के तपाईं परिवारसँग मिलेरै बस्नुभएको छ ?

२०७७ जेठ १६ शुक्रबार १३:५२:०० मा प्रकाशित

मैले यो आलेख केवल लेख्नको लागि लेखेको होइन । यसमा पारिवारीक दुर्घटनाका कारण सन्तानमा पर्न सक्ने असर र परिवारीक सम्बन्धलाई उजागर गरी पारिवारीक पुनः मिलनको बाटो प्रशस्त होस् भन्ने सानो प्रयास गरेको मात्र हुँ । 

हाम्रो वर्तमान शिक्षा प्रणाली तथा सरकारको कुनैपनि ठोस नीति नहुनाका कारण नेपाली पारिवारीक प्रणाली ध्वस्त भइसकेको प्रतित हुन्छ । परिवार भनेको समाज र देशको महत्वपूर्ण संस्था हो । परिवार टुटे समाज टुट्छ भने समाज टुटे देश नै टुट्छ । यी सामान्य कुरा हुन् । परिवार हुनको लागि लोग्ने स्वास्नीको सम्बन्धलाई सामाजिक मान्यता पाउनु पर्ने हुन्छ । अब अहिले त्यस्तो पाइँदैन । शिक्षामा नैतिक शिक्षा तथा अन्य नीतिगत विषयले स्थान पाउँदा परिवार प्रणाली बलियो थियो । तर, बहुदलपछिको दुर्भाग्य यो संस्था निकै कमजोर भइसकेको अवस्था छ ।

परिवारका बहुआयामिक पक्ष

लगभग १० पास नभइकनै अझ भनौ ५ कक्षा पास नभइकनै केटाकेटीहरु अनजान रुपमा एकअर्कासँग मायाप्रीतिमा बाँधिदा रहेछन् । घरमा आमा बुवा तथा आफन्तले सानैदेखि बच्चाहरुलाई जिस्क्याउने कारणले वालमनस्थितिमा त्यसको असरको कारणले पनि त्यस्तो हुन सक्छ । ११-१२ मा पुग्दा लोग्ने स्वास्नीको हैसियत बनाइसकेका हुँदा रहेछन् । शहरिया मात्र के ग्रामिण समाजमा पनि यस कुराले जरो गाडिसकेको छ । आमाबुवाको बच्चाप्रतिको रेखदेखको चेतना नहुनु वा चेतना भएर पनि समय दिन नपाउनु हाम्रो बाध्यताका कारण पनि यस्तो प्रवृत्तिको विकास भएको पाइन्छ । अर्को कुरा साथिभाइको लहैलहैका कारण पनि यस्ता क्रियाकलापले मान्यता पाइरहेका हुन्छन् । अझ जुन स्कुलमा शिक्षक नै त्यस्ता गतिविधिमा संलग्न हुन्छन् उनीहरुको त कुरै नगरे भइगयो ।

२०-२१ नपुग्दै प्रेम विवाह हुने र पछि अपरिपक्वताका कारण सम्बन्ध विच्छेद पनि गर्नुपर्ने बाध्यात्मक अवस्था छ । खानपानले शारीरिक भोक लाग्दो हो । त्यसको व्यवस्थापन गर्ने न त शिक्षा नीति छ न त कुनै सामाजिक व्यवस्था छ । हुन त, कानुनले २० वर्षपछिको विवाहलाई कानुनी मान्यता दिएको भएतापनि अपरिपक्व विवाहको कारण समाजमा यस्ता परिघटना भएको सहजै पाउन सकिन्छ । हुन त परिपक्व भएका महिला पुरुषको विवाहमा पनि यस्ता समस्या नरहेका भने होइनन् । विवाह भएपछि सबैकुराको जानकारी नभएपछि चहना नभएको बच्चाको जन्म हुनजान्छ । जसका कारण तत्काल गर्भनिरोधका कारण भविष्यको प्रजनन स्वास्थमा पर्न सक्ने प्रतिकुल असर, बच्चा जन्मेपछि सम्बन्ध विच्छेद पछिको बच्चाको जीवनको अवस्था र सामाजिक अपराधमा तिनीहरुको संलग्नताको जोखिम पनि रहेको छ । देशभरिका लगभग अदालतमा दैनिक सुनुवाइको सूचिमा सर्वाधिक यस्तै पारिवारीक विवादका मुद्दाको चाँगले भरिएकोबाट पनि सहजै थाहा पाउन सकिन्छ । यस्तो स्पष्ट आँकडा आउँदा पनि सरोकार पक्षलाई समाजप्रति कुनै मतलब नै छैन । यस्ता समाधानको लागि सरकारी तवरबाट औपचारिक अध्ययन भएको पनि पाईंदैन । देशको जग हामी परिवारलाई मान्दै छांै भने पारिवारीक व्यवस्थालाई सहि बनाउन लाग्नु पर्ने बेला भएको छ ।

