कवितालाई राजनीतिको पिँजडामा नथुनौं

२०७७ जेठ १९ सोमबार ११:१२:०० मा प्रकाशित

नेपाली छन्द कविताको बढ्दो लोकप्रियताका विषयमा अहिले छन्द कविताका पारखीहरु वीच उत्साहपूर्ण परिचर्चाहरू प्रशस्त भइरहेका छन् । छन्दकविहरू पनि निकै जाँगर एवं जोशका साथ धमाधम कविता सृजनामा लागिरहेका  छन् । कोरोना भाइरसको महामारीका कारण पैदा भएको विषम परिस्थितिले जन्माएको फुर्सदिलो समयमा कविता सृजना भइरहेका छन् । 

काव्यशास्त्र विनोदेन कालो गच्छति धीमाताम, 
व्यसनेन च मूर्खाणां निद्रया कलहेन वा ।

अर्थात् बुद्धिमान मानिस आफ्नो समय साहित्य एवं दर्शनको अध्ययन गर्नमा बिताउँछन् भने मूर्ख मानिसहरू निद्रा, कलह एबं दुव्र्यसन जस्ता खराब विषयमा लागेर समय बिताउँछन् ।

साहित्य जीवनको संगीत हो । त्यसमाथि पनि छन्द साहित्यले हाम्रो मनलाई तरलित गराउँछ । साहित्य साधनाको विषय हो, यो पाखण्ड र कलहको विषय होइन ।  म मात्रै ठूलो कवि हुँ भनेर दुन्दुभि बजाउँदै हिँड्नु चाहिँ बुद्धिमानहरूको चरित्र होइन । ‘अहंकार विमूढात्मा कर्ताहमिति मन्यते’ अर्थात् अहंकारग्रस्त मानिसलाई आफू नै सर्वकर्ता हुँ जस्तो लाग्छ । त्यस्ता कथित कविहरूको चर्चा यहाँ गर्न खोजिएको छैन । यहाँ कविता साधनामा निरन्तर लागिरहेका तर आफूलाई उत्ताउलो विज्ञापन गर्न नरुचाउने कविहरूको खोजी गर्ने कोशिस गरिएको मात्र हो । कविमा सरल हृदय हुन्छ । उत्ताउलो विज्ञापनबाट आफुलाई कवि देखाउन खोजेर पो के काम लाग्छ र ? त्यस्ता कवि प्लास्टिकका फूल जस्तै हुन । हेर्दा फूल जस्तै लाग्छन्, मान्छे झुक्किन्छन् पनि, तर न वासना छ, न विनम्रता छ, न त पुष्पत्व हुन्छ । छन्द कविताले मनको सितार बजाउँछ र अलौकिक आनन्द पैदा गर्छ । जोसँग जसरी भएपनि आफू चर्चामा आउने र दुनियाँको अगाडि स्वनामधन्य कवि बनेर प्रस्तुत हुने उत्तप्त तृष्णा हुन्छ त्यस्ता मानिसमा कवित्व हुन्छ भनेर विश्वास गर्न गाह्रो हुन्छ । कविमा सरल हृदय हुन्छ, नदी जस्तै भाव हुन्छ । कवि त नदी बनेर सुसाउँछन्, चरा बनेर गीत गाउँछन्, हिमाल बनेर हाँस्छन्, लालीगुराँस भएर फुल्छन्  । समग्रमा प्रकृतिकै आत्मा बनेर प्रदीप्त हुन्छन्  । तर कवि हुँ भन्ने पाखण्ड बोकेर चर्चित हुने रुग्ण मनोदशामा भौंतारिदैनन्  । ‘जहाँ नपहुँचे रवि, वहाँ पहुँचे कवि’ यो भनाइले नै कविको गुणगरिमा प्रष्ट पार्छ  । जो आफुू देखिन मरिमेट्छ, यसै प्रष्ट हुन्छ कि ऊ प्रकाशहीन एउटा अँध्यारो पिण्ड मात्रै हो । कवि त रवि हुन, रविलाई संसारमा देखिन कसैले बत्ती बालिदिनु पर्दैन । रविले नै संसारलाई प्रकाशित गर्छन् । कवि त व्यक्ति हैन,  समग्र चेतना हो, ब्रह्म हो जो स्वयं प्रकाशित छ ।

