कोभिड–१९ संक्रमणः यस्तो छ नेपालको अवस्था 

२०७७ जेठ २७ मंगलबार १६:४६:०० मा प्रकाशित

काठमाडौं । करिब ६ महिनाअघि नेपालमा कोभिड–१९ संक्रमण देखिएको थियो । चीनको वुहानबाट नेपाल आएका विद्यार्थीमा संक्रमण भेटिएसँगै नेपाल कोभिड–१९ को उच्च जोखिममा रहेको पुष्टि भएको थियो ।

चीनले सतर्कता अपनाएसँगै त्यहाँबाट सिधै नेपालमा संक्रमण फैलिएन । तर चीनबाट युरोप, युरोपबाट भारत हुँदै नेपालमा संक्रमण फैलिएको छ ।

सरकारी संयन्त्रले सुरुवातमै सतर्कता अपनाउन नसक्दा संक्रमण फैलिएर ३ हजार ७ सय ६२ जनामा देखिइसकेको छ । यो संख्या अझै बढ्ने पक्का छ । विश्लेषकहरु अहिले पर्याप्त परीक्षण नभएर मात्र संक्रमण थोरै देखिएको बताइरहेका छन् । तर, स्वास्थ्यमन्त्री भने दक्षिण एशियामा नेपालको प्रयास उत्कृष्ट रहेको दावी गर्दै छाती ठोकेर भाषण गरिरहेका छन् ।

संक्रमण समुदायमा फैलिन सक्ने गम्भीर जोखिमतर्फ स्वास्थ्य मन्त्रालयको ध्यान पुग्न सकेको छैन । क्वारेन्टिनमा रहेका १ लाख ६० हजार भन्दा बढीको नै संक्रमण परीक्षण नभएकाले अन्य स्थानमा ध्यान पुग्ने सम्भावना न्यून रहेको सम्बन्धित निकायका अधिकारीहरु बताइरहेका छन् । यसले कोरोना जोखिमको अवधि लम्बिने संकेत दिएको छ । 

विश्व परिवेश

अहिलेसम्म विश्वका ६८ लाख जनामा कोरोना संक्रमण देखिइसकेको छ । संक्रमणको दर अझै बढ्दो क्रममा छ । तर, अधिकांश देशहरुमा संक्रमण मुक्त हुनेको संख्या पनि तीव्र रुपमा बढिरहेको छ । 
अमेरिकामा अहिलेसम्म २० लाख जनामा कोरोना संक्रमण देखिएको छ । त्यहाँ ५ लाख ३१ हजार जना कोरोनाबाट मुक्त समेत भइसकेका छन् । यस्तै ७ लाख ११ हजार संक्रमित रहेको ब्राजिलमा ३ लाख २६ हजार जना संक्रमणबाट निको भइसकेका छन् ।

रसियामा ४ लाख ७७ हजार संक्रमित रहेकामा करिब ५० प्रतिशत निको भइसकेका छन् । २ लाख ५७ हजार संक्रमित रहेको भारतमा पनि ४८ प्रतिशत संक्रमितलाई कोरोना मुक्त भएका छन् ।

इरान, टर्की, मेक्सिको जस्ता देशमा पनि संक्रमितहरु निको हुने संख्या तीव्र गतिमा बढिरहेको छ ।

केही अपवाद बाहेक विश्वका अन्य मुलुकको तुलनामा नेपालमा संक्रमण मुक्त हुनेको संख्या अति न्यून छ ।

कोरोना नियन्त्रणमा सफल भएका देशहरु 

कोरोना संक्रमणको उद्गमस्थल चीनले यसको नियन्त्रणमा उत्कृष्ट सफलता पाएको छ । पछिल्लो समय संक्रमणका केही घटना भेटिएपनि यस्ता घटना अति न्यून रहेको बताइएको छ ।

अहिलेसम्म चीनमा कुल ८३ हजार ४० जनामा संक्रमण भेटिएको छ । त्यसमध्ये ७८ हजार ३ सय ४१ जना संक्रमण मुक्त भइसकेका छन् । कुल ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको चीनमा अब ६५ जनामा मात्रै संक्रमण रहेको छ । चीनको तुलनामा न्युजिल्याण्डले अहिले विश्वलाई चकित पार्दै कोरोना नियन्त्रणमा अद्भूत सफलता पाएको छ । 

