विपिले दिनुभएका चानचुने पैसा

२०७७ जेठ २६ सोमबार १३:२३:०० मा प्रकाशित

डाक्टरले लेखिदिएको औषधिको नियमित सेवन, उनकै सल्लाह अनुसारको पथ्यापथ्यको अनुपालन र विपि निवास सारनाथमा रहेर ढुक्कसँग गरिएको आरामले साता दिन बित्दानबित्दै हेपाटाइटिसले गाँजेको मेरो ज्यानमा निकै सुधार आइसकेको थियो । कब्जियत घटेर दिनैजसो दिसा लाग्न थालेको थियो । टाउको भारी हुन लगभग छाडेको थियो । आँखाको बोझिलोपन बेलाबखत मात्रै अनुभव हुन्थ्यो, खासगरी दुई तीन घण्टा निरन्तर पढेपछि । साँझ बिहान सारनाथ उद्यान परिसरतिर एक फन्को मार्ने गर्थें । यस क्रममा कहिले कहिले त्यहाँ भेटिने युवा सन्यासीसँग बुद्ध र उनको दर्शनका  बारेमा गफिन पाएपछि शरीरमा राम्रै स्फूर्ति आउन थालेको थियो । चिन्ता गर्नु पर्ने कुनै बिषय र कारण थिएन ।

यसबीच एक डेढ घण्टाका दरले तीन दिन प्रत्येक बिहान न्यायो घाममा छतमा बसेर विपिले मलाई अनुशिक्षण दिनुभयो । त्यसमा राष्ट्र, राष्ट्रियता, सार्वमौमिकता; दुई ठूला देशका बीचमा रहेको स्वतन्त्र मुलुक नेपालका अवसर र चुनौतिहरु जस्ता महत्वपूर्ण विषय र तिनका विविध पक्षका बारेमा उहाँले सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान दिनुभयो । प्रजातान्त्रिक प्रणालीलाई मासेर राजा महेन्द्रले लादेको पञ्चायती व्यवस्थालाई हावा, पानी, माटो सुहाउँदो भन्ने गर्थे राजाका मानिसहरु । त्यतातिर संकेत गर्दै विपिले भन्नुभयो– ‘कस्तो शब्दजालमा देशवासीलाई अलमल्याउने गर्छन् तिनीहरु ।’ व्यङ्ग्यपूर्ण पारामा उहाँले थप्नुभयो– ‘त्यो उनीहरुले भन्नाको कारण के हो भने पञ्चायत राष्ट्रको मूल तत्व जनताको अनुकूल त छैन, त्यसलाई ढाकछोप गर्न यस्ता कुरा गर्छन् । राष्ट्र भनेको भूगोल होइन, त्यो जनता हो । अधिकार सम्पन्न नागरिकहरुमा यो मुलुक हाम्रो साझा हो, मुलुकभरका हामी नागरिक एक हौं भन्ने एकापसको भावना नै राष्ट्रियता हो । त्यही भावना मुलुकको विकास र समृद्धिको मूल आधार समेत हो ।’ विपि यसो भन्नुहुन्थ्यो ।

हामीले सही ढङ्गले नेपालको राजनीतिलाई अगि बढाउन सक्यौं भने हामी भारतको भन्दा छिटो प्रगति गर्न सक्छौं भन्ने उहाँको उदाहरण सहितको कथनले मेरो तेस्रो आँखा खोलिदिए जस्तो लाग्यो किनभने भारतमा जस्तो विकास कहिले गर्ने होला भन्ने कुरा मेरो मनमा खेलिरहन्थ्यो । नेपालको विकास भनेको गाउँको विकास हो, राज्यको नीति अनुकूल भयो भने त्यो काम गाउँका मानिस आफैंले उत्साहसाथ         गर्दछन् । यस काममा हामीलाई ठूलो पूँजीको पनि आवश्यक्ता पर्दैन भन्नु हुन्थ्यो विपि ।

