अब सोच्ने किः लकडाउनले जीवन नै लक त हुँदैन ?

२०७७ जेठ १४ बुधबार १२:१४:०० मा प्रकाशित

संस्कृतमा एउटा भनाइ छ ‘वीर भोग्या वसुन्धरा’ अर्थात जो समर्थ छ उसैले यो पृथ्वीको भोग गर्छ । यो भनाइ पृथ्वीको शासन गर्ने सन्दर्भमा भनिएको  हो । जसले यो विश्वलाई जित्न सक्छ उसैले पृथ्वीको चक्रवर्ती सम्राट बनेर शासन गर्छ भन्ने यो उक्तिको आशय हो । यो उक्तिलाई यता कोरोनासँग पनि जोडेर हेर्न उपयुक्त हुने देखेर यहाँ उल्लेख गरिएको हो । विज्ञानको कुरा पनि यहाँ जोड्न उपयुक्त देखिन्छ । ‘सर्भाइवल अफ द फिटेष्ट’ अर्थात् जो योग्य छ उही नै बाँच्छ । अब यस तथ्यलाई हामीले स्वीकार गर्नैपर्छ । सबै बाँच्नुपर्छ भन्ने कुरा सर्वस्वीकार्य हो । बचाउने नै हो भने यो लकडाउनको स्वरूप अब परिवर्तन गर्नैपर्छ ।

अब सँधै ‘लकडाउन’ गरेर मान्छेको गुजारा चल्दैन । कोरोना भाइरसबाट केही हदसम्म जोगिए पनि अब बिस्तारै अनिकालको महामारी सुरु हुन सक्छ । अनिकाल मात्र होइन अनिकालका कारण कुपोषणजन्य अरु बिभिन्न रोगहरू पनि पैदा हुन सक्छन् । हाम्रो स्वास्थ्यको मुख्य श्रोत नै खाद्य पोषण हो । खाद्य पदार्थ शुद्ध पर्याप्त र विविध खनिजपूर्ण भयो भने हाम्रो शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व आपूर्ति हुन्छ । तर हामी घरैमा थुनिएर बसी रहयौं भने न त शारीरिक चलपहलबाट प्राप्त हुने स्वास्थ्यको जगेर्ना हुन्छ, न त मानसिक अभ्यासबाट बिचार एवं सिर्जनशीलता नै पैदा हुन्छ । यति मात्र नभएर विस्तारै सामाजिक जीवनमा पनि नकारात्मक असर पर्न थाल्छ । शारीरिक श्रम बिना शरीरमा पसीना निस्कासन हुन सक्दैन, पाचन प्रणालीमा सकृयता घट्दै जान्छ, कर्मजन्य बिचार श्रृंखलाहरू मेटिदै जान्छन् । अनि शरीर एवं दिमागमा टक्सिन एवं अम्लीय पदार्थहरू बारिँदै जान्छन् । त्यस्ता टक्सिन तथा अम्लीय पदार्थले बिस्तारै शरीरका कोषाणुहरूलाई क्षय गराउँदै जान्छ । दिमागीय कृयाशीलता घटेपछि, दिमाग नै मन्द हुँदै जान्छ । धातुमा खिया लागेजस्तो हुन्छ ।

अनेकौं अभावका कारण मानिसमा मानसिक तनाव बढ्न थाल्छ । शारीरिक र मानसिक रोगीहरूको संख्या ह्वात्तै बढ्छ । गरीखानेहरूको संख्या घट्छ र आश्रितहरूको संख्या बढ्न थाल्छ । आश्रितहरूको ठूलो जमातलाई स्वस्थ जनशक्तिले धान्न नसक्ने अवस्था पैदा हुन्छ र स्वस्थ जनशक्तिलाई पनि थप दवाव अनि तनाव सिर्जना हुन्छ । यसले समग्र मानव सभ्यताको सन्तुलनलाई खल्बल्याउँन थाल्छ । यो एउटा गंभीर प्रकारको दुश्चक्र आइलाग्छ जसलाई तोड्न धेरै कठिन हुनसक्छ ।

