विपी कोइरालाको त्यो अभिभावकत्व

२०७७ जेठ १८ आइतबार १२:१३:०० मा प्रकाशित

२०१७ साल पुस १ गते राजा महेन्द्रले सैनिक कू गरेर बिना कुनै आरोप जननिर्वाचित पहिलो प्रधानमन्त्री विपी कोइरालालाई गिरफ्तार गरेर थुनामा राखे, प्रजातन्त्रलाई मासे । विपीको स्वास्थ्य क्रमशः बिग्रिन थाल्यो । उसै पनि उहाँ क्यान्सरको रोगी । उहाँलाई जेलमै सडाउने हिम्मत त कायर राजामा थिएन । त्यसैले आठ बर्ष पछि उनले विपीलाई रिहा नगरी धर पाएनन् । उहाँ उपचारका लागि भारत हुँदै युरोप जानुभयो । उपचार पश्चात पनि नेपाल फिर्नासाथ फेरि गिरफ्तारीमा पर्ने सम्भावना रहेकाले उहाँ भारतमै रहनु भयो ।

आत्मनिर्वासनमा भारतमा रहेका जननायक विपी कोइरालाले पञ्चायती व्यवस्थालाई फालेर प्रजातन्त्रको पुनःस्थापनाका लागि २०२८ सालतिर सशस्त्र संघर्षको आह्वान गरेपछि प्रजातन्त्रको पक्षमा आवाज उठाउने नेपालीहरुलाई पञ्चायती शासनले मण्डले लगाएर झेउला भिराउने, धरपकड गर्ने, धम्क्याउने लगायत अनेक प्रकारका यातना दिन थाल्यो । त्यसबाट जोगिन निकै मानिस भारतको शरण लिन पुगेका थिए । यसरी भारत प्रवेश गरेका नेपाली कांग्रेसका नेता कार्यकर्ता भारतका बिभिन्न ठाउँहरुमा छरिएर एक्लाएक्लै वा स–साना समूह बनाएर बसेका थिए ।

क्रान्तिका लागि ठूलो जनशक्ति आवश्यक हुने भएकाले तरुणहरुलाई भरसक धरपकडबाट जोगिएर संगठन गर्ने पार्टीको निर्देशन थियो । यस्तोमा चिनिएका सक्रिय नेता कार्यकर्तालाई देशभित्रै भूमिगत रहेर काम गर्न सजिलो थिएन । तथापि, यथासम्भव भूमिगत रहेर देशभित्रै काम गर्थे, यस क्रममा कति पक्राउ पर्थे, तिनलाई बडो यातनाका साथ थुनामा राखिन्थ्यो । यस्तो गिरफ्तारी र यातनाबाट बच्न कतिलाई भारत निर्वासनमा जानुको विकल्प थिएन ।

यसै क्रममा बिद्यार्थी राजनीतिमा सक्रिय मलाई पनि २०२९ सालमा स्थानीय प्रशासनले गिरफ्तार गर्न लागेको थाहा पाएपछि केही समय भूमिगत रहेर म पनि उतै लागें नेताहरुसँग परामर्शका लागि । गिरिजा दाइलाई भेटेर इलामको समग्र अवस्थाको जानकारी गराएपश्चात उहाँले भन्नु भयो, ‘यस बेला गिरफ्तार भएर जेलमा त्यसै बस्ने काम छैन । यतै बसेर संगठनको काममा लाग्नु पर्छ ।’

इलाम, झापा र पाँचथरका केही नेता कार्यकर्ता र्दािर्जलिङ्ग, खरसाङ, नक्सालवाडीतिर पनि दुःख सुख आ–आफ्नो व्यवस्था गरेर बसेका थिए । साथै आफैं त्यस्तो व्यवस्था गर्न नसक्ने खाले कार्यकर्ताहरु पनि निकै थिए । गिरिजा दाइले नक्सालवाडीमा एउटा घर भाडामा लिएर तिनलाई राख्ने व्यवस्था गर्नुपर्छ भनेर त्यसको जिम्मा मलाई दिनुभयो । हामीले नक्सालवाडीमा एउटा क्याम्प बनायौं । त्यसको व्यवस्थापनको जिम्मा मेरो थियो ।

त्यहाँ बसेर हामी नेपालतिर सम्पर्क राख्ने, क्रान्ति सम्बन्धी पार्टीका साहित्य तथा सामग्री नेपाल पठाउने र संगठन गर्ने काम गथ्र्यौं । क्याम्पमा रहेका साथीहरुको संख्याका आधारमा मासिक रुपमा जसो न्यूनतम खर्च गिरिजा दाइले उपलब्ध गराउनु हुन्थ्यो । तर त्यसले क्याम्पको खर्च धान्न धेरै गाह्रो थियो । त्यसले गर्दा म सधैंजसो एक प्रकारको मानसिक दवावमा रहन्थें । व्यवहारिक पक्षको कुनै अनुभव पनि थिएन ।

क्याम्पको व्यवस्थापन, नेपालतिर संम्पर्क तथा संगठनका अतिरिक्त पाएसम्म हतियार खोज्ने, खरिद गर्ने र त्यसको व्यवस्थापनको जिम्मा पनि दिइएको थियो । तर हतियार सम्बन्धी कामको जानकारी भने क्याम्पमा रहने सबै साथीहरुलाई थिएन । सावधानीपूर्वक त्यतातिरका क्रिमिनलहरुसँग सम्पर्क गरेर हतियारको खोजी गर्नु पर्ने भएकाले यो बडो जोखिमको काम थियो ।

यस्तै काममा एकाध पटक शैलजा आचार्यहरु लुटिनु भएको सुनेको थिएँ । त्यसले समेत मनमा डर थपेको थियो । एक पटक त म पनि झण्डै बितेको । एउटा गिरोहले हतियार छ, पैसा लिएर आउनु भन्ने खबर दियो । बागडोगरा इलाकामा गइयो । एउटा घरमा लगेर ‘ल, माल यहीँ छ, पैसा कति ल्याएको छस्, त्यही अनुसार सामान दिन्छौं’ भन्ने कुरा गरे । मैले भनें, ‘माल पहिले देखाओ, अनि कुरा गरौंला ।’

तर उनीहरु एकोहोरो पैसा कति ल्याएको छस् भनेर केर्छन् मात्रै ।

त्यहाँको वातावरण ठीक लागेन । अतः ‘हेर साथी हो, म पनि कच्चा खेलाडी होइन । अहिले पैसा ल्याएको छैन । माल कन्फर्म भएपछि पैसाको समस्या छैन । आखिर पैसा नदिई त तिमीहरु सामान दिँदैनौ । मैले पनि यो सबै काम पुलिसबाट बचेर गर्नु पर्छ । मबाट तिमीहरुलाई धोका हुने ठाउँ नै छैन ।’ भनेर मैले बोकेको सानो ह्याण्ड ब्याग खोलेर तिनलाई देखाइदिएँ । त्यहाँ एक दुई सय रुपियाँ मात्रै थियो ।

तिनले कुरा बुझे र आपसमा मुखामुख गर्दै भन्न थाले, ‘ठीक छ, ठीक छ । माल आउँदैछ, तिमी हेरेर जाऊ र पैसाको इन्तजाम गर ।’

अब माल लिएर आउनेको इन्तजाम गर्न थालियो, चिया मगाए । एक घण्टाजसो पछि उनीहरुमध्ये दुई जना बाहिर निस्के र एकछिनमा आएर भने, ‘ब्याड लक, आज माल ल्याउन अनुकूल भएनछ । अब अर्को दिन खबर गर्छौं ।’

मलाई लाग्छ, त्यस दिन पैसा लिएर गएको भए मलाई लुट्न त लुट्थे नै मारिदिन पनि सक्थे ।

    यस्ता कुराको पनि दवाव पर्यो । मलाई निरन्तर हल्का टाउको दुख्ने हुन थाल्यो । त्यस बेला निकै पढ्ने गर्थें । पढ्न गाह्रो हुनथाल्यो । आँखाको समस्या हो कि भनेर सिलिगुडी गएको बेला डाक्टरलाई देखाएँ । डाक्टर बसु भन्ने आँखाका नाम चलेका डाक्टर थिए । उनले जाँचेर आँखाको मसल कम्जोर भएको छ भन्दै केही भिटामिन खाने सल्लाहका साथ आँखाको एक्सरसाइज गर्ने विधि सिकाइदिए । तर त्यसले खासै लाभ भएन । स्वास्थ्य निकै बिग्रियो ।

एक दिन गिरिजा दाइ आइपुग्नुभयो र भन्नुभयो, ‘तिमी त बिरामी परेछौ । सान्दाजुले यहीँ लिएर आउनु भन्नु भएको छ । हिँड, बनारस ।’ साता दिन जसो अघि बनारसबाट आएका साथीले मेरो खबर विपीकहाँ पुर्याएका रहेछन् ।

गिरिजा दाइले नै क्याम्पको जिम्मा अर्को साथीलाई दिनुभयो र म उहाँकै साथ बनारस लागें । त्यो दिन पटना बसी भोलिपल्ट बेलुकीपख बनारस पुगियो । विपीसँग सामान्य भलाकुसारी मात्रै भयो । त्यसको भोलिपल्ट म पत्रिका पढेर बसिरहेको थिएँ विपी त तयार भएर आउनु भयो र भन्नुभयो, ‘ल हिँड ।’ 

बाहिर हिँड्दा विपी दौरा सुरुवाल, कोट लगाउनुहुन्थ्यो ।

कहाँ जाने, कसो भनेर सोध्ने कुरै भएन उहाँको पछि लागेर गाडिमा बसें । दुई चार किलोमिटर अगाडि गएपछि उहाँले सोध्नु भयो, ‘तिम्रो तकलिफ चाहिँ के छ ?’

भनें, ‘शीर हल्का भारी भइरहन्छ, खाना खासै रुच्दैन र अलिक कडा कब्जियत छ ।’

एकछिनमा गाडि बनारस हिन्दु विश्वविद्यालयको मेडिकल कलेज परिसरमा गएर रोकियो । म विपीको पछिपछि लागें । उहाँ सिधैं मेडिसिन डिपार्टमेन्टको हेडको कार्यकक्षमा छिर्नुभयो । फोनबाट समय मिलाइएको थियो होला । डा. देसाई भन्ने थिए, त्यहाँका प्रमुख । विपीलाई असाध्य श्रद्धा गर्थे । त्यस अघि एक पटक विपीका साथ म त्यहाँ पुगेको थिएँ ।

विपी र डा. देसाईबीच सामान्य भलाकुसारी भएपछि विपीले मतिर देखाएर डाक्टरलाई भन्नु भयो, ‘यिनको दिखाना है ।’

डाक्टर उठे र मलाई संकेत गर्दै छेउको बिरामी परीक्षण कक्षमा लगे । मेरो समस्या सोधे । विपी पनि भित्रै आएर छेउमा उभिनु भयो । त्यसपछि त्यहीँ बेडमा ढल्किन लगाएर प्रेसर जाँचेपछि मुख, नाक, आँखा हेरेर र यता उता थिच्दै निकैबेर लगाएर पेटको परीक्षण गरे ।

हेपाटाइटिस भनेर रोगको निदान सुनाए र पथ्यापथ्य र एक महिना पूर्ण आराम गर्ने परामर्श सहित एक महिनाकै लागि खाने भनेर एउटा औषधि लेखिदिए । बाहिर निस्केर फार्मेसीमा औषधि खोज्दा चौथो दोकानमा मात्रै पाइयो । असलमा त्यो आयुर्वेदिक औषधि रहेर छ भर्खर मात्रै बजारमा आएको रहेछ । 

निवास फर्केर आएपछि मेरो नियमित खानामा बिहान र बेलुका एक एक ग्लास दुध थपियो । आराम त भन्नै परेन । पूरा स्वस्थ भएर डेड महिना पछि नक्सालबाडी फिरें ।

विपी हामी कार्यकर्ताका लागि नेता मात्रै होइन स्नेही अभिभावक समेत हुनुहुन्थ्यो ।


 

ताजा खबर