भाजपा नेता स्वामीको भ्रमित दावीलाई कांग्रेस नेता महतको कडा जवाफ 

२०७७ जेठ २३ शुक्रबार १२:११:०० मा प्रकाशित

काठमाडौं । नेपाल–भारत सीमा विवादलाई विषयान्तर गर्ने नियतले भारतीय जनता पार्टी (भाजपा) सांसदले ट्वीट गरेका छन् । राणा शासकले नेपाललाई भारतमा गाभ्न अनुरोध गरेको, तर नेहरुले अस्वीकार गरेको भन्दै पूर्व संघीय मन्त्री समेत रहेका भाजपा सांसद सुब्रमनियम स्वामीले भ्रमपूर्ण ट्वीट गरेका हुन् ।

बिहीबार सुब्रमनियमले ट्वीट मार्फत् नेपालबारे अफबाह मात्र फैलाएनन् उनले भारतका पूर्व प्रधानमन्त्री नेहरुलाई मूर्ख समेत भनेका छन् ।

‘आज इतिहासको पानामा नेहरुको अर्को मूर्खता देखा परेको छ । सन् १९५० मा नेपालका राजा भारतमा हुँदा, अन्य राजा शासकले जस्तै राणाले पनि नेपाललाई भारतमा गाभ्न अनुरोध गरेका थिए । नेहरुले अस्वीकार गरे,’ उनको ट्वीटमा उल्लेख छ ।

नेहरुको मूर्खता उनको वंशमा रहेको ठोकुवा गर्दै उनले परिवारवादको नियम हटाउनु पर्ने दावी समेत गरे । भाजपाले भारतीय कांग्रेसलाई परिवारवादबाट माथि उठ्न नसकेको भन्दै सोनिया र राहुल गान्धीको विरुद्ध अभियान चलाउँदै आएको छ ।

तर, उनले आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्नका लागि नेपालबारे बिना प्रमाण आपत्तिजनक टिप्पणी गरे ।

उनको सो ट्वीट विरुद्ध नेपाली कांग्रेसका नेता डा रामशरण महतले कडा जवाफ दिएका छन् । ‘बौद्धिक नेता एस स्वामीले यस्तो त्रुटिपूर्ण अभिव्यक्ति दिनु अशोभनीय छ । भारतको अन्य राज्य जस्तो होइन, इतिहासमा नेपाल सदैव स्वतन्त्र राज्य हो । बेलायतबाट स्वतन्त्र भएपछि भारतका अन्य रियासत गाभिएजस्तो राणा शासकले पनि भारतमा गाभिन प्रस्ताव राखेको कुनै प्रमाण छैन ।’

महतले विद्यावारिधी गरेका सुब्रमनियको बौद्धिकतामै प्रश्न उठाउँदै ब्रिटिशले भारतमाथि शासन गरेको समेत सम्झाएका छन् । महतले सुब्रमनियको स्तरसम्म झरेर टिप्पणी नगरेपनि राणा शासकले नेपालको स्वतन्त्रता विरुद्ध काम गरेको दावीको खण्डन गरे ।

पछिल्लो समय नेपाल–भारत सीमा विवाद बढ्दो क्रममा छ । नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको भूमि आफ्नो रहेको प्रमाण निरन्तर सार्वजनिक गरिरहेको छ । प्रमाणका आधारमा नेपाल हावी भएसँगै भारतीय पक्षले इतिहास बंग्याउन मनगढन्ते भनाईहरु राख्दै आएका छन् ।

जारी विवाद भन्दा धेरै पर गइ विषयलाई अन्त मोड्न भारतका कर्मचारी, पूर्व राजदूत, सेनाका अधिकारी, मन्त्री लगायत सबै तह लागि परेका छन् । 

सुब्रमनियम अघि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भूमि विवाद गरेकामा नेपाललाई धम्काउने अभिव्यक्ति दिएका थिए । नेपालले दावी गरेको भूमिमा आफ्नो प्रमाण पुष्टि गर्नुको साटो आदित्यनाथले एक अन्तर्वार्तामा यो विवादको परिणामबारे नेपालले विचार गर्नु पर्ने भन्दै भारतीय हेपाहा प्रवृत्ति दर्शाएका छन् ।

यसअघि पनि भारतीय पक्षबाट नेपाल विरुद्ध अनेक प्रोपोगाण्डा रच्ने काम भइरहेको छ । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेलाई प्रयोग गर्दै नेपालले चीनको इशारामा नक्शा जारी गरेको आरोप लगाएका थिए । यस्तै भारतीय सेनाका पूर्व जेनरल गगनदीप बक्सीलाई प्रयोग गर्दै कम्युनिष्टको सरकार बन्न दिएकाले यी सबै समस्या आएको टिप्पणी गरेका थिए । 


 

ताजा खबर