जसरी अर्थशास्त्रको एउटा सिद्धान्त ‘भिसियस सर्कल अफ पोभर्टी’ अर्थात् गरीबीको दुश्चक्रले आर्थिक उन्नतिमा जहिले पनि बाधा पुर्याउँछ, त्यही दुष्चक्रमा हामी पर्छौं । पहिलेदेखि नै यसै पनि यो दुश्चक्रबाट हामी ग्रस्त छँदैछौं ।  विकास  अथवा आर्थिक रूपमा सम्पन्न हुन नसक्नुमा कम उत्पादन हो, कम उत्पादनका कारण कम आम्दानी हुन्छ, कम आम्दानीको कारण पूँजी बचत हुँदैन, पूँजी नभएपछि लगानी हुन सक्दैन र लगानी बिना आम्दानी हुँदैन, फेरि पनि त्यही गरिबी नै हात लाग्छ । यो दुश्चक्रको प्रभाव समाजमा यस्तै चक्रीय ढंगले नै पर्छ ।  जब गरिबी हुन्छ बस्ने खाने नै समस्या हुन्छ, यसले तनाव सिर्जना गर्छ अनि तनावका कारण स्वास्थ्य कमजोर हुन्छ, अपराध पनि बढ्छ, यसको प्रभावले गर्दा शिक्षामा असर गर्छ अर्थात्  गरिबीमा अशिक्षा पनि थपिन्छ । अशिक्षित जनशक्तिले रोजगारीको अवसर पाउँदैन, अनि अन्तिम परिणाम उही गरिबी नै हुन्छ । तसर्थ यो कोरोनाको नाममा यसरी शासन गर्न सजिलो भएको छ भनेर सञ्चो मानेर बस्ने हो भने ब्वाँसोले कन्याइदियो भनेर सञ्चो मानेर बस्दा आन्द्रा भुँडी खाइसकेको अवस्था न आउला भन्न सकिन्न । एक, दुई जनाको सत्ता भोग गर्ने तीब्र तृष्णाको कारण जनयुद्धको नाममा हजारौं सबल युवाहरूको त बलि चढाउने काम भयो, सारा नेपालीले त्यस्तो त सहेर अझ तिनै हत्यारालाई फूलको माला पहिर्याइदिए । यो त कालगतिको मृत्युलाई हामीले सर्वनाश होला भनेर सोच्नु बेकार हो । वर्तमान सरकारले यस्तो सोचेर लकडाउन गरेको हो भने पनि बगरेले काट्न ठीक पारेको पशुलाई माया गरे जस्तै हो ।

आत्महत्या बढ्न थाल्छ । यो क्रम त सुरु भैसक्यो । मंगलबार नै पनि बौद्ध आरुबारी निवासी एकजना शिक्षकले आत्महत्या गरेका छन् । काठमाडौं भित्रै एकजना श्रमिकको लाश बेवारिसे अवस्थामा सडकमै भेटियो । यस्तो गम्भीर अवस्था भैरहेको छ । प्रधानमन्त्री अर्ति, उपदेश अनि जोक भनेर नै सत्ता विलासको निकृष्ट आनन्द लिइरहेका छन् । नेपालमा गरिएको लकडाउनले लाभभन्दा हानी नै धेरै पुर्याइरहेको   छ । न त कोरोना बिरामीलाई उपचार भएको छ, न त उनीहरूलाई सुरक्षित क्वारेन्टाइनको ब्यवस्था भएको छ्, राणाकालमा कैदीलाई थुने जसरी केही सुविधा नभएको अँध्यारो कोठामा लगेर थुनिएको छ । प्रधानमन्त्रीको थोत्रो उपदेश बाहेक अरु केही राहत सुबिधा कसैले पाएका छैनन् ।

