कालापानीमा यसरी घुसेका थिए भारतीय सेना

२०७७ जेठ १२ सोमबार २१:१०:०० मा प्रकाशित

काठमाडौं । नेपाल र भारतबीच सीमा विवाद यतिबेला चर्किएको छ । भारतले नेपाली भूमिमा सडक बनाउँदै कैलाश मानसरोवर जाने मार्ग खोलेसँगै दुई देशवीच विवाद सुरु भएको हो ।

आफ्नो भूमि मिचिएपछि नेपालले भारतलाई वार्ताको लागि आव्हान गरेको थियो । तर, भारतले नेपालको आव्हानलाई बेवास्ता ग¥यो । यसको प्रतिक्रिया स्वरुप नेपालले आफ्नो सबै भूमि समेट्दै नयाँ नक्सा जारी ग¥यो । सो नक्सालाई भारतले अस्वीकार गर्ने बताएसँगै सीमा विवाद सुरु भएको हो ।

सुस्ता र पूर्व नेपालका क्षेत्रमा पनि नेपाल–भारत सीमा विवाद छन् । तर, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको कारण विवाद भएको हो । यो विवादको मूलकारण भने कालापानीमा भारतीय सेना रहनु हो ।

कालापानीमा भारतीय सेना सन् १९६२ देखि बस्दै आएकाले सो क्षेत्र भारतीय भूमि हो कि भन्ने भ्रम आम भारतीयमा रहेको पाइन्छ ।

तर, कालापानीको वास्तविकता भने अर्कै छ । वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले इमेज टेलिभिजनसँगको अन्तर्वार्तामा कालापानीमा भारतीय सेना आउनुको भित्री रहस्य खोलेका छन् । उनका अनुसार सन् १९६२ मा भारत–चीन युद्धको समयमा  भारतीय सेना कालापानी आएको हो । चीनको अक्साईचिन क्षेत्रको सीमा विवादका कारण भएको सो युद्धमा चिनियाँ पक्षले भारतीय सेनालाई हराएको थियो । हारपछि भारतीय सेना आसामबाट भागेका थिए ।

चीनले त्यतिबेला पूरा आसाम कब्जा गर्ने स्थिति थियो, तर त्यसो भने गरेनन् । भारतीय सेना भागेसँगै चीनले युद्ध रोक्यो । त्यो पराजयले भारतलाई रक्षात्मक बन्न पाठ सिकायो । चिनियाँसँग डराएको भारतले कालापानी क्षेत्रमा बढी खतरा देख्यो । चिनियाँ सेनालाई कालापानी क्षेत्रबाट भारतको केन्द्रसम्म पुग्न नजिक हुने भएकाले पनि भारतले बढी खतरा देख्यो ।

सो सीमा सुरक्षा गर्नका लागि भारतीय सेना त्यस क्षेत्रमा खटाइयो । पहाडी भूभागको बाहुल्य रहेको त्यसक्षेत्रमा बस्नका लागि भारतीय सेनाले कालापानी क्षेत्रको समथर मैदान उपयुक्त हुने निक्र्यौैल गरे । तर, सो जमिन नेपालको भूभाग रहेको तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले थाहा पाए । 

सो जग्गामा भारतीय सेनालाई बस्न स्वीकृती माग्दै नेहरुले व्यक्तिगत रुपमा नेपालका तत्कालीन राजा महेन्द्र वीर बिक्रम शाहलाई चिठी लेखेको थापा बताउँछन् । उनले पछि फर्किने शर्तमा सो जग्गामा भारतीय फौजलाई बस्न दिनका लागि स्वीकृती मागेका थिए । मित्रवत अनुरोध अस्वीकार गर्न राजा महेन्द्रलाई असहज भयो । उनले मन्त्रीहरुसँगको परामर्शमा भारतलाई सो जग्गा दिएको पूर्व गृहमन्त्री समेत रहेका थापाले बताएका छन् । नेपालका तर्फबाट तत्कालीन राजदूत यदुनाथ खनालले यो विषयमा सम्झौता पत्रमा हस्ताक्षर नै गरेका छन् ।

भारतको हेपाहा प्रवृत्ति

कुनै समय स्वीकृती मागेर बसेको सो जमिन भारतले छोड्न चाहेको छैन । यसअघि नेपालले भारतलाई धेरैपटक सो क्षेत्र छोड्न आग्रह गरेको बताउँछन् राजनीतिज्ञ थापा । तर, भारतले अटेर गर्दैै आएको उनको भनाइ छ । यसलाई उनले भारतको हेपाहा प्रवृत्ति भनेका छन् । 

केही महिना अघि नयाँ राजनीतिक नक्सा जारी गर्दै भारतले नेपालको कालापानी लगायतको क्षेत्रलाई भारतीय भूमिको रुपमा देखायो । यसको नेपालमा तीव्र विरोध समेत भएको थियो । नेपालले यसमा आपत्ति जनायो र यो विषयमा वार्ता गर्नका लागि पहल ग¥यो । भारतले भने यो विषय टार्दै आएको थियो ।

भारतलाई स्वीकृती नदिएको भए...

पछिल्लो समय कालापानी क्षेत्रमा भारतीय सेना राख्न स्वीकृती दिएका कारण अहिलेको विवाद आएको भन्ने गरिएको छ । तर, राजनीतिज्ञ थापा भने त्यसबेला भारतको सो अनुरोध अस्वीकृत गर्न सकिने अवस्था नभएको बताउँछन् । भारतको अनुरोध अस्वीकार गर्दा खराब स्थिति आउन सक्ने सम्भावना रहेको उनको आशय थियो ।  (इमेज च्यानलमा प्रशारित अन्तर्वार्ताको केही अंश साभार गरिएको छ, तस्बिर समेत)
 

ताजा खबर