चीन–भारत सीमा विवादः सेना तैनाथ, मिडियामा महायुद्ध

२०७७ जेठ २८ बुधबार १४:२४:०० मा प्रकाशित

काठमाडौं । चीन र भारतबीचको सीमा विवादले दुई देशका सैनिकबीच पटकपटक झडप भयो । तनाव बढ्दै जाँदा दुबै पक्षबाट सीमा क्षेत्रमा युद्ध अभ्याससमेत भयो । विवादित भूमिमा युद्ध नै भइसकेको भने छैन । तर, दुई देशका मिडियाबीच भने महायुद्ध नै चलिरहेको छ ।  

विश्वको सबैभन्दा लामो भूमि सीमा रहेको लद्दाखमा चीन र भारतबीच तनाव फेरि सुरु भएको छ । चीनले भारतलाई र भारतले चीनलाई सीमा क्षेत्र मिचेको आरोप लगाइरहेका छन् । अहिले मात्र होइन यी दुई देशबीच सो क्षेत्रका लागि सधैं विवाद हुने गरेको छ । सन् १९६२ मा यही विवादका कारण दुई देशबीच युद्ध नै भएको थियो । 

गत शनिबार दुई देशका सैन्य नेतृत्वले सीमा विवादलाई शान्तिपूर्ण रुपमा समाधान गर्ने सहमति गरे । सो सहमतिपछि विवादित भूमिको वास्तविक अवस्था बाहिरिएको छैन । दुबैपक्षबाट रणनीतिक सूचनाको चुहावट र मिडियाको आक्रामक प्रस्तुति भइरहेको छ । २१ औं शताब्दिको यो द्वन्द्वमा अनेक प्रोपोगाण्डा रचिएका छन् । 

दुई देशका सैन्य अधिकारीहरु शनिबार बैठकमा सामेल हुनुअघि चिनियाँ मिडियामा सीमा क्षेत्रको एउटा फुटेज सार्वजनिक भयो । सीमा क्षेत्रमा आवश्यक परेका खण्डमा तत्कालै शक्ति परिचालन गर्न सक्ने क्षमता चीनसँग भएको भन्दै ती फुटेजहरु देखाइएको थियो । 

फुटेजमा चिनियाँ जनमुक्ति सेनाको हवाइ युद्धअभ्यास, ट्रक भरी ल्याइएका सेना लगायतको शक्ति देखाइएको थियो । सीमा क्षेत्रमा दुबै पक्षका सेनाको झडप भएको फुटेज पनि चिनियाँ र भारतीय सामाजिक सञ्जालमा व्याप्त बनाइएको अपुष्ट खबरहरु आइरहेको छ ।  

भारतका रणनीतिक मामिला विज्ञ शिशिर गुप्ताले भारत तर्साउने नियतले चिनियाँ जनमुक्ति सेनाको युद्धाभ्यासको भिडियो आएको बताएका छन् । उनले हिन्दुस्तान टाइम्स पत्रिकामा लेख लेखेर चीनले भारतलाई तर्साएर वार्तामा शसक्त रुपमा प्रस्तुत हुन नसकोस् भन्ने उद्देश्यले यस्तो कदम चालेको दावी गरेका छन् । 

कट्टरपन्थी वक्तव्यबाजी

चीनका सी चिनफिङ र भारतका नरेन्द्र मोदी दुबैले राष्ट्रियता र उत्तम भविष्यको नारा लगाएर जनस्तरबाट ठूलो समर्थन पाएका हुन् । यसलाई घरेलु समर्थकका बीचमा कट्टरपन्थ र आक्रामक वक्तव्यबाजीको रुपमा अथ्र्याइने गरिएको छ । 

शनिबार नै चीन र भारतले तनाव कम गर्दै जाने सहमति गरेपनि भारतका जिम्मेवार मन्त्रीले सोमबार पनि आक्रामक वक्तव्यबाजी गरे । भारतका गृहमन्त्री अमित शाहले ¥यालीलाई सम्बोधन गर्ने क्रममा चीनलाई लक्षित गर्दै सीमामा घुसपैठ भए कारबाही गरिने भन्दै चेतावनी दिए । 

‘आफ्नो सेनाको हरेक थोपा रगतको बदला लिन इजरायल र अमेरिका मात्र सक्षम छ भनेर केहीले भन्ने गरेका छन्,’ सम्बोधनमा शाहले भने, ‘मोदीले पनि भारतलाई त्यही सूचीमा राखेका छन् ।’ 

यस्तै भारतीय रक्षा मन्त्री राजनाथ सिंहले पनि सोमबार यस्तै वक्तव्य दिँदै भने, ‘भारतको आत्मस्वाभिमानलाई चोट पुग्न दिँदैनौं भन्ने कुरा म सबैलाई याद दिलाउन चाहन्छु । हाम्रो नीति स्पष्ट छ, हामी कुनै देशको अखण्डता र मर्यादालाई चोट पु¥याउँदैनौं । यस्तै हामी कसैलाई पनि आफ्नो अखण्डतामा चोट पु¥याउन दिँदैनौं ।’

यी दुई भाजपा नेतृत्व सरकारका जिम्मेवार मन्त्रीको यस्तो वक्तव्य आउनुको पछाडि प्रतिपक्षी दल भारतीय काँग्रेस रहेको छ । भारतीय काँग्रेसका राहुल गान्धीले ट्वीटमार्फत् चिनियाँ पक्षबाट सीमामा घुसपैठ भएपनि भारत सरकार लाचार भएको आरोप लगाए । उनले थप भनेका छन्, ‘सत्य सुस्त देखिएको छ । मिडिया पनि भद्रगोल र भयभीत देखिएको छ ।’

