपछि नै मोदीले भारतको परराष्ट्र नीति ‘छिमेकी पहिलो’ हुने घोषणा गरेका थिए । यसअघिको सरकारसँग तुलना गर्दै मुनीले यसलाई उत्तम कदम भने ।

तर, मोदी सरकारले घोषणाको ठ्याक्कै उल्टो काम गर्दै आएको उनको भनाई छ । घोषणाको तीन महिनामै भारतले पाकिस्तानसँग वार्ता बन्द गरेको उनले स्मरण गरे । पाकिस्तानसँग भारतले गरेको व्यवहार र यो घोषणासँग कुनै तालमेल नरहेको उनको भनाई छ ।

यस्तै काठमाडौंमा भएको सार्क सम्मेलनमा भारतले क्षेत्रीय सहकार्यको बाटो बन्द गरेको समेत उनले बताए । सार्कको विकल्पमा बिमस्टेक गठन गर्नुले छिमेकी पहिलोको मान्यता पूरा नहुने तर्क मुनीले पेश गरे ।

यस्तै म्यानमारमा भारतले गरेको सैन्य हस्तक्षेपको प्रसंग उल्लेख गर्देै यसले गलत सन्देश गएको उनले बताए । मोदीले भनाई र गराई फरक देखिएको कारण पनि छिमेकीहरु भारतसँग चिढिएको उनको दावी छ । 

ताजा खबर