अहिले नेपाली छन्द साहित्यमा गुणात्मक र संख्यात्मक  कविहरूको जन्म भैरहेको देखिन्छ । कवि हिरा भट्ट, कृष्णशरण उपाध्याय, सुदेश सत्याल जस्ता कविहरूका कवितामा रस, अलंकार, भाव, लक्षणा व्यंजना जस्ता काव्य सौन्दर्यको सौरभ प्रचुर मात्रामा पाउन सकिन्छ । वहाँहरुको कविता पढ्दा नदीको निर्वाध प्रवाह जस्तै लाग्छन् । हिरा भट्ट र कृष्णशरण उपाध्यायका कविताहरू सामाजिक संजालमा सबैभन्दा बढी पढ्न पाइन्छ । सामाजिक संजालमा जति आएपनि गुणात्मकता नघटी आउनु आँसु कवित्वको उदाहरण हो । अहिले कविताका माध्यमबाट नेपाली राष्ट्रियताको चिराग बाल्दै कविताको सृजना भैरहेको छ । कविता त युग चेतना हो । कविता स्वाभिमान र आत्मबोधको जुनकीरी बनेर विचरण गर्छ । कविता कुनै पनि वाद या राजनीतिक विचारको संकीर्ण संगठित गुटको पंजा भित्र रमाउन थाल्यो भने कविताको मृत्यु हुन्छ । त्यस्ता व्यक्ति कवि हुँदैनन्, भजन मण्डली हुन्छन् । कविता या कवि प्रचारमा फुल्दैनन । सिस्नुको बोटलाई सयपत्री भनेर प्रचार गर्दैमा सिस्नुले पोल्न छोड्दैन  । वर्षाको आडमा खहरे उर्लियो भन्दैमा नदीहरू आत्तिने हो भने त नदीको इतिहास उहिल्यै समाप्त भैसकेको हुन्थ्यो । 

साहित्य यस्तो शाश्वत चेतना हो, जुन कुरा राजा तथा राजवंश एवं राजनीतिज्ञ भन्दा धेरै जीवन्त हुन्छ । होमरको राजनीतिक व्यक्तित्व अहिले मरिसकेको अवस्थामा छ, तर  उनका काव्यिक गीत आज पनि अमर छन् । रोमको वैभव एवं शासकीय शक्ति लुप्त भइसकेको छ, तर भर्जिलको काव्यधारा आज पनि जीवन्त छ । मध्यकालीन सामन्तहरूले विश्व हल्लाएका थिए, तर आज उनीहरूको कतै नामोनिशान छैन तापनि दाँतेको काव्य अहिले पनि लोकप्रिय छ  । 
नेपाली छन्द कवितामा लेखन र गायन दुवै पक्ष अहिले सशक्त रूपमा अघि बढीरहेको छ । गायनले कविता लेखनमा अझै हौसला र ऊर्जा भरेको देखिन्छ । कविहरूको सृजनालाई सुमधुर गायन कला मार्फत प्रस्तुत गरिदिँदा त्यो कविताको क्षितिज झनै फराकिलो भएको छ । कविता सुन्ने या पढ्नेहरूको संख्या बढेको छ । कविताको माधुर्यमा पनि अझै बढोत्तरी भएको छ । यो लाकडाउनको समयमा कविहरूले गायक गायिका मार्फत छन्द कवितालाई जनसमक्ष पुर्याउन सफल भएको देखिन्छ   यसरी कवितालाई आफ्नो सुमधुर गला दिएर जनसमक्ष पुर्याउन सहयोग गर्ने रञ्जना पौडेल, शिव त्रिपाठी, सरु गुरागाईं, सरु बस्नेत, दीपा भट्टराइ, बिनिता उपाध्याय, रूपा श्रेष्ठ लगायतका गायक गायिकाहरू प्रशंशाका पात्र हुनुहुन्छ । शिव त्रिपाठी अंग्रेजी विषयमा प्राध्यापन गरेर यता नेपाली साहित्यको रसास्वादनमा  रमाईरहनु भएको छ ।  त्रिपाठीले सवैभन्दा बढी कविता गाउनुभएको देखिन्छ । सबै कविहरूको रचनालाई सम्मान गर्ने वहाँको स्वभावले कविहरू अझै लेख्न उत्साहित देखिन्छन् । रन्जना पनि कविको राजनीतिक वाद हेरेर मात्रै कविता वाचन गर्ने संकीर्ण सोचबाट माथि उठेको देखिन्छ । 