पुरानो विवाद

मंगलबार चिनियाँ राज्यद्वारा संरक्षित ट्याबलोइड पत्रिका ग्लोबल टाइम्सले सैन्य विश्लेषकको कडा भनाई प्रकाशित गरेको छ । सो पत्रिकामा उल्लेख छ, ‘ठोस मुद्दा अझै समाधान हुन बाँकी भएकाले अहिले भारतसँग जारी गतिरोध तत्कालै अन्त्य हुने सम्भावना छैन ।’ 

गत महिना दुबै पक्षले एक अर्कालाई वास्तविक लाइन अफ कन्ट्रोल मिचेको आरोप लगाएपछि तनाव सुरु भएको थियो । दुबै राष्ट्रले एक अर्काको दावी नमान्ने गरेकाले अहिले नै यो गतिरोध समाधानको आधार स्पष्ट   छैन । 

तर गतिरोधका बीच भारतीय पत्रिकाको ‘हतियार प्रहार’ भने निरन्तर नै छ ।

‘तनाव हटेर पहिलेकै अवस्था हुनका लागि चिनियाँ सैनिकहरुले हप्तौं देखि कब्जा गरेको क्षेत्र खाली गर्न आवश्यक छ । उनीहरु पूर्णरुपमा फर्किएमा भारत सन्तुष्ट हुनुपर्छ, विवादित भूमिमा र कुटनीतिज्ञको वार्ताभन्दा यो कदम अर्थपूर्ण हुन्छ । यसका लागि बेइजिङबाट चिनियाँ जनमुक्ति सेनाका लागि शसक्त निर्देशन आउनुपर्छ,’ भारतीय पत्रिका द हिन्दुले सम्पादकीयमा लेखेको छ, ‘अन्यथा, भारत पनि उस्तै युद्धाभ्यासको लागि तयार हुनुपर्नेछ, जसको उद्देश्य चिनियाँ सेनालाई फर्कन बाध्य बनाउनु हुनेछ ।’

यदी चीनले प्रोपागाण्डा रच्दै र जनमुक्ति सेनाको परिचालन गर्दै भारतलाई विवादित भूमिबाट फर्काउन चाहेको हो भने दिल्ली पनि उस्तै कदम चालिरहेको छ । दिल्लीले चीनसँग विवाद भएका अन्य देशसँग सहकार्य गरेर चीनलाई गलाउने रणनीतिको खोजिरहेको छ । अष्ट्रेलिया र अमेरिकासँग चीनको सम्बन्ध यतिबेला राम्रो छैन ।

अघिल्लो साता, भारत र अष्ट्रेलियाले दुईपक्षीय सैन्य सम्झौता गरेका थिए । दुई राष्ट्रबीच रक्षात्मक सम्बन्धमा काम गर्ने सहमति समेत भएको छ । भारतले पछिल्लो समय अमेरिकासँग पनि सैन्य सहकार्य गरिरहेको छ । मालाबार क्षेत्रमा यी दुई राष्ट्र र जापान सम्मिलित नौसेना अभ्यास समेत भइसकेको छ । 

यो कदमलाई चीनले ध्यान पूर्वक हेरिरहेको थियो । राज्यद्वारा सञ्चालित चिनियाँ पत्रिका चाइना डेलीले पनि सम्पादकीयमा लेखेको छ, ‘चीन र भारतले अपनाइरहेको भद्र स्वभाव विपरित अमेरिकाका केही राजनीतिज्ञ यी दुई विशाल छिमेकीबीच द्वन्द्व बढाउन चाहिरहेको छ ।’  

सम्पादकीयमा थप लेखिएको छ,‘अमेरिकी सहयोगको प्रस्तावले भारतमा केहीलाई चीनविरुद्ध कडा कदम चाल्न उक्साइरहेको छ ।’

यी दुई राष्ट्रको गतिविधि पछि चिनियाँ पक्षबाट पनि प्रतिक्रिया आएको छ । अघिल्लो महिना चिनियाँ विश्लेषक लङ सिङचुनले दिल्लीलाई ‘अमेरिकाको तोपको खरानी नबन्नका लागि दिमाग ठण्डा राख्न’ सुझाव दिएका थिए । 

‘अमेरिकासँग चीनको सम्बन्ध तनावपूर्ण भएपनि, सन् १९६२ मा आफैं सुरुवात गरी भारत नराम्रोसँग पराजित भएको सो युद्धकालको तुलनामा चीनका लागि अहिले अन्तर्राष्ट्रिय परिवेश उत्तम छ,’ लङले लेखेका छन्, ‘सन् १९६२ मा राष्ट्रिय शक्तिमा भारत र चीन बराबरका थिए । यसको विपरित अहिले चीनको जीडीपी भारतको भन्दा पाँच गुणा बढी छ । ’ 

अझैपनि मिडियामार्फत् आक्रोशपूर्ण वक्तव्यबाजीको क्रम जारी छ । सैन्य नेतृत्वको पहलमा शनिबार भएको वार्ताले तनाव कम गरेपनि चीन र भारतबीचको यो समस्या तत्कालै समाधान हुने सम्भावना भने कम छ । 

(सीएनएनका लागि जेम्स ग्रिफिथको विश्लेषणको भावानुवाद)

ताजा खबर