परिपक्व व्यक्तिहरु सबैकुरा सोच विचार गरेर भएपनि समय पुगेपछि विवाह गर्छन् । चाहे प्रेम होस् वा सामाजिक परम्परा अनुसार । वृत्तिविकाससँगै पारिवारीक जिम्मेवारी पनि बढ्दै जाने हुँदोरहेछ । सोसँग मानसिक अवस्थाको व्यवस्थापनका कारण सानोसानो जिम्मेवारी होस् वा अन्य जुनसुकै कारण पनि पारिवारीक कलहमा वृद्धि हुँदै जाने अवस्था पनि आउँदो रहेछ । त्यसमा हाम्रो पारिवारीक कुरा काट्ने र लगाउने रोगका कारण सत्यलाई एकातिर राखेर अर्कै लहडमा समाज हिँड्दाखेरी पनि पारिवारीक समस्याहरु दिनानुदिन बढ्दै गएको देखिन्छ । वैदेशिक रोजगारीमा भएका सबैको परिवार विग्रेको देखिँदैन । कुरो व्यवस्थापनको हो । लोग्ने स्वास्नी एकअर्काका परिपुरक हुन यसबाट समाज चल्छ भन्ने कुराको सिकाइको अभाव परिपक्व व्यक्तिमा रहेको पाइन्छ । बुद्धिको स्तरबाट किताब पढेर मात्र केही विद्धान होइँदैन । पढेको सिकेको कुरालाई व्यवहारमा नल्याउन्जेलसम्म यस्तै कुराको पुनरावृत्ति भइरहन्छ र पहिलो दोश्रो वा तेश्रो विवाह गरेपनि पारिवारिक सुख खोज्न भौंतारिरहनु पर्ने बाध्यात्मक अवस्थामा थालनी हुँदै गएको छ । सबै व्यक्ति आफुलाई समझदार भन्ठान्ने यो विश्व रोग हो । आफ्नो गल्ती नदेख्ने तर अरुको कारण दुःख भएको आरोप सबैले सबैलाई लगाउने नै हो । तर, एकअर्काका सामान्य कमिकमजोरीहरुलाई थाँती राखेर पारिवारीक जिम्मेवारीलाई महत्व दिँदै जाने हो यी सब समस्या समस्या नै होइनन् तर यी कुराप्रति ध्यान जाने र सिकाउने कस्ले ? पहिला संयुक्त परिवार हुन्थ्यो बूढापाकाले यसमा व्यवस्थापकको भूमिका निर्वाह गर्थे तर अहिले त सासुससुरा वा आमाबुवासँग बस्ने सक्ने क्षमता पनि नभएको देखिन्छ । ठूलाठूला घरानीयाँ परिवारमा पनि यस्ता कुरा व्यवस्थापन नजान्नाले यस्ता समस्या आइपरेका हुन् । यिनीहरुबाट जन्मेका सन्तानको अवस्था कस्तो होला विचार गर्न सकिन्छ । कलहपूर्ण वातावरणमा हुर्केको बच्चाले कस्तो संस्कार सिक्छ ?