तसर्थ अब जीवनशैली परिवर्तन गर्नुपर्छ । शाशकीय स्वरूप फेर्नुपर्छ । शिक्षा नीतिमा परिवर्तन आवश्यक छ । समग्र आर्थिक नीतिमा पुनर्विचार गर्नुपर्छ । मानवीय सम्बन्धलाई समेत पुनर्बिचार गर्नुपर्छ । यो कोरोना भाइरस मात्र नहुन सक्छ, युग परिवर्तनको सुनौलो बिहानी हुन पनि सक्छ । युगलाई पुनजीर्बित गर्न उपयुक्त मुर्हुत हुन पनि सक्छ । यस्तो बेलामा सावधानी त सबैभन्दा बढी महत्वपूर्ण विषय हुन्छ नै यसका साथै ठप्प भै रोकिएर होइन नयाँ बाटो खोजेर जीवनलाई गति दिनै पर्छ । जीवन पानी जस्तै तरल हुन्छ । धेरै थुनिएर बस्यो भने बारिएको पानीले जस्तै जीवनले पनि भयावह रुप लिन सक्छ ।

सबल प्रतिरोध क्षमता भएकाहरुलाई कर्म क्षेत्रको अग्र मोर्चामा राख्नुपर्छ । केही मानिसको मृत्यु हुन सक्छ । मृत्यु त स्वभाविक हो, कोरोना भाइरसको प्रकोप सुरु नहुँदा पनि मान्छेको मृत्यु भइनै रहेको थियोे । मृत्युलाई तगारो लगाएर या ढोका थुनेर रोकिँदैन । यदि खोलालाई एकापट्टी बलियो बाँध बनाएर छोडियो भने बाँध नबनाएको दिशा पट्टि खोलो मडारिन थाल्छ र विनास गर्छ । तसर्थ खोलालाई धेरै बाँध बाधेर सीमित गराउँछु भनेर पनि हुँदैन । अब शरीरमा कुनै न कुनै दीर्घ रोग भएका बाहेक अरु मानिसहरु कर्म क्षेत्रमा फर्कनुपर्छ, तर जीवनशैली, कार्यशैली, खानपानको संस्कार, सामाजिक सम्बन्धको तरिका, धार्मिक आस्था प्रतिको अभ्यास एवं मनोरञ्जनका पद्धतिलाई समयानुकूल रुपान्तरण गर्नुपर्छ ।

हामी मृत्यु त सुनिश्चित गरेर जन्मिएका छौं । कहिले मर्ने भन्ने पनि थाहा छैन । कति भ्रण अवस्थामै समाप्त हुन्छन्, कति जन्मिन नपाई कोखमा नै सिद्धिन्छन् । कति जन्मिने बित्तिकै मर्छन् । यति उमेर चाहीँ मृत्युको उमेर हो भन्ने स्पष्ट उमेर  हद छैन । यदि अल्पायुमै मृत्युबाट बाँचियो भने पनि बार्धक्य उमेरमा त मर्नै पर्छ । तसर्थ  अब जो बाच्न सक्छ बाँच्छ जो कोरोनासँग अथवा मृत्युसँग लड्न सक्दैन उसले जीवनसँग सम्झौता गर्छ । आखिर हाम्रो जन्म नै मृत्युमा लीन हुन भएको हो । यस अघि पनि त यही भइरहेको हो नि । यसरी कोरोनासँग भागेर घरभित्रै  लुकिरहने  हो भने भुइँमा खसेको टिप्न खोज्दा पोल्टाको नै पोखिने डर झन् बढी हुन्छ । जति लकडाउन गरेपनि इटालीले जनता जोगाउन सकेन, लकडाउन नगरेपनि अमेरिकाले बिस्तारै कोरोनाको उत्कर्ष कहरबाट विस्तारै बाहिर निस्किँदैछ । नेपालमा पनि यो समस्या लामो समयसम्म रहने अवस्था आउन पनि सक्छ ।