कवयित्री मेनुका चापागाईंको रचना र गायन दुवैले सबैको मनलाई तरलित बनाउँछ । कविता गाउँदा वहाँको हाउभाउले पनि सँगै कविता गाइरहेको हुन्छ । कैलालीका रामचन्द्र जोशी, डोटीका गिरिराज जोशी, भोजपुरका आत्माराम न्यौपाने, गैंडाकोटका रामहरि शर्मा, गुल्मीका सरु सुधा, तनहुँका झलक अधिकारी, जाजरकोटका ज्ञानेन्द्र बहादुर सिंह, दोलखाका नगाधिराज, नुवाकोटका जयदेव गोविन्द र शम्भू गजुरेल, नेपालगन्जका घनश्याम रेग्मी, काठमाडौंका ढुण्डीराज अर्याल, मोरंगका छवि वैरागी घिमिरे, सिन्धुपाल्चोकका चेतन न्यौपाने, तथा दाङकी ऋतु खनालका ओजपूर्ण छन्द कविता सुनेर यो लकडाउनको समयमा धेरैले आनन्द लिए । त्यसैगरी चितवनका विदुर अधिकारीका कविता धेरै सुन्न पाइएको छ । यो आँशु कवित्वको नदी निरन्तर बगीरहोस । चितवनकै गोरखे साँईला, ललितपुरका रत्न बिरही घिमिरे, निर्मोही ब्यास ठाकुरनाथ शर्मा, गोविन्द बराल, गोविन्द विनोदी, चिराग चैतन्य, शंकरमणी त्रिपाठी, राधा कणेल, रश्मी रिमाल, सीता भट्टराई, सुमन शर्मा, महेश पौडेल, जीविका अश्रु, धनराज गिरी, निर्मोही शंकर पाठक, छत्रपति दाहाल, वासुदेव पाण्डेय, अनुजा पराजुली, कोमल भट्ट, पारसनाथ आचार्य, पद्मा पाण्डे ढकाल, नमराज लामिछानेका कविताहरू पनि सुन्न पाइयो । 

वैशाख १ गतेदेखि कवि बलराम दाहाल तथा भैरवी भूगोलको जोडीले ‘बनाऔं लक डाउनलाई सृजनामय’ भन्ने अभियानका साथ सञ्चालन गरिएको कार्यक्रमले कविताको लोकप्रियतालाई अझै प्रभावकारी बनाएको छ । छन्द कविताका अग्रज कविहरू प्राध्यापक कोषराज न्यौपाने, कलानिधि दाहाल, वरिष्ठ भाषाविद् एवं कवि माधवप्रसाद पोखरेल, प्राध्यापक डिल्लीराम गौतम लगायत अन्य कयौं कविहरूको योगदान नेपाली छन्द कवितामा अनुपम छ । यो आलेखमा सबै कविहरूको नाम उल्लेख गर्न सकिएको छैन । उल्लेख गरिएका नामहरू पनि सिनियर कविहरूलाई यथोचित सम्मान पुर्याउन संभव भएको छैन । एउटा सानु आलेखमा यी सबै कुरा सम्भव पनि छैन ।

