बन्चरो प्रहार गरी पाँचको हत्या  

२०७७ जेठ २८ बुधबार ०९:०८:०० मा प्रकाशित

एसएसपीको संयोजकत्वमा छानबिन समिति गठन

रूपन्देहीमा सोमबार राति ५ जनाको बन्चरो प्रहार गरी सामूहिक हत्या भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार मैनहवामा रहेको गाई फर्ममा घटना भएको हो ।

कान्छीबजारका कृष्ण पुनले सञ्चालन गरेको गंगादेवी पशु फर्ममा काम गर्ने ६ जनामध्ये ५ जनाको हत्या गरिएको प्रहरीले जनाएको छ । हत्या गरिएकामा फर्ममा काम गर्ने सैनामैना नगरपालिका–५ का ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, फर्मका सञ्चालकले पालेका १४ वर्षीय पोषराज मुसहर, तिलोत्तमा नगरपालिका–१० का १६ वर्षीय करन चौधरी र १५ वर्षीय आशिष चौधरी रहेका छन् ।

एक जना भुसभित्र लुकेको अवस्थामा फेला परेको र उनी अचेत रहेकाले उपचारका लागि अस्पताल पु¥याइएको रूपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताउनुभयो । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरेको एसपी थापाले बताउनुभयो ।

हत्यामा संलग्न भएको आशंकामा सोही फर्ममा काम गर्ने सरखेत घर भएका झपेन्द्र सिञ्जालीलाई नियन्त्रणमा लिइएको ५ नम्बर प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले बताउनुभयो ।

घटनाका बारेमा थप अनुसन्धान गर्न ५ नम्बर प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रवक्ता राजकुमार बैदवारको संयोजकत्वमा दंगा प्रहरी गणका प्रमुख विकासराज खनाल र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतीक राठौर सदस्य रहेको छानविबन समिति गठन गरिएको छ । छानबिन समितिका संयोजक बैदवारले २४ घन्टाभित्र घटनाको यथार्थता बाहिर ल्याउने बताउनुभयो ।

यसैबीच हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडितलाई राहत दिन नेकपा र नेपाली कांग्रेसले माग गरेका छन् । स्थानीय कृष्णबहादुर पुनको गंगादेवी पशु फार्ममा कार्यरत पाँच जना कामदारको बीभत्स हत्या भएको घटनाप्रति नेपाली कांग्रेसका संघीय सांसद बालकृष्ण खाँणले दुःख व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहनुभएका सांसद खाँणले विज्ञप्ति जारी गरेर कोरोनाको महामारीबाट देशबासी आक्रान्त भइरहेको अवस्थामा यस प्रकारका आपराधिक घटनाले आमनागरिकमा थप आतंक सिर्जना भएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी नेकपा तिलोत्तमा नगर कमिटीले पनि पाँच जनाको ज्यान जाने गरी भएको घटनाले आफ्नो पार्टीलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ ।

एक विज्ञप्ति जारी गरी नेकपाले घटनाको निन्दा गर्दै दोषीउपर कडा कारबाही र पीडित परिवारलाई राहतको माग गरिएको छ । नगर अध्यक्ष मोहन चापागाईं र सचिव लक्ष्मण खनालद्वारा जारी विज्ञप्तिमा घटनाको यथार्थ छानबिन गर्न र यस्ता घटना दोहोरिन नदिन शान्ति सुरक्षाको राम्रो प्रबन्ध गर्न माग गरिएको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर