महामारीवीच खुशीको खबरः सफल हुँदैछ कोभिड–१९ विरुद्धको औषधि  

२०७७ जेठ १५ बिहीबार ०९:२९:०० मा प्रकाशित

काठमाडौं । कोभिड–१९ को कारण विश्व नै अहिले त्रासमा छ । सम्पूर्ण आर्थिक–सामाजिक गतिविधिलाई असर पारेको यो महामारीका कारण पछिल्लो तीन महिनाको अवस्था असामान्य छ । यही संक्रमणका कारण विश्वमा करिब ५६ लाख ग्रसित छन् भने ३ लाख ५० हजार जनाको मृत्यु समेत भइसकेको छ ।

विश्लेषकहरु यो भाइरस विरुद्धको खोप नबनेसम्म यो रोगको प्रकोप रहीरहने बताइरहेका छन् । अहिले संक्रमणको पहिलो तरंग मात्र देखिएको र दोस्रो तथा तेस्रो तरंग समेत आउन सक्ने आँकलन भइरहेको छ । यही कारण आममानिसको मनबाट कोरोना भाइरस महामारीको त्रास घट्न सकेको छैन ।

तर, अहिले कोभिड–१९ को संक्रमण विरुद्ध लड्नका लागि एक औषधि प्रभावकारी देखिएको छ । अहिलेको तनावपूर्ण अवस्थामा औषधि प्रभावकारी देखिनुलाई सुखद खबर मानिएको छ ।

अमेरिकी कम्पनी गिलियड साइन्सेजले गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि रेमदेसिभिर नामक औषधि उपयुक्त हुने दाबी गरेको छ । सुरुमा रेमदेसिभिर औषधि हेपाटाइटिस ‘सी’ संक्रमणको उपचारका लागि विकास गरिएको थियो । पछि यो औषधि सार्स र मर्सको संक्रमण विरुद्ध पनि प्रयोग गरियो । ती संक्रमणमा यो औषधि केही हदसम्म सफल पनि भयो । तर, इबोला र मारबर्ग भाइरसको संक्रमणमा यो औषधि भने प्रभावहीन भएको थियो ।

यो औषधिलाई अमेरिका र जापानले प्रयोगमा ल्याइसकेका छन् । कोरोना संक्रमितका उपचारमा यो प्रभावकारी समेत देखिएको छ । यो औषधिले संक्रमितको रोग प्रतिरोधी क्षमता उल्लेख्य रुपमा बढाउने बताइएको छ ।

हालै बेलायतले पनि यो औषधि प्रयोगमा ल्याएको छ । यसको प्रयोग बेलायतको नेसनल हेल्थ सर्भिसका बिरामीमा गरिएको थियो । यो औषधिको प्रयोगलाई बेलायती स्वास्थ्य अधिकारीहरुले महामारी सुरु भएपछिको सबैभन्दा ठूलो सफलता भनेका छन् । बेलायती स्वास्थ्य अधिकारी म्याट हेनककका अनुसार रेमदेसिभिर औषधिको प्रयोगपछि बिरामीहरु छिटो नै संक्रमणबाट ठीक भएका छन् । यसअघि कोरोना संक्रमितलाई भाइरसबाट मुक्त हुन १५ दिन लाग्ने गरेकोमा यो औषधिको प्रयोगले ती बिरामी ११ दिनमै ठिक भएका छन् । 

गिलियड साइन्सेजले रेमदेसिभिर औषधि बेलायतलाई सित्तैमा उपलब्ध गराएको छ । अहिले परीक्षणकालमै भएकाले बेलायती स्वास्थ्य अधिकारीले पनि आपतकालीन अवस्थामा मात्र यो औषधिको प्रयोग गरिरहेको बताएका छन् ।

अमेरिका, जापान, बेलायतसँगै अहिले यो औषधि विश्वका अन्य देशमा समेत परीक्षण भइरहेको छ । तर, यसअघि चीनमा गरिएको परीक्षण भने सफल हुन सकेन । चीनमा यो औषधिको प्रयोग गरिँदा बिरामीमा उल्लेख्य सुधार नदेखिएको भन्दै यसको प्रयोग बन्द गरिएको थियो । तर, विज्ञहरु भने चीनमा यसको पर्याप्त परीक्षण नभएकाले यो सफल नदेखिएको बताइरहेका छन् ।

बेलायतले यो औषधिबारे थप अध्ययन गर्ने जनाएको छ । यो औषधि कोभिड–१९ को संक्रमण पुष्टि भएका वयश्क र गम्भीर लक्षण भएकालाई मात्र प्रयोग गरिने बताइएको छ ।

औषधिबारे यसअघि भएको अध्ययन अनुसार अक्सिजन लगाउनुपर्ने अवस्थाका बिरामीको उपचारमा रेमदेसिभिर बढी प्रभावकारी देखिएको छ । तर, संक्रमण भए पनि सिकिस्त नभएकामा भने यो औषधिको कुनै प्रभाव देखिएको छैन । सोहीकारण संक्रमणका कारण जीवन संकट परेकामा मात्र यो औषधि प्रयोग गरिएको छ । यो औषधिको प्रयोगले कोभिड–१९ को संक्रमणबाट हुने मृत्युदर भने कम गर्न सकिने बताइन्छ ।

निर्धक्कसँग यो औषधिको प्रयोग नगरिनुको कारण भने यसको सम्भावित साइड इफेक्ट रहेको बताइएको छ । यो औषधिको प्रयोगले कलेजो सुन्निने, रक्तचापको कमी र चिट्चिट् पसिना आउने लगायतका साइड इफेक्ट देखिएको छ ।

यसअघि कोभिड–१९ को संक्रमणको उपचारको लागि मलेरिया र एचआईभीका बिरामीलाई दिइने औषधि समेत परीक्षण गरिएको थियो । मलेरियाको औषधि हाइड्रोक्सीक्लोरिकीनलाई अमेरिकाले प्राथमिकता साथ परीक्षण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हाइड्रोक्सीक्लोरिकीनलाई प्रभावकारी भनेका थिए । तर, यसको प्रयोग घातक हुनसक्ने डरका कारण यसको परीक्षण रोकिएको छ ।

एक मेडिकल अध्ययनका क्रममा यो औषधिको प्रयोग गर्दा प्रतिकुल असर परेमा मृत्यु नै हुने सम्भावना रहेको देखिएको थियो । यस्तै मुटु सम्बन्धी जटिलता ल्याउन सक्ने भएको समेत पत्ता लागेको थियो । विश्व स्वास्थ्य संगठनले यो औषधिको प्रयोगलाई अस्थायी रुपमा निलम्बन गरेको छ ।

बंगलादेशको यस्तो सफलता

विश्वमा अहिले दर्जन भन्दा बढी शक्ति राष्ट्र कोभिड–१९ विरुद्धको औषधि र खोप पत्ता लगाउन अध्ययनरत छ ।

यही बीच बंगलादेशले भने यसमा ठूलो सफलता पाएको छ । बंगलादेशको जातिगत औषधि उत्पादक कम्पनी बेक्जिम्कोले कोभिड–१९ विरुद्धको पहिलो जातिगत औषधि निर्माण गरेको छ ।

अमेरिकी कम्पनी जिलियड साइन्सेजले बनाएको औषधि रेमदेसिभिरको जातिगत औषधि बंगलादेशमा बनाइएको हो । यो एन्टीभाइरल औषधिको निर्माण कोभिड–१९ कै लागि गरिएको हो ।

यसलाई बेमसिभिर नाम दिइएको छ । बंगलादेशको औषधीय प्रशासन महानिर्देशनालयले यो औषधि आपतकालीन प्रयोगका लागि स्वीकृत गरेको छ । योसँग औषधिको व्यापक उत्पादन सुरु गरिएको हो ।

यो औषधिको प्रयोग अस्पतालमा भर्ना भएका बिरामीहरुमा गर्न सकिने बताइएको छ । सुरुवाती चरणमा यो औषधि अल्पविकसित र विकासशील देशहरुमा गरिनेछ ।

बेक्जिम्को फर्माले बेमसिभिर औषधि बंगलादेश सरकारलाई निःशुल्क दिने जनाएको छ । बंगलादेशका सरकारी अस्पतालमा निःशुल्क प्रयोग गर्न पाइने गरी यो औषधि दिन लागिएको हो ।

बेक्जिम्कोले कोभिड–१९ को प्रकोप देखिएसँगै अनुसन्धान र विकासमा आफ्नो स्रोत र शक्ति खर्चिएको थियो । संक्रमितको उपचारका लागि सो कम्पनीले भाइराफ्लू नामक एन्टीभाइरल औषधि समेत बजारमा ल्याइसकेको छ । यो औषधि कोभिड–१९ का सम्भावित बिरामीमा हुने गरेको छ । (एजेन्सीहरुको सहयोगमा)


 

ताजा खबर