छन्द कविताको यो उत्साहपूर्ण लहरका साथमा कविहरूका बीचमा केही विवाद एवं असन्तुष्टिका भुल्काहरू पनि यो बीचमा देखा परेका छन् । ऐतिहासिक अन्तर्राष्ट्रिय छन्द कविता सम्मेलन भनेर केही कविहरुले अनलाइन छन्द कविता सम्मेलनको आयोजना गरेका थिए । अरु कविहरूले यसमा चरम राजनीतिक गुटबन्दी भएको भनेर तीव्र असन्तुष्टी प्रकट भएको पाइयो । आयोजकहरूद्वारा भनिएको अन्तर्राष्ट्रिय छन्द कविता सम्मेलनमा छन्दको नामोनिशान थाह नभएकाहरुलाई राजनीतिक आस्था कै भरमा छन्द कविको आभूषण पहिर्याएर कार्यक्रममा सहभागी गराइएको भन्ने आरोप छ । गायिकालाई समेत कवयत्री बनाइयो भन्ने गुनासो छ । यदि भनिए जस्तैगरी कवितामा समेत राजनीति गरिएको हो भने चाहिं यस्तो गतिविधिले छन्द कविताको आलोकमा कालो पोत्ने काम हुन्छ । नेपाली साहित्यको विकास नहुनुको कारण नै यही हो । कविहरू कोही प्रगतिशील अरे, कोही लोकतन्त्रवादी अरे । खासगरी प्रगतिशीलको नाममा साहित्य क्षेत्रमा अत्यधिक राजनीति भएको पाइन्छ । यस्तो कृयाकलाप रोक्नैपर्छ । जहाँपनि राजनीति प्रवेश गराउनु राम्रो होइन । तर पनि यस्ता प्रवृत्ति हरेक क्षेत्रमा संक्रमित भइरहेका छन् । यस्ता गतिविधिबाट वास्तविक कविहरू आक्रोशित या निराश हुनुपर्ने पनि देखिँदैन ।  क्षमता नहुनेहरुले त गुट बनाउँछन् नै, गुटकै बलबाट खानेहरूको संख्या निकै बढीरहेको छ । दुई चार जना ‘सेलेब्रेटी फेस’ देखाएर आफ्नो व्यापार गर्ने वर्ग जुनसुकै क्षेत्रमा पनि हुन्छन् । 

तर सकेसम्म साहित्य जस्तो निर्मल आकाशमा राजनीतिको कालो धब्बालाई स्थान नदिए धेरै राम्रो हुनेथियो । राजनीति गर्न मन लाग्नेले सिधै राजनीति क्षेत्रमै गएर भिडे भइहाल्छ । हिमालबाट झर्ने झरना जस्तै स्निग्ध अनि विशुद्ध साहित्यमा राजनीति गर्नेहरूले कविताको रसधाराबाट कसरी आनन्द लिन सक्लान् ?  हृदय झिकेर टाउकोमा राखेपछि समग्र प्रकृति नै कुरूप हुँदैन र ?  तैपनि साहित्य नदी भएका कारण वर्षा यामको बेला कयौं खहरेहरू नदीभन्दा आफु पो ठूलो झैं गरेर उर्लिन्छ, तर जब आकाशबाट वर्षा रोकिन्छ खहरे आफैं सुक्छन् । नदी जस्तै निर्मल अनि अविरल साहित्यमा पनि राजनीतिक दुर्गन्ध घोल्नेहरु त्यही दुर्गन्धसँगै विलाउँछन् । वास्तविक कविहरू रवि जस्तै युगौंयुगसम्म प्रकाशित भइरहन्छन् ।
 

ताजा खबर