भुईं मान्छे
ओ ! भुईं मान्छे
तिमी ‘ओम्नी’ हो ?
तिमी ‘यति’ हो ?
कि, हो कुनै चार्टर्ड फ्लाईटको टिकट बेचेर हामीलाई कमिशन बुझाउन सक्ने महामानव ?
होईन भने छोड !
भुईं मान्छे, भुईं मान्छे नै हो ।
भुईंमै बसोस् ।
भुईंमै मरोस् ।
पाउरोटी जस्तो भुक्क फुलेको चप्पल पड्काउँदै हिँड्थें
म अहिले सरकारमा छु
बेग्लै कुरा हो, सरकारमा बसेर मैले के गरिरहेको छु ?
थोडी मेरो काम हो भुईं मान्छेको कुरा सुन्ने ?
मेरो काम हो र ?
भुईं मान्छेलाई ससम्मान आफ्नै देशमा फर्काउने ?
ल्याएकै छु केहीलाई जहाजमा
क्वारेन्टिनमा पनि त राखें तिनलाई
कोही महाकाली तरेर आउँछन् भने
कोही सयांै किलोमिटर हिँडेर आउँछन् भने
कोही महिला र केटाकेटी आउँछन् भने
तिनलाई मैंले किन ल्याउँ आफ्नै देशमा ?
किन राखौं क्वारेन्टिनमा ?
किन खुवाउँ दुई छाक दालभात ?
किन जचाउँ कोरोना ?
नसिकाउ भुईं मान्छे ! मलाई नसिकाउ !
म ब्रम्हा हुँ ।
म शिव हुँ ।
म बिष्णु हुँ ।
म हुँ बुद्ध
मैं हुँ जिसस, मैं हुँ पैगम्बर !
म जे बोल्छु त्यही सत्य हो, ज्ञान हो ।
म भन्दा सर्वज्ञानी को छ जगतमा ?
म घण्टौं बोल्न सक्छु रोष्ट्रममा !
के बोल्छु ? मलाई नसोध ।
मलाई के कुरा थाहा छैन र ?
म बैद्यको जस्तो ओखति बनाउन सिकाउँछु
डाक्टरभन्दा बढ्तै जान्नेछु,
भाईरस कसरी सर्छ मैसँग सोध्छन् देशभरिका विशेषज्ञ !
कहिले फ्याटिए, कहिले हिमालको हावाको कुरा गरिदिन्छु
संसारभर स्टेज प्रोग्राम हुन नसकीरहेका बेला
मैं हसाउँछु जग !
म काम गर्छु, के काम मलाई नसोध
म जगतपति हूँ
अपहरणकारी पाल्छु
अरिङ्गाल पाल्छु
पाल्छु, सत्तरी करोडधारी पाल्छु
मलाई उन्माद छ
मेरो अहंकारको ।
म अब दस अर्बको खर्च देखाएर डकार्छु
ओ भुईं मान्छे ! के गर्छाै मलाई ?
कोरोना छ,
र त छ, आरडिटी
त्यो पाजी पिसिआरको कुरा नगर
नगर, सडक प्रदशर्नको कुरा
दाहाल, नेपाल र खनालको कुरै नगर
मेरो औंलामा नाच्ने हुन् ती
देशभरिका सबै कार्यालयमा मेरो फोटो टाँसिएको छ
थाहा छ भुईं मान्छे
म मेरो फोटो पूजा गर्न लगाउँछु तिमीलाई
फूल अक्षता लिएर बस !
मैसँग छन् गुप्तचर
मैंसँग छन् सुरक्षाफौज
चुनावको धाक नलगाउ भुईं मान्छे
तिमीलाई कस्तो ललिपप देखाएर फकाउनु पर्छ
म जान्दछु ।
रेलको फोटो देखाएँ, पत्यायौ
पानीजहाज चलाउँछु भनें, पत्यायौ
घरघरमा ग्याँस पाईप भनें, पत्यायौ
भ्रष्टाचारमा शून्य सहनशीलता भनें, पत्यायौ
तिम्रो काम मेरो कुरा पत्याउनु नै हो
नो अप्सन भुईं मान्छे ! पत्याउ !
समृद्धिको फोस्रो गफ पत्याउ
अबको चुनावमा देखाउने लिपुलेकको नक्शा छ
तिमी भुईं मान्छे त्यही नक्शा हेरेरै बस ।
राष्ट्रबादी भनेर मेरो भजन गाउ
शालिक बनाउ
मेरो घरलाई संग्रहालय बनाउ ।
लेखाईदेउ मेरा गुनगान पत्रपत्रिकामा
छापिदेउ मेरै स्तुतिगानले भरिएको बायोग्राफी ।
भुईं मान्छे !
तिमी आफैंले जिम्मा लेउ, मेरा अपराध कर्म !
छोपिदेउ भ्रष्टाचारमा लिप्त मेरो कुरुप अनुहार
नुहाई देउ मलाई दुधको कुण्डमा
र, जपिदेउ स्तोत्र–
गङ्गेचैव मुनेचैव गोदावरी सरस्वती ...!