शरीरमा आत्मबल बढाउँदै प्रतिरोध क्षमता र आत्मनिर्भर बनाउनु आवश्यक छ । बाहिरी औषधि एवं अस्पताल सेवा कम भन्दा कम प्रयोग गर्नुपर्ने गरी हामीले शारीरिक  सामथ्र्य बढाउनु पर्छ । त्यस्तै राज्यले पनि आन्तरिक सामथ्र्य बढाउनु पर्छ ।  ग्रार्हस्थ उत्पादनमा ध्यान दिनुपर्छ । अरु देशसँगको निर्भरताबाट छुटकारा लिनुपर्छ । व्यक्तिगत एवं  शारीरिक सबलता र राष्ट्रिय आत्मनिर्भरताको अभियान बोकेर बाहिर निस्कियांै भने कोरोना मात्र हैन यस प्रकारका कुनै पनि विपत्तिलाई जित्नसक्ने सामथ्र्य हामी राख्न सक्छौं । बाहिरी निर्भरता अन्त्य नगरेसम्म हाम्रो जस्तो निर्भरतामुखी अर्थव्यवस्थाले संकटसँग लड्न सक्दैन ।

हामी बाँच्ने लोभले मृत्युसँग भागीरहेका छौं, तर अर्को तर्फबाट मानवताको हत्या गरिरहेका छौं । बिरामीलाई एम्बुलेन्सले बोक्दैन, डाक्टरले बिरामीको उपचार गर्न हिच्किचाउँछन्, आफन्त आफ्नै बिरामी मान्छेलाई एक्लै छोडेर आँफू जोगिनतिर मात्र लाग्छन् । मृत्यु हुँदा समेत दाह संस्कार वा मृत्यु संस्कार गरिँदैन । मान्छेले मान्छेलाई नै घृणा गर्न थालेको छ । जीवन नै जड बन्दै गएको छ । युगौंयुगदेखि पूर्खाहरूको कति ठूलो त्याग र बलिदानबाट बन्दै आएको मानव सभ्यता हठात् समाप्त हुने डर बढेको छ । कोरोना भाइरसलाई दोष दिँदै छौं, तर कोरोना होइन हाम्रो कायरता र जडताले सभ्यता धरापमा छ । मानव जातिको पहिचान नै समाप्त भएको छ । दया, माया करुणा, विवेक, परोपकार जस्ता संवेदनाले नै मानिसलाई अरु प्राणि भन्दा फरक बनाएको हो, तर अहिले हाम्रो त्यो पहिचान गुम्दैछ । पूर्खाले यस्ता चुनौती त कति भोगे कति तर उनीहरूले आफ्नो मानवीय चेतना एवं संवेदनालाई यसरी ‘गिभ अप’ गरेनन् ।

कोरोना भाइरसबाट मर्नेहरूको संख्या नगण्य छ । नेपालको सन्दर्भमा हेर्ने हो भने कोरोना संक्रमित भन्नासाथ पर्गेलेर आधारभूत उपचार पनि नपाउँदा समेत धमाधम कोरोना बिरामीहरू निको भएर घर फर्किएका छन् । विश्वभरीको अवस्था हेर्दा पनि अधिकांश रूपमा जो मान्छे पहिले नै दीर्घरोग एवं बार्धक्य अवस्थाका कारण अधमरो भै बाँचिरहेका मानिसहरू छन्, उनीहरूकै मृत्यु भइरहेको छ । उनीहरू मरेपनि मरुन् भन्ने भाव कदापि होइन तर पनि जसरी कोरोना भाइरसलाई एक भयानक आतंक बनाइएको छ त्यस्तो चाहिँ होइन भन्न मात्र खोजिएको हो । अहिले जुन किसिमले मानव गतिविधिलाई ठप्प पारेर घर घरमा मानिस थुनिएका छन्, यो देख्दा यस्तो लाग्छ यो कोरोनाबाट जोगिएपछि मानिसले अमरत्व प्राप्त गर्छ । यथार्थमा यो कायरताको पराकाष्ठा हो । नेपालको सन्दर्भ भन्ने हो भने त झन् लक डाउनको आवश्यकता नै छैन । सबै काम उल्टो भइरहेको छ । भारतको बोर्डरमा रहेका नेपालीलाई उसैबेला तुरुन्त सावधानीपूर्वक ल्याएको भए उनीहरू अहिले जति धेरै संक्रमित भएर नेपाल आउदैन थिए । अब ल्याउँदैछ, तर उनीहरू भारतमा धेरै संक्रमित भइसकेका हुन सक्छन् । 

 

ताजा खबर