उपत्यकामा कोरोना संक्रमणको असर बढ्यो

२०७७ जेठ २५ आइतबार ०९:५३:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको चपेटमा पर्न सक्ने देखिएको छ । हालै यहाँ पाँच व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौँमा चार र भक्तपुरमा एक गरी उपत्यकामा शनिबार पाँच जनामा कोरोना सङ्क्रमण देखिएको हो । काठमाडौँका सङ्क्रमितमध्ये दुई पुरुष र दुई महिला छन् भने भक्तपुरमा एक पुरुषमा कोरोना देखिएको छ ।

लकडाउनको पहिलो चरणमै उपत्यकाबाट बाहिर जाने र बाहिरबाट भित्रिने क्रम जथाभावी भएको थियो । सरकारले उपत्यका बाहिर  जान चाहनेलाई जान दिने भनेर हल्ला चलेपछि जथाभावी आवतजावत भएको थियो । यही अवसरमा भारतका विभिन्न शहरबाट फर्किएका नेपाली र भारतीय कामदार पनि उपत्यका प्रवेश गरेका थिए । तेस्रो मुलुकबाट फर्किएका कतिपयमा संक्रमण देखिएपछि परीक्षण समेत गरिएकोमा त्यसपछिको लापरबाहीले संक्रमण बिस्तारै देखिन थालेको विज्ञहरु बताउँछन् । पछिल्लो पटक थपिएको लकडाउनले मानिसहरुको आवतजावत र पसलहरु खुल्नमा कुनै वाधा परेको देखिँदैन । पास नभएका सवारी साधन समेत सडकमा निस्किन थालेका छन् । यही विभिन्न कारणले संक्रमण फैलिनमा योगदान गरिरहेको बुझिएको छ ।

यत पाँचजना संक्रमित फेला परेपछि काठमाडौँ महानगरपालिकाले सङ्क्रमितको ‘टे«सिङ’ गरिरहेको छ । एक सातायता काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित देखिएका थिएनन् । शनिबार देखिएका सङ्क्रमित उपत्यका बाहिरबाट नै आएको हुन सक्ने अनुमान महानगरपालिकाको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमित बस्ने वडा, टोल, व्यक्तिगत सम्पर्कमा आएका व्यक्ति र आफन्तको विवरण लिने कार्य भइरहेको बताए । सङ्क्रमित एक जना महिला भारतबाट आएको बुझिएको छ ।

ती महिला टोखा–मनमैजु क्षेत्रमा बस्ने भएकाले ट्रेसिङ कार्य भइरहेको तारकेश्वर नगरपालिकाले जनाएको छ । त्यस्तै भक्तपुरका सङ्क्रमित पुरुष सूर्यविनायकको भएको बताइएको छ । उनीहरू सबैलाई उपत्यकाको विभिन्न कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ ।

काठमाडौँमा २३, भक्तपुरमा पाँच र ललितपुरमा तीन गरी हालसम्म उपत्यकामा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

 
 

ताजा खबर