भारतबाट आएका आठ व्यक्तिमा कोरोना पोजिटिभ देखियो

२०७७ जेठ २६ सोमबार १२:४२:०० मा प्रकाशित

 बीरगंज । सीमावर्ती शहर बीरगंजमा नयाँ आठजना कोरोना संक्रमित फेला परेपछि तनाव सिर्जना भएको छ । १२ दिनअघि भारतबाट प्रवेश गरेका ती आठजना व्यक्तिमा आज बिहान कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । 

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठीका नयाँ पुष्टि भएका ती सङ्क्रमितहरू जेठ १४ गते भारतबाट आएदेखि नै जगरनाथपुर गाउँपालिकाको सन्ठीस्थित क्वारेन्टाइनमा बस्दै आएका थिए ।

नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका अनुसार ती सङ्क्रमितलाई नारायणी अस्थायी कोभिड अस्पतालमा ल्याएर थप उपचार गर्ने तयारी भइरहेको छ । यही जेठ २३ मा सङ्कलन गरिएको स्वाब नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा २० वर्ष देखि ५५ वर्ष समूहका एक महिलासहित आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बुझिएको छ ।

जगरनाथपुर गाउँपालिकाको सन्ठी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा भारतको हरियाणा, केरला, उत्तर प्रदेशबाट आएका उक्त गाऊँपालिकाका ३४ जनालाई राखिएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिहरू सङ्क्रमित पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको काम थालिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

 आज बिहान थपिएका आठ जना सङ्क्रमितसहित पर्सामा कोरोना सङ्क्रमितको सख्या १२१ पुगेको छ जसमध्ये १०२ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् । हाल अस्थायी नारायणी कोभिड अस्पताल गण्डकमा २९ जना सङ्क्रमितको उपचार भइरहेकोमा यी आठ जना थपिने छन् । 

 

ताजा खबर