एई, कोरोना घुसेश्वरी
न बाहरवालीसँग भेट हुन्छ
न घरवालीसँग बात मिल्छ
हातगोडा बाँउडिए, मान्छे बाैलाए
कुँजिएर घरमै बस्दाबस्दा
ढुंगे आत्मा धुरुधुरु रोए।
सरकार जस्तो
निदाउनु पनि कति निदाउनु
ब्युँझिदा कुन बार आज भनेर
हरेक दिन कति सोध्नु
बिहान आलुप्याज
बेलुका प्याजआलु
हजामको मुख नदेख्दा
लाग्छ, साँच्चिकै भइयो भालु ।
लुगा मक्किदै गए,
ऐनाले पनि हेप्न थाल्यो
घरज्वाईँ पो ठान्न थाल्यो
जुत्ताले खुट्टासँग डिभोर्स गरिसक्यो
जोशजाँगर सबै मरिसक्यो।
कोरोना भइन् हरेक घरमा
चर्चा पाएकी परम पुज्या
पवित्र कुलदेवी मान्दै नित्य
हात धुँदै पुजिन्छिन् साँझ सबेर।
परलोक जाने भिसा दिन्छिन्
च्याप्प समातेर म्वाई खान्छिन्
भीडमा उनी मस्त रमाउँछिन्
डिस्कोमा झैं छमछम नाच्छिन्।
भेदभाव उनको बुझ्न सकिनँ
सरकारलाई कमिसन उनै खिलाउँछिन्
दस मर्दा दस अर्ब हिसाब !
जसलाई लानुपर्ने उहीसँग लभ
एई कोरोना घुसेश्वरी
किन गरेकी यस्तो मनपरि ?