यसै अनुशिक्षणका क्रममा अन्तिम दिन उहाँले नेपालमा प्रजातन्त्रको पुनःस्थापनाका लागि सशस्त्र क्रान्ति नै किन आवश्यक भएको भन्ने बारेमा सम्झाउनु भयो । र, भन्नुभयो– ‘यो क्रान्ति सफल भयो भने मात्रै हाम्रो पार्टी सफल हुन्छ, हामी सफल हुन्छौं, हाम्रो राष्ट्र सफल हुन्छ । त्यसैले नेपाली कांग्रेसका प्रत्येक कार्यकर्ताको जीवनको सफलता यो क्रान्तिको सफलतामा निहीत छ । यो क्रान्ति सफल भएन भने तिम्रो हाम्रो जीवन समेत असफल हुन्छ ।’

विपिले अगाडि भन्नुभयो– ‘जस्तो, तिम्रै कुरा गरौं न । तिमी एक्लो छोरो, बा आमा गाउँमा बसेर, दुःख गरेर तिमीलाई पढाउनका पछि उहाँहरुको एउटा सपना थियो । तिमी पनि जेहेन्दार विद्यार्थी, यता पार्टीमा नलागेको भए सायद जागीरमा जान्थ्यौ होला, छोरो हाकिम भएको देखेर आमा बा हर्षित हुनुहुन्थ्यो होला । केही पैसा, सम्पत्ति पनि जोड्थ्यौ होला । तर अब त्यसको सम्भावना छैन । अब तिमीले अरु व्यवसाय गर्नका लागि पनि यो क्रान्ति सफल हुनु पर्छ । तिम्रा आमा बाका इच्छा पूरा गर्न पनि यो क्रान्ति सफल हुनुपर्छ । त्यसकारण अहिलेको हाम्रो एक मात्र लक्ष क्रान्ति नै हो ।’

उहाँका कुरा सुनेर म छक्क मात्र परिन एक प्रकारको अद्भुत तरंग अनुभव भयो । मेरा बारेका ती सूचनाहरु उहाँलाई कसले दियो होला ? के हामी जस्ता सबै कार्यकर्ताका बारेमा उहाँलाई यसरी नै जानकारी छ ? सायद, यही कारणले होला कांग्रेसका हरेक इमान्दार कार्यकर्ता आफैंलाई  विपिले विशेष स्नेह गर्नुहुन्छ भन्ने अनुभव गर्थे । यस्तो चर्चा मैले पहिले पनि सुनेको थिएँ । कांग्रेस जान्दिन, विपि जान्दछु भन्ने धेरै मानिस मैले भेटेको थिएँ । त्यसैले उहाँको आह्वानमा हामीजस्ता युवा मात्रै होइन, पाका मानिसहरु समेत प्रजातन्त्रको पुनःस्थापनाका लागि ज्यान दिन तयार थिए ।

वास्तवमा म त्यहाँ बसेर आफ्नो  उपचार गराइरहेको थिएँ र शारीरिक बिमारी घट्दै थियो भने विपिका कुराहरुले मेरो दिमागलाई झङ्किृत गरिरहेका थिए । उहाँको चिन्तन शैली मौलिक थियो । उहाँका कुरा सुन्दा त्यस्तै लाग्थ्यो । जटिल जस्तो लाग्ने विषयको पनि कति सरल व्याख्या ! उहाँलाई भेट्न भारतका नाम चलेका राजनीतिज्ञ, विद्वान लेखक तथा साहित्यकारहरु आइरहन्थे । तिनीहरु र विपिबीचको सम्वाद सुनिरहूँ जस्तो लाग्थ्यो । संक्षेपमा भन्दा सारनाथको मेरो त्यो बसाइ एउटा गुरुकुलको वा विश्वविद्यालयको जस्तो भइरहेको थियो ।

