कोरोना खोपको ठूलो परिमाणमा यूरोपको कब्जा 

२०७७ असार १ सोमबार १३:१८:०० मा प्रकाशित

काठमाडौं । विश्व अहिले कोरोना महामारीले आक्रान्त छ । यसबेला यो महामारीविरुद्धको औषधि कहिले बन्ला भनेर पूरै विश्व नै व्यग्र प्रतिक्षामा छ । कोरोना विरुध्दको खोप तयार भई क्लिनिकल परीक्षणकै अवस्थामा रहेका बेला बेलायतको एक कम्पनीले भने खोप बिक्री सम्झौता शुरु गरेको छ ।

कोरोनाभाइरसरुपी महामारीसँग लड्न बेलायतस्थित अष्ट्राजेनेका औषधि निमार्ता कम्पनीसँग युरोपेली राष्ट्रले ४० करोड डोज खोप आपूर्तिको सहमति गरेको छ । अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको खोप सम्झौता बमोजिम ४० करोड डोड खोप युरोपेली राष्ट्रले पाउनेछन् । कम्पनीका प्रतिनिधिले खोपको उत्पादन वृद्धि गरी महामारीको बेला नाफा नलिई खरिद बिक्री गरिने प्रतिवध्दता व्यक्त गरेका छन् । खोप अझै क्लिनिकल परीक्षणमै छ । परीक्षणबाट सुरक्षित र प्रभावकारी देखिए सन् २०२० को अन्तिमसम्म आपूर्ति सुरु गरिने बताईएको छ ।

फ्रान्स, जर्मनी, इटाली र नेदरल्याण्ड्स समेत युरोपको ‘इन्क्लुसिभ भ्याक्सिन अलायन्स(आइभीए)’ले उक्त सम्झौता गरेको छ । कोरोनाभाइरसको खोपका लागि यो पहिलो सम्झौता हो ।
“सहमतिले युरोपका करोडौं सर्वसाधारणको पहुँच खोपसम्म हुने सुनिश्चित गरेको छ, यसले काम गर्नेमा पूर्ण आशावादी छौँ, ग्रीष्मको अन्त्यसम्म यसबारे थप स्पष्ट हुनेछ ।”– कम्पनीका कार्यकारी प्रमुख पास्कल सोरियटले बताएका छन् । प्रारम्भिक डाटाबाट आएको परिणामले खोपले उपचारमा सकारात्मक काम गर्ने देखाएको उनले आश्वासन दिए ।

“हामी कहाँ युरोपमा आपूर्ति गर्ने पर्याप्त संयन्त्र छन्, चारवटै राष्ट्रका उत्पादनकर्ता पंक्तिमा छन् ।”– कार्यकारी प्रमुख पास्कलले सुनाए । उक्त खोप युरोपका सबै सदस्य राष्ट्रका लागि हुनेछ । सम्झौता गरेका चारवटै राष्ट्रले खोप खरिदका लागि लाग्ने बजेट उपलब्ध गराउनेछ । ४० करोड खोपको मूल्य भने खुलाइएको छैन ।

इटालीका स्वास्थ्य मन्त्रालयका एक अधिकारीले उक्त योजना अन्य राष्ट्रका लागि पनि लागू हुने बताएका छन् । अधिकारीले खोपमा चीन, ब्राजिल, रुस र जापानले पनि ईच्छा देखाएको उल्लेख गरे । खोपको अध्ययन र प्रभावकारिता देखेपछि ब्रिटेन मेडिसिन्स र हेल्थकेयर प्रोडक्टस् नियामक निकायले पनि तेस्रो चरणको परीक्षणको अनुमति दिएको पास्कलले बताए । जर्मनीको स्वास्थ्य मन्त्रालयले युरोपेली राष्ट्रको स्वास्थ्य मन्त्रीहरूको शुक्रबारको बैठकले आइभीएले आफ्नो गतिविधिहरू युरोपेली आयोगसँग साझा गर्ने सहमति गरेको जनाएको छ ।

आइभीएले विश्वव्यापी रुपमा दुई अर्ब खोपको माग पूरा गर्न बिल गेट्सको उद्यमसँग र एक अर्ब २० करोड डलरमा अमेरिकी सरकारसँग सम्झौता गरेको छ । प्रतिबद्धता ब्यक्त गरिएको दुइ अर्ब खोपमा नै दश करोड थपिने गरी सहमति भएको बताईएको छ ।

नोभल कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न हालसम्म कुनै खोप वा उपचार पद्धति पूर्णरुपमा विकसित भइसकेको छैन । इटालीका स्वास्थ्य मन्त्री रोबर्टो स्पराञ्जाले विश्वका कतिपय राष्ट्रले खोप सुरक्षित गरिसकेको सङ्कटको बेला युरोपेली राष्ट्रले गरेको सहमति थप मूल्यवान हुने बताएका छन् । (रोयटर्स समाचार)
 

ताजा खबर