विश्वकै लागि उदाहरणीय बन्न सकेको न्युजिल्याण्डमा अहिलेसम्म १ हजार १ सय ५४ जनामा यो संक्रमण देखिएको थियो । ती मध्ये २२ को मृत्यु भइसकेको छ । बाँकी १ हजार १ सय ३२ जना संक्रमण मुक्त भइसकेका छन् । यो सँगै न्युजिल्याण्डले आफ्नो देशमा कोरोनाका सक्रिय केश नरहेको घोषणा गरिसकेको छ ।

यस्तै लकडाउन नै नगरी कोरोना नियन्त्रण गर्न सफल दक्षिण कोरियामा ११ हजार ८ सय ५२ जनामा यो संक्रमण देखिएको छ । ती मध्ये १० हजार ५ सय ८९ जना संक्रमण मुक्त भइसकेका छन् । २ सय ७४ जनाको मृत्यु भएको कोरियामा अब कोरोनाका १ हजार भन्दा कम संक्रमित मात्र बाँकी रहेका छन् ।

यस्तै करिब १२ हजार संक्रमित भेटिएको युरोपेली मुलुक सर्वियामा ११ हजार ३ सय ४८ जना संक्रमण मुक्त भइसकेका छन् ।

यस्तै १७ हजार १ सय ७४ संक्रमित भेटिएको जापानमा १ हजार भन्दा कम संक्रमित बाँकी रहेका छन् ।

नेपालमा न्यून परीक्षणका बावजुद दैनिक ३ सयभन्दा बढीमा संक्रमण पुष्टि भइरहेको छ । अहिलेसम्म ३ हजार ७ सय ६२ जनामा संक्रमण भेटिएकोमा जम्मा ४ सय ८८ जना मात्रै संक्रमण मुक्त हुन सकेका छन् । 
 
चिन्ताको विषय

विश्वभर कोरोना संक्रमण बढेपनि अधिकांश मुलुकमा वृद्ध र दीर्घरोगीमा संक्रमण बढी देखिएको छ । तर, नेपालको हकमा भने यो अवस्था फरक छ । 

नेपालमा ४ महिने बालकदेखि जुनसुकै उमेर समूहका संक्रमित पनि भेटिइरहेका छन् । अझ समग्र संक्रमितको औसत आयु हेर्ने हो भने ३० को हाराहारी रहेका पाइएको छ । विज्ञहरु यसलाई चिन्ताको विषय भनिरहेका छन् । यो संक्रमणका कारण अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेको औसत आयु पनि विश्व परिवेशसँगको तुलनामा नेपालका धेरै कम उमेरका छन् । 

कहिले सकिएला कोरोना काल ?

कोरोना संक्रमणको जोखिम कम गर्न नेपाललाई लकडाउन गरिएको साढे दुई महिना भइसकेको छ । लामो समयसम्म पनि संक्रमण नियन्त्रणमा नआएकाले यतिबेला यसको अन्त्य कहिले होला भन्ने जिज्ञासा आममानिसमा पाइन्छ । तर, यसको सटिक उत्तर पाउन सकिएको छैन ।

नेपालमा यो रोग विरुद्धको खोप र औषधि पत्ता लागेको दावी गरिएको छ । त्यसको परीक्षण हुन बाँकी नै छ । नेपाल वा अन्य कुनै देशमा खोपको विकास भएमा यो अवस्था अन्त्य चाँडै हुने पक्का छ ।

तर, खोप नबनेका अवस्थासम्म जोखिम कायमै हुने देखिएको छ । यही कुरा बुझेर न्युजिल्याण्ड, जापान, दक्षिण कोरिया, सर्बिया लगायतका मुलुकले संक्रमण परीक्षण र उपचारमा सम्पूर्ण शक्ति लगाए । फलस्वरुप ती देश यो संकटबाट माथि उठ्न थालिसके ।

नेपालको अवस्था भने यी देशको तुलनामा विल्कुलै उल्टो छ । अहिलेको गति र शैलीमा काम गरेमा कोरोनाको कारण उत्पन्न भएको यो संकटको आयु अझै लामो हुनसक्ने जानकारहरुको मत छ ।  

ताजा खबर