आफ्नै कुरा

मैले उमेर पुगेपछि विवाह गरें । लगभग ३३ वर्षको उमेरमा विवाह बन्धनमा बाधिन पुगें । सन्तानको लागि श्रीमती मानसिक रुपले पूर्ण हुन्जेलसम्म आग्रहअनुसार सल्लाहले पहिलो सन्तान छोरीको रुपमा प्राप्त भयो । छोराछोरी जे भएपनि हुने समझदारीका कारण पेटमा के छ भनेर पनि हेरिएन । काम गर्दै गर्दाको श्रीमतीले सन्तानको लागि हुँदाखाँदाको जागिर छोडिन् । मैले मेरो पेशालाई निरन्तरता दिइरहें । उनले घर सम्हालिन्, मैले बाहिर । अभिभावक नहुँदा र पारिवारीक तालमेल मिलाउन नजान्दा केही अनवन भएपनि उनले मबाट धेरै अपेक्षा नराख्दा र मैले उनीबाट धेरै अपेक्षा नराख्दा हाम्रो परिवार मिलेर अगाडि बढेको छ । कहिले असमझदारी बढ्छन् । सबैकुरामा सबै पूर्ण होइँदैन भन्छु । उनले सके उनले समझदारी बढाउँछिन्, मैले सके म बढाउँछु । हामी सन्तानका लागि भएपनि समझदारी अगाडि बढाएर अगाडि बढ्दैछौं । कतिपय कमजोरी त हुन्छन् नै । कमजोरीलाई आंैल्याएर अगाडि बढ्नु पर्ने देखिन्छ । सन्तान जन्माइसकेपछि उसप्रति आमाबुवाले आफ्नो दायित्व निर्वाह गर्न नसक्नु लाछिपन हो । सन्तान हुर्केबढेको भए त ठिकै छ । तर, कलिलो बालमनस्थिति विकास हुनेबेलामा कदापि साथ नछोड्नु नै उत्तम हो । विकसित देशमा त बच्चाले खाने दुध पनि सरकारले दिन्छ । हाम्रोमा दुध शुध्द पाइने अवस्था छैन भने हामी लोग्ने स्वास्नी अलग बस्ने हो भने एउटा अबोध बालकको मनस्थितिमा कस्तो असर पर्छ ? सामान्य नागरिकले त यस्ता कुरा गम्भिर भएर बुझ्छ भने बुझकीले यसमा गौर गर्नु एकदम जरुरी छ ।

हाम्री छोरी ९ महिना पुरा भइ १० आंै महिनामा प्रवेश गर्र्दैगर्दा म १२ दिन जति टाढा भइ घर फर्किदा मेरो दाह्री र जुँगाका कारण उनले मलाइ चिन्न सकिनन् । अनजान जस्तो भइ हेरिरहिन् र मलाइ मेरो दाह्री र जुँगा काटेपछि उनी केही प्रतिक्रिया नगरी लगभग आधाघण्टा जति बाँदरको बच्चा काखकामा टाँसिएझै मेरो काँधमा टाँसीई रहिन् । राति सुत्दा जहिले काखमा राखेर सुताउने गरेकोमा म गएपछि उनकी आमाले कहिले काखमा सुताउन परेन र लगभग नौ बजे सुति सक्दिरहिछिन् । तर, यसपटक त्यस्तो भएन, उनलाई मैले काखमै सुताउन पर्यो भने सदाझैं ९ बजे सुतिनन् । उनी सुत्दा १० नै बज्यो । उनी मलाइ एकछिन ओझेल देख्न चाहँदिनथिन् । उनले मलाइ हरपल खोजिरहिन् र मपनि उनीसँगै रहेपनि । सन्तानको अपरिहार्यता र उसँगको सामिप्यले मात्र परिवारले पूर्ण रुप लिने रहेछ भन्ने अनुभूति यसपटक भयो मलाई । सबै बच्चाले सबै समयमा आमाबुवा आफूसँगै होस् भन्ने चाहन्छ । चाहे सुत्दा होस् वा खाँदा । सुत्दा त अनिवार्य नै खोज्नेरहेछ भन्ने कुराको अनुभूति पनि भयो ।

अतः सन्तान छैन भने बरु अलग हुनहोस् कुरा सामाजिक तारतम्य आफु मिलाउनु होस् । परिवार जसको कारणबाट पनि ध्वस्त हुन सक्छ । तर, सन्तान भइसकेको छ भने समझदारी बढाएर मात्र अगाडि बढ्नुपर्ने हुँदो रहेछ । पारिवारीक जिम्मेवारी केटाकेटीको खेल होइन । सानो असावधानिका कारण ठूलो दुर्घटना हुन सक्छ । यसको असर केवल लोग्ने स्वास्नीमा मात्र पर्ने भएको भए त ठिकै थियो तर सर्वांगिण समाज र देशमै असर पर्ने भएको हुँदा यस्ता कुराप्रति सरोकारवालाहरु पनि जाग्नु जरुरी देखिन्छ । 

ताजा खबर