एक दिन मध्यान्हतिर विपिले मलाई माथि बोलाउनुभयो । उहाँ आफ्नो शयनकक्षको ढोका अगाडि बरण्डामा उभिइरहनु भएको थियो तर दौरा सुरुवालमा, कोट र टोपी भने लगाउनुभएको थिएन । उहाँ कतै बाहिर जान तयार पर्दै गरेको जस्तो लाग्यो । म उहाँको निकट पुगेपछि विपि कोठामा छिर्नुभयो र भित्रै बोलाउनु भयो । सामान्यतया विपिको त्यो सयनकक्षमा प्रवेश निषेध जस्तै थियो ।

टेबलमा राखेको एक पसरीजति चानचुने पैसा उठाएर मलाई दिँदै उहाँले भन्नुभयो, ‘म एक दुई दिनलाई बाहिर जाँदैछु । यो पैसाले तिमी दैनिक बिहान र बेलुका एक एक पावा दुध लिएर खानु । अँ, दुधै खानु नि, अरुथोकमा खर्च गरौला ।’ मैले अँजुलीमा ती पैसा थापें, त्यहाँ पाँच पैसा देखि पचास पैसासम्मका सिक्काहरु थिए । त्यसलाई लिएर म तल झरें र  सानो ह्याण्डब्यागमा राखें ।

बनारसमा दुध खानु आफैंमा एउटा बेग्लै रमाइलो कुरा थियो । त्यहाँ जस्तो चाहियो त्यस्तो दुध पाइने । ग्वालाहरु गाई डो¥याउँदै गल्ली गल्लीमा घुम्थे काठमाडौंतिर सब्जी तथा फलफूल घरदैलोमा लगेजसरी । जहाँ जसले जति दुध माग्छ त्यहीँ दुहेर दिन्थे । अहिले नाम याद भएन, त्यहाँ एउटा नामचलेको निकै ठूलो टोल छ, स–सानो बजार नै, जहाँ बडेमानका कराइमा दुध तताइरहेका हुन्छन् व्यापारीहरु । मलाई घोटिरहेका हुन्छन् । ग्राहकले आफूलाई जति बाक्लो दूध मन पर्छ किनेर खानसक्छ ।

विपिको आर्थिक अनुशासन अत्यन्त कडा थियो । उहाँले बजारबाट सामान किनेर ल्याउन लगाउँदा प्राप्त हुने फिर्ता पाँच दश पैसा भए पनि हिसाब सहित बुझाउनु पथ्र्यो । त्यसरी फिर्ता भएको चानचुने पैसा राख्ने एउटा टिनको टोक्रो जस्तो थियो । त्यसैबाट झिकेर दिएको हुनुपर्छ मलाई त्यो चानचुने पैसा ।

तर त्यस दिन विपि कतै जानु भएन । बेलुकीपख कुर्ता सुरुवालमा उहाँ तल बैठकमा आउनु भयो । कहाँ जान लाग्नु भएको थियो र किन जानु भएन भनेर सोध्ने कुरा पनि भएन । विपिलाई मात्रै होइन अरु नेता कार्यकर्तालाई पनि त्यस्ता प्रश्न गर्ने चलन थिएन गोपनियताका कारण । तर कता कता उहाँ अलिक तनावमा भएको जस्तो देखिनुहुन्थ्यो ।

भोलिपल्ट बेलुकीपख गिरिजा दाइ आउनु भयो, सायद पटनातिरबाट । त्यसको भोलिपल्ट बिहानै विपि बाहिर निस्कनु भयो । त्यस दिन प्रसङ्गवस गिरिजा दाइले गरेको कुराबाट थाहा लाग्यो विपिसँग पैसा थिएन, गिरिजा दाइले कतैबाट ल्याउने कुरा थियो तर त्यो दिन उहाँ आइपुग्नु भएन । फोनबाट खबर गर्नुभयो होला । त्यसपछि मलाई लाग्यो, साथमा नोट नभएरै होला विपिले मलाई अघिल्लो दिन ती चानचुने पैसा दिनु भएको । त्यो सम्झेर म अलिक भावुक पनि भएँ, र सँगसँगै आल्हादित पनि ! 


 

ताजा खबर