आसन्न निर्वाचन र कांग्रेसको चुनौति

२०७४ कार्तिक १० शुक्रबार ०८:०५:०० मा प्रकाशित

  दोस्रो संविधान सभाको सबैभन्दा ठूलो दल एवं सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेससामु दोस्रो चरणको निर्वाचनमा एकै पटक कैयाँै चुनौति देखिएका छन् ।

यसैपनि सरकारको नेतृत्वकर्ताको हिसाबले निर्वाचनलाई सहज र सफल बनाउनुपर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ । अर्काे तर्फ सबैभन्दा ठूलो दलको विरासतलाई निरन्तरता दिनुपर्ने अर्काे चूनौति पनि कांग्रेस नेतृत्वसामु छँदैछ । त्यसमाथि प्रमुख बाम शक्तिबीच भएको गठबन्धनसँगै प्रतिस्पर्धा गर्नुपर्ने र पाटीको आन्तरिक विवादलाई मिलाउँदै आफूसँग गठबन्धन गरिरहेका दलहरुलाई चित्त बुझाएर चुनाब लड्नुपर्ने चुनौति पनि एकै साथ देखिएको छ ।

पहिलो चरण अर्थात मंसीर १० गते हुने निर्वाचनमा थोरै सिटका लागि त कांग्रेसले  राप्रपा (प्रजातान्त्रिक), राप्रपा, नयाँ शक्ति लगायतका दलसँग सहकार्य गरी उम्मेदवार चयन गरिसकेको छ । तर दोस्रो चरण अर्थात मंसीर २१ गते हुने  निर्वाचनका लागि सबैलाई मिलाएर उम्मेद्वार चयन गर्नु  कांग्रेसका लागि फलामको चिउरा चपाए सरह हुने देखिएको छ ।

प्रमुख वामघटक एमाले र माओवादी केन्द्रलगायतका दलहरु सहकार्य गरी चुनावी मैदानमा होमिएपछि यसैपनि चुनौतीको सामना गरिरहेको कांग्रेसले तराई केन्द्रित दलहरुसँगको तालमेललाई निष्कर्षमा पुर्याउन सकेको छैन । विशेष गरी प्रदेश नम्बर २ मा राम्रो पकड भएको राजपा, संघीय समाजवादी फोरमसँग दोस्रो चरणको निर्वाचनमा चुनावी तालमेल गर्ने रणनीति बनाएको कांग्रेसलाई उनीहरुले माग गरेबमोजिम सिट दिन सकस भइरहेको देखिन्छ ।

स्थानिय निकायको निर्वाचनमा तराईमा राम्रो उपस्थिति जनाएको कांग्रेसका लागि बाम गठबन्धनका कारण प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भने त्यति सहज देखिँदैन । त्यसका लागि उसले तराई केन्द्रित दलसँग सहकार्य गर्ने पर्ने बाध्यता छ । तर मधेसी दलले प्रदेश नम्बर २ मा मात्र प्रतिनिधिसभामा  २४ र प्रदेशसभाका लागि ४८ सिट माग गरेका छन् । जबकी नेपाली कांग्रेस राजपा र फोरमलाई प्रतिनिधिसभाका लागि १४ र प्रदेशसभाका लागि ३० सिटसम्म दिन तयार छ । तर तराई केन्द्रित दलले कांग्रेसको प्रस्तावलाई स्वीकार गरेका छैनन् । त्यसैले तराई केन्द्रित दललाई मिलाएर निर्वाचन लड्नु कांग्रेसका लागि त्यति सहज देखिँदैन ।

दोस्रो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन गर्ने समय एक साता मात्र बाँकी रहँदा समेत कांग्रेसले तालमेल गरेर कहाँ कोसँग तालमेल गर्ने र कसलाई कति सिट दिने भन्ने तय गर्न सकेको छैन । जसले गर्दा कांग्रेस नेतृत्व निकै ठूलो दबावमा देखिन्छ । चुनौतिकै बेला नेतृत्वको परीक्षा हुने भएकाले चुनावी चुनौतिलाई सहज ढंगले पार गर्दै अघि बढ्नु नेतृत्वका लागि एउटा अवसर पनि  हो । यसलाई पार्टी नेतृत्वले कसरी सहजीकरण गर्छ त्यो भने हेर्न बाँकी नै छ । 
 

ताजा खबर